रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै

रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै

श्याम ख़नाल
कोलोराडो, अमेरिका

छ विश्वको भरै महा सुरम्य–रम्य दृश्यचैं।
भएर सृष्टिका कला अमेल–मेलका सबै॥
नदी र ताल छन् कतै–कतै चटान बज्रकै।
रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै॥१॥

कडा तिखा–तिखा त्रिशृंखला हिमालका कतै।
कुनै जग्गा छ पत्थरै जडेर रत्नले सबै॥
शिला–शिला भरी कतै जडी मुगा र माणिकै।
रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै॥२॥

हजार वर्ष क्यै अघि फुटी छ भूमि बज्र झैं।
उठेर अग्निका शिखा चुचो बनेछ पर्वतै॥
भएर त्यसले बने छ देश बेस सन्दुकै।
रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै॥३॥

हिउँदमा हिमैगिरी बजार बस्ती पूर्ने।
तुरुन्त घामका कडा प्रतापले पगाल्ने॥
न सक्छ प्राविधिक सुयन्त्रले त बुझ्न दीर्घनै।
रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै॥४॥

घडी, पला प्रतिक्षणै कि घण्ट–घण्टमा सधैं।
बदल्छ मौसमै प्रभाव रात, दिन र साँझमै॥
कतै–कतै छ तप्तकुण्ड गर्छ रोग नाशनै।
रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै॥५॥

कतै छ इन्द्रकैपुरी समान मोह पार्ने।
कतै कुबेर लोककै बराबरी छ दाँजिने॥
तलाउ टाकुरा हुँदैछ फूल धेर रङ्गकै।
रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै॥६॥

छ ठीक्क रम्न चैतदेखि भाद्रमास सम्मचैं।
छ हेर्ने मात्र भै कतै–कतै त तीर्थकै॥
प्रभाव मिल्छ चित्तमा छनीश्वरै यहाँ कतै।
रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै॥७॥

कलर् रेड भन्दथे त रक्त–रङ्ग ठाउँ भै।
यसै हुँदै–तिखारिँदै–सिँघारिँदै–सुधारिँदै॥
बनेछ नाम राज्यको र शब्द निम्न मिल्न गै।
रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै॥८॥

कलर् रेड बदलिँदै बनेछ नाम हालकै।
कमा, लमा दिनू र ओ मिलाउ वर्णमा क्रमै॥
रमा छ ‘आ’, डमा छ ‘ओ’ र प्रान्त नाम बन्छ है!
रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै॥९॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *