संध्याकालीन संवाद

भानु ढुङ्गाना
विन्सोर, क्यानाडा

 

उनी

गयो रात पर्दै, तयारी छ खानु,
रूचेको छ जत्ति, बियाँलो नगर्नु ।
नलेखी नसक्ने भए, भोक खानु,
मलाई नसोधी शयन–कक्ष जानु ।

नखाऊँ बरु, लेख्न छोडूँ म कहाँ ?
यति कर्म सोची, लिएँ लक्ष्य यहाँ ।
क्षमा आज सानो तिमीबाट पाऊँ,
यो काव्य तकिया दुबैले लगाऊँ ।

कलमको छ खेती, अरू केही छैन,
तिमी नै दिलकी, अरू साथ छैन ।
नयाँ काव्य एउटा छु लेखी रहेको,
कला, ज्ञान, शिक्षा अमृत सरिको ।

बिना सिर्जनाले म हल्टु हुने हो,
बसेँ साधनामा, अबेला हुने भो ।
यहाँ केही श्लोक काव्य म लेख्दै,
बसी भित्र कोठा, कहाँ के छु देख्दै ।

म भोकै बसौँला, बरु लेख्न देऊ,
छ काव्य सधैंको, अरू भर्न देऊ ।
भुली प्यास–भोक, रचौँला छ केही,
लिएको छु लक्ष्य, दीगो दृष्टि यही ।

नयाँ काव्य पाना बनाऊ म छानो,
अघिदेखि खाइ लिएकै हो मानो ।
नरोक मलाई, उद्देश्य समाऊँ,
यति पूर्ण साथ, मिठो गाँस खाऊँ ।

सबैको चटारो सधैं पेट भर्ने,
नजिकै छ होला भविष्य नसर्ने ।
यही हो मलाई कमाइ छ भाषा,
गुलामी नराखी, यसैमा छ आशा ।

यो मेरो सवाल बुझिदेऊ मलाई,
नरोक पियारी, तगारो लगाई ।
चितामाथि राखी मलाई बिदाई,
गरे हुन्छ काव्य, म जान्छु निधाई ।

मरूँला कसरी नलेखी मलाई ?
लिएँ काव्य–प्राण, सुधा–भावलाई ।
सबै यो सहुँला, भए भोक–प्यास,
मलाई बढिया, यसैमा छ खास ।

उनी

कति हत्तेहाली मरिमेट्नु पर्ने,
पर्खी बसौँ के सधैं अबेर गर्ने ?
यदि भोक छैन भने भन्नु फेरि,
भयो रात–बास, बसौँ मुख हेरी ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *