सिकारी, मुसी, काले र तारी
विद्यापति मिश्र
नेपालमा चुनावी माहौल तातेको थियो । नेपालबाहिर रहेका लाखौँ नेपालीलाई मात्र हैन, नेपाललाई मनैबाट माया गर्ने मजस्ता धेरै मानिसहरूमा आसन्न निर्वाचनप्रति चासो बढेको थियो ।
माघ १० गते रात्रिको समय थियो। बिछ्यौनामा जानुअघि म पनि आफ्नो मोबाइलमा अनलाइन खबर स्क्रोल गर्न थालेँ। मेरा आँखा त्यहाँ प्रकाशित चिरञ्जीवी मास्केको ‘उसको समाधिस्थलमा बत्ती बालिदिनू’ शीर्षकको अनुभूतितिर गए। त्यसलाई पुरै खोलेर बिस्तारै पढ्दै गएँ। मास्केको अनुभूति केही मिनेटमै पढेर सकियो। मेरो मन भारी भएर आयो। एउटा पशु र मान्छेबीचको सम्बन्धले कति गहिरो छाप छोड्न सकेको? आफैलाई अनेक प्रश्न गरेँ।
केही समय म एउटा सुनसान संसारमा पुगेँ। पूरै भावनाको संसारमा। बाल्यकाल बिताएको म भुटानको इन्द्रचोक पुगेँ। अनजानैमा श्रीमतीको नजर मतिर गएछ। मलाई पत्तै भएन। त्यो सन्नाटाप्रति मुनाले एक्कासि प्रश्न गरिन्, ‘किन चुप बस्नुभएको बुढो?’ हातमा भएको मोबाइल साइड लगाउँदै उनको प्रश्नको उत्तर दिएँ, ‘अब विश्राम लिने कि भनेर सोचेको बुढी।’ अनि बेड स्विच दबाएँ। देब्रेतिर फर्केर सुतेको आभास श्रीमतीलाई दिएँ। म अझै केही बेर आफ्नै संसारमा रुमलिन चाहन्थेँ। श्रीमती बाधक बनिनन्। मनमनै गुनगुनाउन थालेँ।
यदि मेरी आमा सामुन्ने हुनुभएको भए लेखक मास्केको टाइगरप्रतिको अनुभूति पढेर सुनाउने थिएँ। पेन्सिलभेनियामा बस्नुहुने आमा मेरो नजिक हुनुहुन्न। अरू कुनै बेला त्यो गर्नेछु। फेरि अहिले रातको १२ बज्न लाग्यो। आफैलाई सम्झाएँ।
भुटानमा छँदा मेरो घरमा दुई वटा कुकुर र एउटा बिरालो थिए। कुकुरको नाम सिकारी र काले थियो भने बिरालो मुसी। उनीहरूको झझल्को मेरो मानसपटलमा लगातार आइरहन्छ। सन् १९९१ को कुरा हो। भुटानी सेनाले हाम्रो गाउँमा छापा मार्यो। त्यस दिन दर्जनौँ पुरुषहरूलाई सामूहिक गिरफ्तार गर्यो। गिरफ्तारीमा मेरा पिताजी पनि पर्नुभयो।
दर्जनौँ बर्दीधारी सेना आँगनमा थिए। कति घरभित्र छिरेर खानतलासीमा भने दुई जनाले पिताजीलाई हतकडी लगाउँदै थिए। म र आमा मूकदर्शक भएर हेरिरहेका थियौँ । उनीहरूले हामीलाई केही गरेनन् । परिवारका अन्य सदस्यहरू सबै आ–आफ्नै काममा घरबाहिर थिए।
दिउँसोको १२ बजेछ। दर्जनौँ घारमा बसेका मौरी मध्यान्तरमा बाहिर निस्किए। कालो वस्त्र देख्न नसक्ने सबै मौरीहरू तानाशाही सेनामाथि खनिए। त्यो आक्रमणबाट उनीहरू जोगाउन हामीले अपनाउने कुनै उपाय थिएन। उनीहरू त्यहाँबाट हतारपतार बुबालाई लिएर हिँड्न खोजे। बुबालाई लगेको हेरेर बसेको सिकारी एक्कासि झम्टन लाग्यो। आमा र मैले उसलाई रोक्न खोज्यौँ। त्यो सम्भव भएन। सबैलाई भागाभाग बनायो। कतिले कुकुरलाई लात्तीले हान्न पनि खोजे। सिकारी अझ बढी झम्टन थाल्यो। कुनै हालतमा पछि हट्ला जस्तो गरेन। झन् झन् आक्रामक बन्दै गयो।
एक्कासि गोलीको आवाज आयो।
‘पापीहरूले मारे मेरो कुकुर,’ आमा चिच्याउनुभयो।
करेसाबारी छेउको निबारोको रूख नजिक सिकारी ढल्यो। पिताजीलाई हतकडी लगाएर सेनाको ब्यारेकतिर लगेको क्षणलाई बिर्सेर आमा र म सिकारीलाई सम्हाल्न भनेर ऊ ढलेको ठाउँमा गयौँ। देब्रे कानबाट गोली उसको टाउकोभित्र छिरेछ। आमाले मलाई लोटामा पानी ल्याउन लगाउनुभयो। हतार–हतार म घरतिर दगुरेँ। म आइपुग्दा सिकारीले आफ्नो अन्तिम सास फेरिसकेछ। रुँदै रुँदै हामी सिकारीको मलामी बन्न बाध्य भयौँ। केही समयपछि ठूल्दाइले तोरीबारी नजिकै खाल्डो खनेर सिकारीको दाहसंस्कार गर्नुभयो। आमाले एउटा उसिनेको तरुल, उसको खाना खाने थाल र पानी पिउने बटुको पनि सिकारीसँगै गाड्न लगाउनुभयो। ठूल्दाइले खाल्डो पुरिसकेपछि सिकारीका लागि हामीले फूलगुच्छा चढायौँ। सिकारीको असामयिक निधनले हामीलाई मात्र निराश बनाएन। त्यसले मुसी र कालेमाथि विछोडको पीडाको पक्कै अनुभूति गरायो। प्रत्येक क्षण सँगै बिताउने मुसी, काले र सिकारीबीचको प्रेम कुनै चलचित्रमा देखिने अपार प्रेमभन्दा पटक्कै कम थिएन।
तीन महिनाको कठोर हिरासतपश्चात् पिताजी घर आउनुभयो। चरम यातना सहनुभन्दा देश छाड्ने विकल्प नै उत्तम ठानेर ‘भोलेन्टरी माइग्रेसन’ फारममा हस्ताक्षर गर्नुभएको कुरा थाहा भयो। त्यो फारममा कुन मितिभित्र देश छाडिसक्नुपर्ने मिति प्रस्ट लेखिएको थियो।
हाम्रा लागि १५ दिनको समय दिइएको थियो।
तेह्रौँ दिनको साँझदेखि मुसी र काले पनि एक्कासि घरबाट गायब भए। वरपर छरछिमेकी कसैले पनि देखेको कुरा गरेनन्। हामी हिँड्ने थाहा पाएर उनीहरू दुवैले घर छोडेको भन्ने अहिले पनि मेरी आमालाई लाग्छ। पर्सिपल्ट बाटो लाग्नु थियो। बाटोमा चाहिने आवश्यक सामग्रीहरू सबै तयार थिए। आँगनमा छरछिमेकीको घुइँचो थियो। कोही हामीसँगको यात्रामा सँगै थिए। कोहीको देश छाड्ने मिति आउन बाँकी नै थियो। केही त रमिता हेर्न वा हामी हिँडेपछि सित्तैमा पाइने सामग्रीका लागि उपस्थित भएका थिए।
निस्कने बेलामा घरका दुवै ढोका बन्द नगर्ने निधो भयो। पिताजीले गौहत्याको दोष लाग्न सक्छ भनेर बन्धनमा रहेका सबै गाईवस्तुको डोरी फुकाइदिन भन्नुभयो। ठूल्दाइले सबै बन्धन खोलिदिनुभयो। उता आमाले भने तारी गाईलाई जसरी पनि आफ्नो साथमा लाने अड्डी कस्नुभयो। भेला भएकाले त्यसो गर्न सम्भव नभएको कुरा आमालाई सुनाए।
‘बरु म जान्नँ तर तारी गाई कुनै हालतमा पनि छोड्दिनँ।’
केही उपाय नलागेपछि तारी गाईलाई पनि हामीसँगै लाने निधो गरियो। सडक र सवारी नभएको हाम्रो गाउँबाट भारतसँग जोडिएको काली खोला आइपुग्नलाई हामीलाई चार दिन लाग्यो। हामीसँगै तारी हिँडाएको देखेर पैदल यात्राको क्रममा धेरैले त्यसो नगर्ने सल्लाह पनि दिए। तर आमाले मान्नुभएन। काली खोलामा आइपुगेलगत्तै एक प्रकारको डाँठ भन्ने कीराका बथानले तारीमाथि आक्रमण सुरु गरे। कीरा धपाउन अनेक उपाय गर्दागर्दै डाँठले तारीका शरीर छेडेर भित्र पस्न थालिसकेका थिए। भोलिपल्ट बिहान तारी गाई थला पर्यो।
काली खोला बजारको एउटा ‘प्याजी’ भनिने भारतीय कैयाँले उपचार गर्ने सर्तमा आमाको तारी गाई त्यहाँबाट ट्याक्टरमा उठाएर लग्यो।
तारीलाई भारतमै छाडेर भोलिपल्ट हामी झापाको माई नदीको बगरमा आइपुग्यौँ।
