श्रीमद्भगवद्गीताको अध्ययन किन गर्ने ?

 

रूपनारायण पोखरेल
पिट्सवर्ग, अमेरिका

श्रीमद्भगवद्गीता कुनै साधारण ग्रन्थ वा पुस्तक मात्र होइन । यसलाई केवल एउटा किताबको रूपमा सीमित गरेर बुझ्न खोजियो भने गीता वास्तवमै के हो भन्ने कुरा हामीले कहिल्यै गहिराइमा बुझ्न सक्दैनौँ । गीता पढ्नु भनेको त्यहाँका शब्दहरू पढ्नु मात्र होइन । गीता बुझ्नु भनेको जीवनलाई बुझ्नु हो । गीता जान्नु भनेको आफूलाई जान्नु हो । त्यसैले गीता ज्ञान प्राप्त गर्न चाहने जिज्ञासुहरूले सबैभन्दा पहिले एउटा अत्यन्तै महत्त्वपूर्ण शब्दलाई स्पष्ट रूपमा बुझ्नुपर्छ, त्यो हो ‘धर्म’ ।
हामीले दैनिक जीवनमा ‘धर्म’ शब्द सुन्दा प्रायः त्यसलाई कुनै न कुनै अमुक समुदाय वा पहिचानसँग जोडेर बुझ्ने गरेका छौँ । हिन्दू धर्म, बौद्ध धर्म, ईसाई धर्म, इस्लाम धर्म जस्ता शब्दहरू हाम्रो कानमा सामान्य भइसकेका छन् । तर गहिरिएर हेर्दा यी सबै वास्तवमा धर्म होइनन् । यी त पन्थ हुन्, सम्प्रदाय हुन्, जीवन जिउने अलग अलग मार्गहरू हुन् । ती मार्गहरूको विशिष्ट अस्तित्वको औचित्य छ । तिनीहरूले मानिसलाई अनुशासन, आस्था र दिशा निर्देश गर्दछन् र सही अर्थमा धर्मको बाटो पहिचान गर्न सहायता गर्दछन् । तर धर्म भनेको ती सबैभन्दा माथि रहेको, सबैलाई समाहित गर्ने, कुनै सीमामा नबाँधिने सार्वभौम सत्य हो ।
धारणाद् धर्ममित्याहुर्धर्मेण विधृताः प्रजाः ।
यः स्याद् धारणसंयुक्तः स धर्म इति निश्चयः ।। (महाभारत, शान्ति पर्व १०९:१०)
अर्थात् : धारण गर्ने गुणकै कारण यसलाई ‘धर्म’ भनिन्छ । धर्मले नै प्रजालाई धारण गर्छ । जुन कुरामा धारण गर्ने सामर्थ्य छ, त्यही नै धर्म हो । यो निश्चित सत्य हो ।
हामीले दसकौंदेखि पुराण आदिमा गरिने प्रवचन वा कथा वाचन वा सत्सङ्गहरूमा प्रशस्त मात्रामा सुन्ने गरेका यी दुई प्रसङ्ग हुन् “आगोको धर्म पोल्नु हो । पानीको धर्म बग्नु र शीतलता दिनु हो । यदि आगोले पोल्न छोड्यो भने त्यो आगो रहँदैन । यदि पानी बग्न छोड्यो भने त्यो पानी रहँदैन ।” हाम्रा कानले त यी उद्धरणहरु सयौं पटक सुने । तर, हाम्रा कान, मन हुँदै यी भनाइको अर्थ बुद्धिमा पुग्न सक्यो कि सकेन त्यो ठूलो कुरा हो । आगो र पानीको जस्तै हामी मानिसका पनि गुण हुन्छन् र ती हुन करुणा, दया, प्रेम, सहानुभूति, इमानदारीता र समभाव । यी नै मानिसका मूल गुण हुन् । यही नै मानिसको सर्वोत्तम धर्म हो । हामीबाट यदि यी स्वभाव व्यक्त हुँदैनन् भने मैले धर्म भुलें भन्ने बुझ्नु पर्दछ । गीताले हामीलाई सिकाउने धर्मलाई ‘स्वधर्म’ पनि भनेर बुझ्ने गरिन्छ ।
जब एउटा राष्ट्र सेवकले आफ्नो सपथको मर्म अनुसार सेवा गर्छ, त्यो उसको धर्म हो । जब एउटा शल्य चिकित्सकले एकाग्र भएर बिरामी अङ्गको शल्यक्रिया गर्छ, त्यो उसको धर्म हो । गीताले हामीलाई पन्थमा अल्झिन होइन, आफ्नो स्वभाव र कर्तव्य पहिचान गर्न सिकाउँछ ।
हामीले धर्मलाई केवल पूजा, पाठ, व्रत, उपवास र कर्मकाण्डको साँघुरो घेराभित्र थुन्नु हुँदैन । धर्म भनेको जिम्मेवारी हो । धर्म भनेको नैतिकता हो । धर्म भनेको मानवता हो । हामी आफ्नो कर्तव्य इमानदारीपूर्वक निभाउँछौँ भने, हामी अरूप्रति दयालु छौँ भने, हामी सत्यको पक्षमा उभिन्छौँ भने, त्यही नै धर्मको पालन हो । धर्म कुनै बाहिरी पहिरन होइन, धर्म हाम्रो भित्री स्वभाव हो ।
यही गहिरो र व्यापक सत्यलाई सरल र जीवनसँग जोडेर बुझाउन तयार भएको ग्रन्थ हो श्रीमद्भगवद्गीता । गीता कुनै एक समयको कथा मात्र होइन । कुनै एक युद्धको प्रसङ्ग मात्र होइन । यो त हरेक युगमा, हरेक मानिसको मनभित्र चलिरहेको युद्धको कथा हो । महाभारत युद्ध त बहाना मात्र हो गीतामार्फत शाश्वत सत्यलाई प्रकटित गर्ने । तसर्थ गीतालाई महाभारतकै सन्दर्भसँग जोडेर भन्दा अलग्याएर पनि अध्ययन गर्न सक्नुपर्छ ।
श्रीमद्भगवद्गीतामा १८ अध्याय छन् । ती अध्यायहरूलाई तीनवटा षट्क (६-६ अध्यायको समूह) मा विभाजन गरिएको छ, जसले मानव विकासको पूर्ण यात्रालाई झल्काउँछन् ।
श्रीमद्भगवद्गीताको प्रथम अध्यायको प्रथम श्लोक ‘धर्’ बाट सुरु भएर अठारौं अध्यायको अन्तिम श्लोक ‘म’ मा गएर सकिन्छ । यसको अर्थ हो १:१ देखि १८:७८ भित्र जति कुरा निर्धारित गरिएका छन् तिनै शाश्वत धर्मका सूत्र हुन् ।
कर्म योग (अध्याय १-६): कर्म कसरी गर्ने?
यो खण्डले ‘म’ (कर्ता) र मेरो कर्मको सम्बन्धलाई व्याख्या गर्छ । अर्जुन विषादग्रस्त भएर धनुष छोडेर बस्दा कृष्णले उनलाई कर्मको महत्त्व बुझाउनुभयो ।
‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि’ २:४७ अर्थात् तिम्रो अधिकार कर्ममा मात्र छ, फलमा छैन । यसले हामीलाई कार्यकुशलता सिकाउँछ । निष्काम कर्मयोगले मानिसलाई तनावमुक्त बनाउँछ,किनकि तनाव कर्मले होइन,फलको चिन्ताले उत्पन्न गराउँछ । छोटकरीमा बुझ्नु पर्दा गीताले भन्छ ‘काम गर तर आसक्त नभई गर । फलको लोभ नगरी गर । आफ्नो कर्तव्य ठानेर गर । जसरी एउटी आमाले एक शिशुलाई कुनै स्वार्थ नराखी (ठूलो भएपछि यसलाई मेरो सेवा गर्न लगाउछु आदि नभनी) निःस्वार्थ भावले मातृवात्सल्य व्यक्त गर्दछिन् । त्यो मातृवात्सल्य नै निष्काम कर्म हो ।
भक्ति योग (अध्याय ७-१२): किन र कसका लागि गर्ने?
जब मानिसले कर्म गर्न सिक्छ, तब उसमा प्रश्न उठ्छ । यी सबै कर्म कसका लागि ? भक्ति योगले कर्मलाई समर्पणसँग जोड्छ । यहाँ भक्ति भनेको अर्ध-विश्वास होइन । भक्ति त विराट् स्वरूपको बोध हो । त्यही कारण भगवानले आफूलाई सम्पूर्ण सृष्टिमा व्याप्त रहेको बताउनुभएको छ ।
“मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना । मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितः ॥” ९:४ । यसले भगवान् सृष्टिभित्र भए पनि सृष्टिले उहाँलाई बाँध्न नसक्ने सत्य देखाउँछ । सबै कुरा उहाँमै टिकेको छ । तर उहाँ कुनै एक वस्तु वा रूपमा सीमित हुनुहुन्न । छोटकरीमा बुझ्नु पर्दा जब काममा समर्पण आउँछ, कर्मलाई ईश्वर वा मानवताको सेवाको रूपमा अर्पण गर्छौँ, तब कर्म साधना बन्छ । अनि शरीर मन्दिर र पूजा बन्छ । त्यो नै भक्ति हो ।
ज्ञान योग (अध्याय १३-१८): वास्तविकता के हो?
यो खण्डले प्रकृति ( बाहिरी जगत् ) र पुरुष (अन्तर चेतना) बीचको भिन्नता छुट्याउँछ । यसले हामीलाई शरीर (क्षेत्र) र आत्मा (क्षेत्रज्ञ) को ज्ञान प्रदान गर्दछ । ज्ञान योगले भ्रमको पर्दा हटाएर अन्तिम सत्य वा मोक्षको मार्ग प्रशस्त गर्छ । म को हुँ, यो संसार के हो, सत्य के हो, आत्मा के हो । यी प्रश्नहरूको उत्तर खोज्न ज्ञान चाहिन्छ ।
श्रीमद्भगवद्गीतामा यी क्रमबद्ध तीन सिँढीको निकै महत्वपूर्ण अर्थ छ । कर्म नगरी भक्ति आउँदैन र भक्ति (समर्पण) विनाको ज्ञान केवल सुक्खा पाण्डित्य वा अहङ्कार मात्र बन्न पुग्छ । त्यसैले गीता एक पूर्ण ‘लाइफ म्यानुअल’ या जीवन निर्देशिका हो । छोटकरीमा बुझ्नु पर्दा गीतालाई यदि एउटा लिस्नुसँग तुलना गर्ने हो भने, कर्म, भक्ति र ज्ञान ती तीन सिँढी हुन् ।
पहिलो सिँढी नटेकी सीधै दोस्रो सिँढी चढ्न खोज्दा लड्ने सम्भावना हुन्छ, अर्थात् कर्मविनाको भक्ति सम्भव छैन । हामी दैनिक जीवनमा आफ्नो र परिवारको अनि समाज हुँदै राष्ट्रको जीविकोपार्जन, प्रगति र उन्नतिका लागि जीवनको अमूल्य समय खर्चिन्छौँ । तर, त्यस समय खर्चाइमा वा कर्म गराइमा यदि भक्ति छैन भने हाम्रो मनमा असन्तुष्टि पैदा हुन्छ । नानातरहका विषाक्त विचारको हाम्रो मनमा बीजारोपण हुन्छ । हामी प्रकृतिलाई गाली गर्न थाल्छौँ । सृष्टि र सृष्टिकर्ता माथि शङ्का गर्दछौं । कति व्यक्ति त आफूलाई नास्तिक घोषणा समेत गर्न पुग्दछन् ।
अनि दोस्रो सिँढी नटेकी पहिलोबाट तेस्रोमा फड्किने त कल्पना नै गर्नु हुन्न । भक्तिविनाको ज्ञान खोक्रो हुन्छ । भगवान् श्रीकृष्ण अर्जुन मार्फत भन्नु हुन्छ, “भक्त्या मामभिजानाति यावान्यश्चास्मि तत्त्वतः । ततो मां तत्त्वतो ज्ञात्वा विशते तदनन्तरम् ॥१८:५५” त्यसैले गीताले धैर्य सिकाउँछ । क्रम सिकाउँछ । जीवनमा सही यात्रा गर्न सिकाउँछ । अघि माथि भने जस्तै; म को हुँ, कस्तो छु, मेरो तत्त्व के हो ? यी यी सबै कुरा केवल भक्तिद्वारा मात्र वास्तवमा जान्न सकिन्छ । केवल बौद्धिक ज्ञान, तर्क, श्रद्धा र समर्पण रहित अध्ययन जहाँ पुग्नु पर्ने हो ‘हृदयसम्म’ त्यो पुग्दैन । त्यो बोझ बन्छ, मुक्ति होइन । भक्ति बिना ज्ञान अहङ्कार बन्न पुग्छ । भक्तिसहितको ज्ञान भने जीवन बदल्ने प्रकाश बन्छ । त्यसरी तत्त्वतः चिनेपछि मात्र हामीमा गीताको सात्त्विक तत्व बोध हुन्छ ।
आजको व्यस्त भौतिक संसारमा हामी जीविका शिक्षालाई सर्वोपरी ठान्छौँ । त्यसैमा आफ्नो वर्तमान र भविष्य देख्ने गर्दछौँ । तर, जीविका शिक्षासँगै जीवन शिक्षाको अपरिहार्यतालाई भने प्रायः बेवास्ता गर्छौँ । जीविका शिक्षामार्फत सफल बनेका धेरै अरबपतिहरू, मनोचिकित्सकहरू तथा नेतृत्वकर्ताहरू समेत रातभर निदाउन नसक्ने वा निद्राका लागि औषधिको सहारा लिनुपर्ने अवस्थामा पुगेका उदाहरणहरू हामीले सुन्दै आएका छौँ । तर, जीविका शिक्षासँगै जीवन शिक्षा पनि हासिल गरेका व्यक्तिहरू भने इतिहासमा आदरणीय र प्रेरणादायी पात्रका रूपमा अंकित भएका छन् । श्रीमद्भगवद्गीता जीवन शिक्षाको प्राप्तिका लागि एक उत्कृष्ट माध्यम हो ।
हामीले हाम्रो अमूल्य जीवनलाई सूक्ष्म आँखाले हेर्न नसकेकै कारण मृत्युको भयमा दैनिक अधिकतम समय खर्चिन्छौँ । जब कि भविश्यमा मानव मस्तिष्कमा यो अवस्था आउछ भनेरै त्यसको निवारणार्थ हजारौँ वर्षअघि नै यो विषयको बोध गराइसकिएको थियो; ‘न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूय:…(२:२०)’ र ‘नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक:..(२:२३)’।
आत्मा कहिल्यै जन्मँदैन र मर्दैन। यो अमर तत्त्व हो । आत्माको न सुरुवात छ, न अन्त्य नै; यो अमर र सधैँ उस्तै रहन्छ । शरीर नष्ट भए पनि आत्मा कहिल्यै नष्ट हुँदैन ।
आत्मालाई कुनै हतियारले काट्न सक्दैन र आगोले जलाउन सक्दैन । यसलाई न पानीले भिजाउन सक्छ, न त हावाले सुकाउन नै सक्छ। कसैले पनि मृत्युको भयमा रहुनु उचित होइन । यो नासवान शरीर त एउटा छॅाया मात्र हो र जति बेला पनि पञ्चतत्वमा विलीन हुन् सक्त छ ।
तर, जब हामी यथार्थबाट टाडिन्छौं तब भौतिक सुख प्राप्ति नै जीवनको अन्तिम लक्ष्य हो भन्ने भ्रमले हामीमा राज गर्न सुरु गर्दछ, त्यस बखतको दुविधालाई चिर्न समेत वास्तविक ज्ञान केलाई मान्ने भन्ने बारे गीताले निर्देश गरेको छ । ‘ध्यायतो विषयान्पुंस: सङ्गस्तेषूपजायते…(२:६२)’ र ‘क्रोधाद्भवति सम्मोह: सम्मोहात्स्मृतिविभ्रम:..(२:६३)’ भन्ने श्लोक मार्फत हामीलाई समुचित शिक्षा दिइएको छ: अर्थात्; सुख दिने कुराहरूका बारेमा धेरै सोच्नाले त्यसप्रति मोह बस्छ । मोहले इच्छा जगाउँछ, र इच्छा पूरा भएन भने रिस उठ्छ । रिसले गर्दा मानिसको सोच्ने र सही-गलत छुट्याउने क्षमता हराउँछ, जसले गर्दा उसले पुरानो ज्ञान वा सम्झनाहरू बिर्सिन्छ । जब सम्झना हराउँछ, तब मानिसको बुद्धि नाश हुन्छ; र बुद्धि नाश भएपछि मानिस पुरै बर्बाद हुन्छ ।
यदि आज हामीले व्यस्त जीवन जिउँदै गर्दा पनि दैनिक २४ घण्टामा केवल २ घण्टा आफ्नो शरीर (क्षेत्र) र हाम्रो शरीरका हरेक क्रियाकलापलाई साक्षीभावले नियालिरहेको आत्माको ज्ञान (क्षेत्रज्ञ) थोरै नै सही, बुझ्ने प्रयास गर्ने हो भने हाम्रा ९०% समस्याको स्वतः समाधान हुन्छ ।
श्रीमद्भगवद्गीता (१३: ७ देखि ११) श्लोकहरूको भाव मात्र बुझेर अनुसरण गर्ने हो भने पनि हामीले निकट भविष्यमै आफैँमा आमूल परिवर्तन भएको महसुस गर्नेछौँ ।
इच्छा र घृणा, सुख र दुःख, यो शरीर, चेतना र दृढ इच्छाशक्ति मिलेर ‘क्षेत्र’ (अर्थात् हाम्रो शरीर वा कर्मक्षेत्र) बन्दछ । नम्रता भाव सधैँ अपनाउनु; ढोङ वा देखावटी नगर्नु; कसैलाई दुःख नदिनु; क्षमाशील हुनु; आफूमा सरल स्वभावको बीजारोपण गर्नु; वयोवृद्धहरूको सेवा गर्नु; कनिष्ठहरूलाई स्नेह बाँड्नु; शरीर र मन सफा राख्नु; आफ्नो लक्ष्यमा अडिग रहनु; र मन तथा इन्द्रियहरूलाई बसमा राख्नु ।
सांसारिक सुखको अधिक लोभ नगर्नु; अहंकार वा ‘म’ भन्ने भाव नराख्नु; जन्म, रोग, बुढ्यौली र मृत्युका दुःखहरूलाई सधैँ मनन गर्नु; कुनै पनि कुरामा आसक्तिभाव नराख्नु; घरबारमा मात्रै नअल्झिनु; जीवनमा राम्रो वा नराम्रो जे जस्तो परिस्थिति आए पनि मनलाई सधैँ शान्त र सन्तुलित राख्नु ।
शाश्वत सत्यप्रति मात्रै सधैँ भक्तिभाव राख्नु; एकान्त र शान्त ठाउँ मन पराउनु; भीडभाड वा अल्मल्याउने समाजबाट टाढै रहनु; आध्यात्मिक ज्ञानमा सधैँ लागिरहनु; र आफूभित्रको परम सत्यको खोजीमा लागिरहनु । यी सबै कुराहरूलाई सच्चा ‘ज्ञान’ भनेर बुझ्नुपर्दछ र यीभन्दा उल्टो जे जति छन्, ती सबै ‘अज्ञान’ का सूचक हुन् ।
गीतामा कुल ७०० श्लोकहरू छन । श्रीमद्भगवद्गीतामा अनुष्टुप्, जगती, उपजाति र त्रिष्टुप् गरी चारवटा छन्द प्रयोग गरिएको छ ।
७०० श्लोकहरु चार प्रमुख पात्रहरूको संवादका रूपमा प्रस्तुत गरिएका छन् ।
श्रीकृष्ण (५७४ श्लोक): गुरु र परमात्माको आवाज । श्रीकृष्णले जम्मा २८ प्रसंगमा बोल्नु भएको छ । अर्थात् गीतामा हामी २८ पटक श्रीभगवानुवाच भन्छौं ।
अर्जुन (८४ श्लोक): जिज्ञासु शिष्य र द्वन्द्वमा फसेको मानव मन । अर्जुनले जम्मा २१ पटक आफ्ना जिज्ञसा राख्छन् । अर्थात् गीतामा हामी २१ पटक अर्जुन उवाच भन्छौं ।
सञ्जय (४१ श्लोक): संयामी, तटस्थ साक्षी, जसलाई टाढाको घटनालाई जस्ताको त्यस्तै देख्न सक्ने चक्षु प्राप्त छ । सञ्जयले जम्मा ८ पटक आफ्ना आफ्ना संवाद राखेका छन् । अर्थात् गीतामा हामी ८ पटक सञ्जय उवाच भन्छौं ।
धृतराष्ट्र (१ श्लोक): मोह र अज्ञानताको प्रतीक । गीतामा एक पटक धृतराष्ट्र बोलेका छन् ।
श्रीमद्भगवद्गीतामा अर्को रोचक पक्ष के छ भने: ७, ९, १३, १५ र १६ अध्यायमा श्रीकृष्ण मात्र बोल्नुभएको छ । बाँकी अध्यायहरू संवादका रूपमा छन् । प्रश्न र उत्तर हुन् । द्वन्द्व र समाधान हुन् । ठीक त्यस्तै, जस्तो दैनिक रूपमा हाम्रो जीवनमा हुने गर्दछ ।
समग्रमा हेर्दा गीता एक शरीरधारी अर्जुन र एउटा युद्धका लागि सजाइएको रथको सारथी बस्ने ठाउँमा बसेका एक शरीरधारी श्रीकृष्णको संवाद मात्र होइन । गीता त हाम्रो मन र हाम्रो आत्माबीचको संवाद हो । अर्जुन हाम्रो चञ्चल मन हो । डरले भरिएको,द्वन्द्वले भरिएको, मोहले बाँधिएको एउटा शरीरधारी रूप हो । धृतराष्ट्र सबै कुराको पूर्ण ज्ञान हुँदा हुँदै पनि अमुक विषय केन्द्रित मोहको भुमरीमा अल्झिरहने हाम्रो अन्धो प्रवृत्ति हो । दुर्योधन हामी भित्र आश्रित अहङ्कार र आसक्ति हो । अनि कृष्ण हाम्रो आत्मा हो, हाम्रो विवेक हो, हाम्रो अन्तरआवाज हो । श्रीकृष्ण (आत्मा) स्वयम् हाम्रो जीवनरूपी रथका सारथी हुन् । र त उपनिषद्ले भनेको हो, ‘आत्मानं रथिनं विद्धि शरीरं रथमेव तु ।’
जसरी युद्धको मैदानमा अर्जुन विचलित थिए , त्यसरी नै हामी पनि हरेक दिन जीवनको मैदानमा विचलित हुन्छौँ । निर्णय गर्न डराउँछौँ । सत्य रोज्न हिच्किचाउँछौँ । सजिलो बाटो रोज्न चाहन्छौँ । त्यसबेला यदि हामी भित्रको कृष्णलाई जान्न सक्यौँ भने, यदि हामीले आत्माको आवाजलाई प्राथमिकता दिन सक्छौँ भने, हाम्रो जीवनको युद्ध सजिलै जित्न सकिन्छ ।
हामी भित्रको ‘अर्जुन’ले जब ‘कृष्ण’ (विवेक) को शरण लिन्छ, तब मात्र हामी भित्रको ‘धृतराष्ट्र’ (अज्ञानता) को साम्राज्य अन्त्य हुन्छ । गीताले हामीलाई युद्धबाट भाग्न होइन, युद्ध लड्न सिकाउँछ, तर युद्ध क्रोधले होइन, धर्म र कर्तव्यको चेतले लड्नु पर्दछ ।
गीताको संरचना र यसको गौण महत्त्व:
श्रीमद्भगवद्गीतामा २: ११ देखि १८: ७२ सम्मलाई “श्रीकृष्णोपदेश” भन्ने मान्यता छ । यसमध्ये २: ११ देखि १८: ६६ सम्मलाई मूल उपदेश मानिन्छ । त्यसपछि १८: ६७ देखि १८:७२ सम्मलाई उपदेशको फलश्रुति र संवादको समापन भनिन्छ । यस्तो वर्गीकरणपछि स्वाभाविक प्रश्न उठ्छ कि त्यसो भए १: १ देखि २:१० सम्म गीतामा किन समावेश गरिएका हुन् ?
यस विषयमा गीता अध्ययन गरिसकेका विद्वान्, आचार्य र गीता सार लेखेका अध्येताहरूका फरक फरक मत पाइन्छन् । गीता अध्ययन गर्ने प्रत्येक साधकको पनि आफ्नै दृष्टिकोण हुन सक्छ ।
अध्ययन गर्ने क्रममा मैले अनुभव गरेको कुरा के हो भने: १:१ को देखि २:१० सम्म गीताको मूल आधार खण्ड हो ।
१:१ देखि २:१० सम्म व्यक्त गरिएका पात्र, तिनका प्रतीक, प्रसङ्ग र तिनको हाम्रो जीवनसँगको सम्बन्ध नबुझी “श्रीकृष्णोपदेश” आत्मसात् गर्न कठिन हुन्छ । सरल भाषामा भन्नुपर्दा अर्जुनको विषाद, भ्रम र द्वन्द्व बुझ्न नसकी श्रीकृष्णको उपदेशको गहिराइ बुझ्न सकिँदैन । यसैले श्रीमद्भगवद्गीताको ज्ञानको मूल आधार खण्ड अति नै महत्वपूर्ण छ ।
अब अन्तिममा श्रीमद्भगवद्गीताका पाँच शाश्वत सत्य बुझौं : गीता साधनाका पाँच स्तरहरू:
१. श्रीमद्भगवद्गीताको अस्तित्व एवम् बारे सुन्नाले मात्र पनि पहिलो श्रेणीको आध्यात्मिक चेतनाको विजारोपण हुन्छ । यसले मनमा जिज्ञासाको बीउ रोपिदिन्छ ।
२. श्रीमद्भगवद्गीता पढ्नु, पाठ गर्नु वा श्रवण गर्नाले मात्र पनि दोस्रो श्रेणीको आध्यात्मिक चेतनाको अङ्कुरण हुन्छ । यसले वाणीलाई शुद्ध गर्छ र मन्त्रको शक्तिसँग जोड्छ ।
३. श्रीमद्भगवद्गीता अध्यायन गर्नुले तेस्रो श्रेणीको आध्यात्मिक चेतनाको विरुवाले जरा विस्तार गर्दछ । श्लोकको अर्थ बुझ्दा बुद्धि तीक्ष्ण र स्पष्ट हुन्छ ।
४. श्रीमद्भगवद्गीता अध्ययन गरेर अरुलाई सुनाउनु, सिकाउनुले चौथो श्रेणीको आध्यात्मिक चेतनाको बृक्षमा हाँगा फैलिएर फूल फूल्न थाल्छ । अरूलाई सिकाउँदा आफ्नो बुझाइ अझ बलियो र फराकिलो हुन्छ ।
५. श्रीमद्भगवद्गीता ज्ञान आफ्नो जीवनमा उतार्न लाग्नु वा उतार्नुले पाँचौं श्रेणीको आध्यात्मिक चेतनाको फल प्राप्त हुन्छ । यो नै अन्तिम लक्ष्य हो । गीता पढ्नु मात्र ठुलो कुरा होइन, गीता ‘बन्नु’ ठुलो कुरा हो ।
गीता कागजमा सीमित रह्यो भने त्यो ग्रन्थ मात्र हो । तर गीता ज्ञानलाई सही अर्थमा पान गरियो भने त्यो सच्चा जीवन शिक्षा हो र सास्वत अमृत हो ।
भगवान् श्रीकृष्णले अन्त्यमा अर्जुन मार्फत हामीलाई भन्नुभएको छ “यथेच्छसि तथा कुरु” (१८:६३) (जस्तो तिमीलाई इच्छा लाग्छ, त्यस्तै गर) । अर्थात् गीताले कसैलाई पनि कुनै कुरा लाद्दैन; यसले केवल सत्यको मार्ग देखाइदिन्छ र छनोट गर्ने स्वतन्त्रता मानवलाई नै दिन्छ । त्यसैले, गीताको ज्ञान प्राप्त गर्नु भनेको आफ्नै अस्तित्वको गहिराइलाई चिन्नु हो ।
श्रीकृष्णार्पणम् अस्तु:

 

 

3 Replies to “श्रीमद्भगवद्गीताको अध्ययन किन गर्ने ?”

  1. mukunda ghimire

    नमस्कार हजुर ! अत्यन्त राम्रो छ । जे पढ्नु भयो जे बुझ्नु भयो राम्रो छ । अब यसैको तत्त्व ज्ञानले नै सम्पूर्ण ज्ञानको बोध हुन्छ ! सारै राम्रो !

  2. Dr. Om Dhungyel

    What a wonderful job Pokhrel Bhai 🙏. If only we were to follow the path described in the Gita humanity and this world would be heaven.

  3. Anonymous

    Shree Madh Bhagawat Geeta is Discipline and Manual to human life.
    But we have go deeper inside or dive into it. Or take a bath into Geeta.
    And only one can do it who really wants to be like in the Chapter 4 verse 39. Which is not easy in the context of scientific and today’s business. Minded world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *