प्रेस विज्ञप्ति (तेस्रो)
साहित्य परिषद्, भूटान
मिति: २०२५ अक्टोबर २९
आदरणीय सञ्चारकर्मीज्युहरू,
साहित्य परिषद् भूटान मार्फत दिइने पुरस्कारबारे जानकारी यस प्रकार छ।
पहिलो पुरस्कार: भूटानभित्रै अथवा भूटानबाट निर्वासित सर्जकद्वारा लेखिएका काव्य कृतिहरूमध्येबाट कुनै पनि एक उत्कृष्ट कृतिलाई प्रदान गरिने हिमतारा प्रतिभा सम्मान पुरस्कार प्रत्येक दुई वर्षको अन्तरालमा एक पटक प्रदान गरिनेछ । र सो पुरस्कारको राशि नखद १००१ अस्ट्रेलियन डलर रहेको छ । अस्ट्रेलिया निवासी साहित्य परिषद्,भूटानका निवतर्मान उपाध्यक्ष प्रकाश धमाला र उनको परिवारबाट उक्त हिमतारा काव्य स्मृति पुरस्कारको घोषणा गरिएको हो । र यो पुरस्कार २०२१ मा पहिलो पटक ‘गल्ली गल्लीका गीतहरू‘नामक कविता कृतिकी स्रष्टा तिला आचार्यलाई प्रदान गरिएको थियो ।
दोस्रो पुरस्कार: सुकरा गीतसङ्गीत सृजना पुरस्कार हो । गीत सृजना,गायन र सङ्गीत कलामा पोख्त तीन जनालाई प्रदान गरिने उक्त पुरस्कार प्रत्येक दुई वर्षमा अर्पण गरिनेछ । समाजसेवी एवं गायक साहित्य परिषद्,भूटानका निवर्तमान सांस्कृतिक सचिव समेत रहेका मनोज राईको परिवारबाट स्थापित उक्त पुरस्कारको राशि १५०३ अमेरिकी डलर रहेको छ । र यो पुरस्कार परिषद्को आगामी नोभेम्बर ८,२०२५ का दिन पेन्सेलभिन्याको राजधानी ह्यारिस्वर्गमा आयोजना हुने ११औँ सम्मेलनमा ससम्मान अर्पण गरिनेछ ।
तेस्रो पुरस्कार:नेपाली साहित्यमा आख्यान विधाको स्तरोन्नतिका निम्ति लामिटारे परिवारबाट स्थापित पुरस्कारको नाम हो हिमटीका स्मृति आख्यान पुरस्कार । प्रत्येक तीन वर्षमा भूटानी स्रष्टाद्वारा लेखिएका उपन्यासहरूमध्येबाट उत्कृष्ट ठहरिएको एउटा कृतिका लेखकलाई प्रदान गरिने उक्त पुरस्कारको नगद राशि ११०१ अमेरिकी डलर रहेको छ । हिमटीका स्मृति आख्यान पुरस्कार साहित्य परिषद्,भूटानका संस्थापक समेत रहेका गङ्गा लामिटारेले स्थापना गरेको हो । यो पुरस्कार परिषद् विन्सोर सम्मेलन-२०२४मा प्रहेलिका उपन्यास कृतिका लेखक जे.एन. दाहाललाई प्रदान गरिएको थियो ।
चौथोपुरस्कारःनेपाली साहित्यमा कथा विधाको स्तरोन्नतिका लागि स्थापित पुरस्कारको नाम हो मुना स्मृति कथा पुरस्कार । प्रत्येक पाँच वर्षको अवधिमा लेखिएका कथाहरू मध्येबाट उत्कृष्ट ठहरिएको एउटा कथा कृतिका लेखकलाई प्रदान गरिने उक्त मुना स्मृति कथा पुरस्कारको राशि १५०१ अमेरिकी डलर रहेको छ । मुना स्मृति कथा पुरस्कारको स्थापना निवर्तमान साहित्य परिषद्,भूटानका अध्यक्ष भक्त घिमिरे र उनको परिवारले प्रायोजन गरेको हो । यो पुरस्कार परिषद्को आगामी नोभेम्बर ८,२०२५ का दिन पेन्सेलभिन्याको राजधानी ह्यारिस्वर्गमा आयोजना हुने ११औँ सम्मेलनमा ससम्मान अर्पण गरिनेछ ।
पाँचौँ पुरस्कार: बिन्सोर सम्मेलन २०२४ मा उद्घोषित पुरस्कारको नाम हो शहीद स्मृति अनुवाद पुरस्कार । प्रत्येक ५ वर्षमा अनुवाद गरिएका इतिहास सम्बन्धी कृतिहरू मध्ये उत्कृष्ट एउटा अनुवादित कृतिका अनुवादकलाई प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको पुरस्कारको यो । नेपालीमा लेखिएका कुनै पनि महत्वका कृतिहरूलाई अङ्ग्रेजीलगायत अन्य भाषा र अन्य भाषामा लेखिएका महत्त्वपूर्ण कृतहरूलाई नेपालीमा अनुवाद गर्ने अनुवादकका लागि सो शहीद स्मृति अनुवाद पुरस्कार प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि ५००० हजार अमेरिकी डलर) रहको । र यस ऐतिहासिक पुरस्कारको प्रायोजन कुशल व्यवसायी प्रकाश अधिकारीले (ओम गोर्खाली) प्रायोजन गरेका हुन् । र यो पुरस्कार २०२८ मा छनौटको प्रक्रिया र मापदण्ड पुरा गरेको एउटा कृतिका अनुवादकलाई प्रदान गरिनेछ ।
पुरस्कारका लागि घोषणा गरिए अनुरूपको आर्थिक रकम पुरस्कारदाताले ६ महिना पहिल्यै साहित्य परिषद्,भूटानलाई उपलब्ध गराउनु पर्ने र पुरस्कार वितरणको सम्पूर्ण चाँजो पाँजो र कार्य व्यवस्थापन परिषद्ले गर्ने सहमति र सम्झौताका आधारमा यो प्रबन्धन तर्जुमा गरिएको हो ।
सचिव
खेम रिजाल
साहित्य परिषद्,भूटान
मितिः २०२५ अक्टोबर २९
