भोलीको बाटो
गण्डकी पुत्र
अमेरिका
खै कता कताबाट लखेटिँदै
कता कताबाट भाग्दै
अनजान हुण्डरीको चक्रब्युहमा फस्दै
आफ्ना आस्थाका भगवान्
आफ्नै पोल्टामा बोकेर
हामी भेला भएका छौँ
यो भूमिलाई
ओत लाग्ने चौतारो बनाएर !
हामी आएका छौँ आफ्ना आफ्ना
पीडाबाट प्रताडित कथा बोकेर
कोही आयौँ आफ्नो माया
काली खोलाको पानी भन्दा
सङ्लो छोडेर
कोही आयौँ भुरखोला को
छाती भित्र अटल बाँचिरहेको
ढुङ्गाजस्तै गह्रुङ्गो मन लिएर
कोही अरुण र तम्मरलाई
आफ्नो दुःखको गीत गाउन दिएर
उस्कै लय समातेर
रुदैं उक्लिएका हौला
जहाजका अप्ठ्यारा भर्याङ्गहरु
माटोको माया उस्तै थियो
उस्तै बास्ना आउँथ्यो होला
हावामा मिसिएको पसिनाको सुवास
भुटानको बिसौनीमा टेको लगाएको तोक्मा
नेपालको देउराली मा ढाकर अड्याएको
बाङ्गे लौरो
बनाउने हात उस्तै थिए
मझेरीमा बज्ने हातका चुरा
पधेरामा गाउने मारुनी गीत
गुम्बाको ॐमनी पेमेहुँ
उस्तै थिए होलान्
साम्ची , दागाना
तेह्रथुम र दैलेखका
सेल रोटी र मही पार्ने ठेकी !
हामीले लगाएको सिरको टोपी
मायालुलाई प्रेमले ओढाई दिएको बर्को
हाम्रो बाजेले बोकेको च्याब्रुङ
हाम्रो आप्पाले आमालाई मायालाउदा
बजाएको डम्फु
उस्तै थियो होला गीतको भाका पनि
डम्फुलाई माथि चरी हेर
चरीलाई नहेर मलाई हेर !
उस्तै तालमा बज्थ्यो
देउसीको मादल
त्यसरी नै गाउँथे भैलिनीहरू
त्यसरी नै रमाउँथ्यो
विवाहको सहनाई
त्यसरी नै छुट्थ्यो हाँसोको रेल गाडी
रतेउलीमा रमाउने आमाहरूको !
एउटै हुँदो रहेछ शासकको मुटु
एउटै हुँदो रहेछ मरेको संवेदना
तिनकै अभिसप्त पीडा खप्न नसकेर
कोही लहेटियौ
कोही छटपटाउँदै भाग्यौ
भोको पेट र नाङ्गो आङ लिएर
र त भेटिएका छौ उस्तै सभ्यता
र उस्तै अनुहार बोकेका हामी !
एउटै थियो मुटु
भूगोल एउटै थियो
काटी दियो सिमानाले
विभाजित गरिदियो
तिनै शासकको अहङ्कारले
र मात्र अलग भएको हौँ हामी
वीरताको गाथा उस्तै छ
खुकुरीको कथा उही छ
मात्र फेरिन खोजेका छौ हामी !
यो एक्काइसौं शताब्दीको
सङ्घारमा उभिएर के सोच्दैछौं हामी
के भोलि हामीले हिँड्ने बाटो
एउटै होइन र
एउटै होइन र भविष्यमा ताप्नुपर्ने
बिरानो भूमिको तातो घाम ?