विलम्ब 

खाओत सुब्बा
अमेरिका

 

माथि भन्ज्याङमा
उदास भएर बसेको चौतारी जस्तो
वर्षौँ देखि थला परेर
कुनै कुनामा बेवारिसे  पँधेरी जस्तो
मानो खोज्दै पर्देशिएको छोराले
गाउँ आउने बाटो बिर्सिए जस्तो
ऐँचो पैँचो खुसी बाँडेर
साँघुरिएको खोला जस्तो

कस्तो कस्तो लागेर आयो
बसको झ्यालबाट
उसको गाउँलाई
अन्तिम चोटि हेरी पठाउँदा

ढिलाइ आएछु क्यारे !
म आइपुग्दा सम्म
गेटमा सजाइएका फूलहरू सुकी सकेछन्
आँगन भरि शृङ्गारिएका
कागजका पुतलीहरू उडी सकेछन्
रातो माटोले लिपेका भित्ताहरू उप्की सकेछन्
सम्म पारिएको खेतमा कोदो छरी सकेछन्

पहिलै पुग्नु थिएछ
म पुग्दा सम्म
मेरी सेक्मुरी  फुङलाई
लाहुरे दाजैले टिपी सकेछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *