भुल्नु हुन्न

कुबेर शर्मा कुईकेल भुवानेटारे
अमेरिका

माटो भुल्नु हुदैन दुःख सुखमा आमा तिनै देशको
आमा भुल्नु हुदैन भूल चुकमा माटो उनै देशको
जन्मेको घर त्यो अशान्तिसितको आगो दिनौ भोग्दछ
भक्कानो मन भित्र दुःख दिलको माटो अझै पोख्दछ

तुर्शा मानस आँसु आँसु जनको माटो निचोर्दा टिठो
गादी लक्षित भूमि पुत्र दल त्यो आवाज तिम्रो मिठो
शिङ्खा रुन्छ चिसो छ मानिस निकै गादो भरेको भरी
माटो रुन्छ निशा दिशा नयनमा हामी भुलेको घरी

आफ्नो दुःख स्वदेशको नमनमा भुल्ने तिमी भक्त हौ
आमाको गहमा छ नेत्रजल त्यो पुछ्ने तिमी पुत्र हौ
के ऐश्वर्य निजको निजी नयनले आमा नदेख्ने भए
के छोरा बिजको निजी हक लिने आँखा नखोल्ने भए

सोझा रङ्क निचोर्न त्यो असुर झैँ भूपाल आफै अघि
मागेमा हक मिल्छ भन्छ जन जो सोझो छ सत्ता अघि
माटो भित्र शहीद वीर विभुको गाथा भरी शौर्य त्यो
तिम्रो हात अशुद्ध लालच लिने गादी पुजारी भयो

गल्ती हो अझ लोभ लालस निजी मात्रै तिमी देख्दछौ
माटो लज्जित हुन्छ आज किन त्यो गद्दी तिमी ढोग्दछौ
आँखा खोल तिमी निनाद बलमा मौका छ माटो छुने
बाटो रोज तिमी मिठो मरणको आजाद माटो हुने

शार्दूलविक्रीडित छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *