जब स्याल कराउँछन्
हेम गुरागाईं
नेपाल
छाया बढ्दै जाँदा
दिन ढल्दै जान्छ
घाम मृत्युशय्यातिर उन्मुख हुँदै जाँदा
साँझ पलाउँदै जान्छ।
झ्याउँकिरीको लोरी सुन्दै
जब नीदको नशाले दिन अचेत हुन्छ
तब साँझको पालुवा छिप्पिँदै जाँदा
रातको वृक्ष बढ्दै जान्छ।
जब स्याल कराउँछन्
मान्छे मौन हुँदै जान्छन्
विश्रामको बेला आएको छ
“नमरी बाँचे कालैले साँचे”
भोलीको बिहानी देखिनेछ।
समय यस्तै निर्दयी रह्यो भने
सोचहरूका गर्धन यसरी नै जल्लादको खड्गमुनि पर्दै जानेछन्
भुलभुलैयाको गुमराहमा
हामी सबैलाई थुनेर
विजयश्रीले अन्यायलाई प्रणाम गर्नेछ
यसरी नै।