सेतो फूल  

दिपा मेवाहाङ राई
लगाएर एउटै काखको सिरानी
भरेर एउटै सासको  त्यान्द्रो
खेलेका थियौँ एउटै मझेरी
हुर्किएका थियौँ एउटै आँगनमा ।
देखेका थियौँ
सगरमाथाभन्दा  अग्लो सपना
बनाएका थियौँ
अरुण जतिकै  लामो भविष्यको योजनाहरू
सजाएका थियौँ
आकाशको क्यानभासमा खुसीहरू ।
सपनाको उडान भर्न
म आफू हिँडेको थिएँ
मेसिनको सहरमा
मेसिनको मान्छे बन्न
तँलाई जिम्मेवारीको  पिँजरामा थुनेर ।
 तँ भरिँदै  थिइछस् आफू भित्रभित्रै
गल्दै थेछन् मांसपेशीहरू
ओठमा बनावटी मुस्कान फुलाएर
फुल्दै थिइछस् पारिजात जस्तै ।
तँ एक भूगोलमा घाम बनिरहँदा
मैले अर्को भूगोलमा पाइरहेको थिएँ न्यानोपन
तँ एकातिर  दुःखको पिल्लर बनिरहँदा
मैले अर्कोतिर भरिरहेको थिएँ सुखको उडान
अफसोस!
एक साँझ घाम डुब्नु अघि नै
डुबी छस् कहिल्यै नउदाउने गरी
मेरो घाम,  मेरो आकाशबाट ।
तँ जानू अघि
सुनाउनु पर्ने थियो होलान्  कति कुरा
बुझाउनु पर्ने थियो होला जिन्दगीको परिभाषा
सम्झाउनु पर्ने थिए होलान् छुटेका अनगिन्ती  हिसाबहरू
माग्नु पर्ने थियो होलान्  अजम्बरी बाचाहरू
 र नै थिचेको थिइछस् मोबाइलमा बारबार  फोन कलहरू
पारेका थिइछस् म्यासेजका  वर्षाहरू ।
जति बेला म
नाप्दै थिएँ आफ्नै जिन्दगी  ईन्चीटेपमा
जोड्दै थिएँ आफ्नै  फुटेको भाग्यको बटुलेर
रोप्दै थिएँ  आफ्नै पसिनाको बीउ
सोध्दै थिएँ मेसिनसँगै  मृत्युको  रिडमा ।
जब साँझ ढलेर रात पर्‍यो
मोबाइलको स्क्रिन उज्यालो  बनेर बल्यो
कहिल्यै उज्यालो नफर्किने गरी
सधैँको लागी
उज्यालो हरायो हाम्रो अनुहारबाट
दिदी
तँ सकिइछस् मैनबत्ती झैँ
फेरि कहिल्यै नबल्ने गरेर ।
मेरो कलिलो हातको बलियो खाँबो बनेर
मेरो कोमल पैतालालाई नबिझाउने जमिन बनेर
हिँड्न सिकाएको थिइस् गोरेटोमा
कुद्न सिकाएको थिइस् जिन्दगीको दौड ।
मेरो दुखाइको बनेर पेनकिलर
मेरो आँसु झर्दा बनेर रुमाल
निराश बन्दा हौसलाको प्रतिमूर्ति  बनेर
जति बेला पनि बसिरहन्थिस्
मनको पकेट बक्समा ।
परिस्थितिले यसरी दासी बनाउँछ कि
लाचार बनेर कुनै स्क्रिनमा केही दृश्य  हेरे जसरी
हेर्दै छु दर्शक बनेर तेरो मृत्युको  खेल।
सक्दिनँ तँलाई अन्तिम पटक छातीमा टाँसेर रुन
सक्दिनँ तँ जाने बाटोमा बार लगाउन
सक्दिनँ रोक्न तेरो यात्रामा बाधा  पुर्‍याउन ।
शरीर कापिरहेछ
गला अवरुद्ध  छ
आँखाहरू बगिरहेछन् खहरे  बनेर
मन डढेको छ खरानी बनेर
अब त यस लोकको रहिनस्
पराई लोकको बनिस्  दिदी !
तैँले अब आफ्नो बाटो लिएर जानू !
दुःख मन नगर्नु आफ्नो भाग्यमाथि
अर्को जन्म लिएर आउँछस् भने
आउनु सँगै  एउटै कलेजोको  सिरानी लगाएर
भर्नु सासको त्यान्द्रा आयु पुग्ने गरी
भेट्न आउनु यही ठाउँमा !
दिदी,
म तेरो प्रतीक्षामा बस्नेछु
सेतो फूल बोकेर  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *