लेखक को हो—मानिस कि यन्त्र ? (सम्पादकीय)

कृत्रिम बौद्धिकता (एआई)  यन्त्रद्वारा मानिसले जस्तै सोच्ने र कार्य गर्ने मानव–निर्मित बौद्धिक यान्त्रिकता हो। यो तीव्र रूपमा विकसित कृत्रिम बौद्धिकताले घेरेको संसारमा, अबका केही दशकमा यसकाे प्रयोग नहुने क्षेत्रहरू सायदै बाँकी रहनेछन्। हरेक क्षेत्रमा कृत्रिम बौद्धिकताले संरचना, कार्यप्रणाली र श्रम गर्ने प्रवृत्तिमा परिवर्तन ल्याउने निश्चित छ।

कृत्रिम बौद्धिकताले कुन–कुन क्षेत्र र मानव समाजलाई कस्तो प्रभाव पार्छ भन्ने सबै कुरा यहाँ उल्लेख गर्न सकिँदैन। तर लेखन क्षेत्रमा यसको प्रभाव कस्तो पर्छ भन्ने कुरा महत्त्वपूर्ण छ। कृत्रिम बौद्धिकता आएपछि परम्परागत लेखनमा ठूलो परिवर्तन देखिएको छ।

कृत्रिम बौद्धिकताले “लेखक को हो—मानिस कि यन्त्र?” भन्ने मूलभूत प्रश्न जन्माएको छ। कुनै पनि साहित्यिक लेख मानिसले लेखेको हो वा यन्त्रले, यसको निक्यौल कसरी गर्ने? के त्यो सम्भव छ? कृत्रिम बौद्धिकताको युगमा मानिसको मौलिक सृजनात्मकता बाँचिरहन सक्छ? के यन्त्रसँग पनि मानिसजस्तै सोच्न, अनुभव गर्न र संवेदना अनुभूति गर्न सक्ने क्षमता हुन्छ?

व्यक्तिसँग आफूले अनुभव गरेका जीवन्त भोगाइ, निजी अवधारणा र दृष्टिकोण हुन्छन् । के कृत्रिम बौद्धिकसँग त्यसले कुनै सम्बन्ध राख्त छ ?  कृत्रिम बौद्धिकताले अंक खोज्छ, आँकडा खोज्छ, श्रृंखला खोज्छ अनि मिहिन व्यवस्थापन खोज्दछ। तर मान्छेको जीवन र उसको लेखन केवल अंक, आँकडा र श्रृंखला मात्र होइन। त्यो संवेदना, भावना र अनुभवहरूको पुञ्ज हो। जीवन जस्तै उसका अनुभूतिहरू पनि विशृङ्खल हुन्छन्; सधैं सुव्यवस्थित र सुललित हुँदैनन्—जुन कुरा कृत्रिम बौद्धिकताले खोज्दछ।

साहित्यिक लेखनमा व्यक्ति र समाजको जीवनको  चित्रण हुन्छ। के यान्त्रिक बौद्धिकताले मानव अनुभूति, कल्पना, असल–खराब, नैतिक–अनैतिक जस्ता कुराहरू अनुभूत गर्न सक्छ? लेखन भनेको तथ्याङ्कहरू यन्त्रमा लगाएर प्रतिफल निकाल्ने जस्ताे कुरा हाेइन । 

कृत्रिम बौद्धिकताले जन्माउने अर्को कुरा भनेको सृजनात्मकताको प्रश्न हो। के सृजनात्मकता मौलिक हुन सक्छ? “लेखकको मृत्यु भइसक्यो” भन्ने उत्तरआधुनिकतावादी दृष्टिकोणलाई नै यान्त्रिक बौद्धिकताले समर्थन गर्दैन र? साहित्यमा विचार, चिन्तन वा लेखनको विषय एउटै हुन सक्छ; फरक हुने भनेको प्रस्तुतिकला वा लेखन शिल्प हो। एउटै विषयमा अनेक लेखकहरूले लेख्न सक्छन्। फरक विचारमा भन्दा पनि अभिव्यक्तिगत सम्प्रेषणमा हुन्छ।

कृत्रिम बौद्धिकता प्रशिक्षणद्वारा निर्मित हुन्छ। याे प्रशिक्षकहरूको विचार वा अवधारणाको पक्षपाती हुन्छ। याे अप्राकृतिक र अमानवीकृत गर्ने जोखिमले युक्त हुन्छ।

कृत्रिम बौद्धिकता अथवा एआईले उत्पादन गर्छ कि सिर्जना ? आजभोलि एआईको प्रयोगद्वारा लेखनमा रातारात प्रगति गर्नेहरू अनेक भेटिन्छन्। यसले वास्तविक मौलिक सिर्जना गर्नेहरूलाई निरुत्साहित गर्ने मात्रै होइन, पाठकहरूलाई पनि दिग्भ्रमित पार्ने गरेकाे छ । साहित्य कला हो । कृत्रिम बौद्धिकताको प्रयाेगले मानवीय क्षमताद्वारा सृजित कालजयी कलालाई निष्प्राण बनाउने त होइन? वा एआईले त्यसलाई अझ उन्नत र परिष्कृत बनाउन मद्दत गर्दछ? यस्ता कैयन् आधारभूत प्रश्नहरू अनुत्तरित छन्। एआईको प्रयोग कहाँ गर्नु, किन गर्नु भन्ने कुरा  विचारणीय छ । एआईलाई साधकको रूपमा होइन, एउटा औजार वा माध्यमकाे रूपमा मात्रै प्रयोग गर्नु वाञ्छनीय हुन्छ।

एआईको प्रयोगले भाषा मात्रै होइन, सामाजिक र व्यक्तिगत सम्बन्धलाई पनि गहिरो गरी प्रभाव पार्न थालेको छ। हिजो व्यक्ति–व्यक्तिबीच संवाद र अन्तरक्रिया हुन्थ्यो भने अब व्यक्ति, यन्त्र र व्यक्तिबीच त्रिकोणात्मक अन्तरक्रियाको विकास हुन थालेको छ। एआईसँगको सम्पर्क र अन्तरक्रियाले मानवीय सम्बन्ध, आपसी प्रेम र सद्भाव कमजोर हुन जाने सम्भावना हुन्छ। व्यक्ति–व्यक्तिबीचको प्राकृतिक सम्बन्ध एआईको माध्यमद्वारा यान्त्रिक, एकान्तिक हुने सम्भावना बढी छ। एआईले व्यवस्थापन गर्न र  शीघ्रता प्रदान गर्न मद्दत पक्कै पनि गर्छ, तर महान कला रचनाको प्रतिमान हुन सक्दैन। के एआईले अब देवकोटा,पौड्याल, टोल्सटोय, सेक्सपियर, सुकरातको प्रतिस्थापक बनेर साहित्यिक श्रेष्ठता र कला रचनाको महावर्णन  निर्माण गर्न सक्छ ?  

अब एआईलाई लेख्न लगाउन होइन, विषयवस्तु खोज्न, फरक दृष्टिकोणहरू बुझ्न, हिज्जे अझ परिष्कृत गर्न र लामालामा आलेखहरू वा कृतिहरूको सारसङ्क्षेप निकाल्नका लागि प्रयोग गर्नु उत्तम हुन्छ। एआईलाई लेख्न लगाएर आफ्नो निजी सिर्जना झैँ पस्किनु गैरजिम्मेवारीपूर्ण र अनैतिक कार्य हो। एआईको सहायता लिनु अपराध होइन, तर एआईको प्रयोग गरेर छद्म लेखन गर्नु गैरजिम्मेवारीपूर्ण कार्य हो। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *