तिमी त्यो हो

नवीन शर्मा भट्टराई
पेन्सिलभेनियाँ अमेरिका

तिमी त्यो हो
सर्वदा छौ तिमी पूर्ण, अर्धकट्टी म पो हुँ त ।
पूर्ण हुन्छु समेट्न ।।
पहिचान छरिएका इतिहास जताततै,
अंश तिम्रै समेट्न ।।
अपूर्ण हुन दिन्छौ की, परिपूर्ण बनाउँछौ ?
समेटिन्छु बचाउँछौ ?
पूर्णतामा बिलाएर पूर्ण हुँदै अँटाउँछु,
निकास दिन्छु अँटाउँछौ ?

अंश-अंश फुटाएर विध्वंस यदि गर्दछौ ।
वंश-वंश जुधाएर,
स्वार्थमा यदि चल्दछौ ।।
अंशबन्डा गराएर भाइ शत्रु बनाऊ लौ ।
म त मिल्छु तिमी भित्रै
समेटिन्छु समेट लौ ।।
अमेल छु, समेल लौ ।

मलाई,
पूर्णताको अंश मान त्यो म ब्रह्म हुँ ।
तिमी पनि त्यही ब्रह्म,
“तत्वमसि” अनन्त छौ ।।
मेटिदेऊ पखालेर समेटिन्छ अपूर्ण लौ ।
पूर्णतामा बिलाएका,
हामी दुवै स्वपूर्ण छौँ ।।

तिमी जस्तो निराकृत हुँ म पनि अविकृत ।
तिमी पुरुष म प्रकृति ।।
तिमी ब्रह्म म जीवात्मा, तिमी आत्मा म परमात्मा ।
तिमी स्थूल म सूक्ष्म हुँ,
तिमी ज्ञात म अज्ञात हुँ ।।
तिमी विचार
म आकार हुँ ।
अलग छौँ,
तर एकाकार,
एकै मूल्य छ ओम्कार् हुँ ।।

भिन्नता छ सदाचार यो, सेतु अब बनाऊ लौ ।
समेटिन्छु समेट लौ ।।
परम् ब्रह्म मभित्रै छ
अंश तिमी मभित्र छौ ।
परम् आत्मा छ पूर्णात्वमा,
त्यही तिमी सजीव हौ ।।
म त्यही हुँ तिमी जो हो

“अहं ब्रह्मास्मि”
हुँ त्यो म ।
अर्थ आत्मा नजाने को,
“तत्वमसि” तिमी त्यो हौ ।
“तत्वमसि” तिमी त्यो हो ।

यही प्रज्ञा अनन्तर् छ, अस्तित्व अर्धकट्टी छ।
आफैँ यही सुपूर्ण छ,
सग्लो भन्छ अपूर्ण छ ।।
सिमाना यी त सग्ला छन्, भावना झन् अपार छ ।
अग्लो भन्छ निपुण छ,
तिमी-म परिपूर्ण छौँ ।।

आधा ?
कस्तो नजानेको ?
बारम्बार नठान न ।
म तिमीमै मिलेको छु, अर्धकट्टी मलाई लौ,
सँधैभरि नमान न ।।

एकताको प्रज्ञान यो, मैले पनि लिएको छु ।
वाणी-वाणी पिएको छु ।।
सिमाना ?
के कुरा झन्डाको ?
नीतिसँगै जिएको छु ।

तिमी आधा
म आधा छु
आधा-आधा अनन्त छ ।
अनन्त यदि पूर्ण हो,
भने अपूर्ण पूर्ण छ ।।
त्यसैले पनि-
अर्धकट्टी-अनन्त-सग्लो छ ।

सग्ला-सग्ला बराबर छन्,
अर्ध-अर्ध सराबर् छन् ।
त्यसैले,
अर्धकट्टी जो,
छ सबै सुपूर्ण छन् ।।

प्रश्न नगर को हुँ म, सोध आफैँ तिमी के हो ?
पूर्ण जान परम ब्रह्म, म जान्दछु म जस्तो हो ।।
पहिचान हराएका
जान अस्तित्व पाएको ।
म मान्छु तिमी त्यो हौ,
म मान्छु तिमी त्यो हो ।।

आत्म नै ब्रह्म हो यसको, प्रज्ञा नै परब्रह्म हो ।
म पनि अंश हुँ त्यस्तो, तिमी पनि त्यही त हो ।।
न छ अधा अधूरो म
अर्धकट्टी तिमी न हो ।
“तत्वमसि” तिमी त्यो हौ ।
“तत्वमसि”
तिमी त्यो हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *