मौलिकता हरायो किन?

अबि बाबु अधिकारी
पेन्सिल्भिन्या, अमेरिका

फोस्रो आज सबै म देख्छु दुनियाँ मौलिक् हरायो किन?
पुर्ख्यौली घरका अलौकिक कुरा ऐले कतै देख्दिन॥१॥

ठेकी छैन मदानी छैन घरमा जाँतो र ढीकी किन?
छैनन् कुप्पी मजेरिका वरिपरि ति आम्खोरा देख्दिन॥२॥

जूवा छैन कतै म देख्दिन हलो हल्लुँड् जोतारो किन?
छैनन् ती घरमा कुटो र करुवा बाउसो पनि देख्दिन॥३॥

छैनन् गाग्रि ति गग्रेटा वरिपरि वीणा हराए किन?
डाडू सील्बरका दुंदेरी र कुंडे भड्डू कतै देख्दिन॥४॥

पीरा बार्दली बीचमा सजिएका सुक्कुल् हराए किंन?
खुर्पा खुर्मी चुलेंसी फेरी बसिला फर्रुवा पनि देख्दिन॥५॥

डालो लुप्त भयो न घूम छ यहाँ फुर्लुङ् हरोयो किन?
डोको नाम्लो सिँगौरो डोरि महला घुर्रो पनि देख्दिन॥६॥

नेती छैन मदानी छैन घरमा कोइले धुपौरा किन?
स्यांगी छैन कटारी चक्कु र खूँडा त्यो बञ्चरो देख्दिन॥७॥

पेचा कोल र कित्ली छैन तरुवा मानू सिलौटो किन?
चीम्टा हाँडी कसौंडी फालि र सियो डेली कतै देख्दिन॥८॥

नर्सींगा अब छैन गाउँ घरमा ट्याम्को हरायो किन?
डम्फू मादल ढोलकी र तवला वीणा कतै देख्दिन॥९॥

बाँसूरि अब छैन पानस नभै राख्ने खटीया किन
बाजे च्याब्रुंग छैन छैन मुरली कर्नाल् कतै देख्दिन॥१०॥

सँनाई पनि छैन गाँऊ घरमा पाथी हट्यो यो किन?
नांग्लो चाल्नु कुचो सलाइ खरेटो ऐले कतै देख्दिन॥११॥

रेती साँद र नैनी कर्द चकमक् झूलो सनांसो किन?
होत्रो सम्पट भाटी घन् अनि तुलो घैंटे कतै देख्दिन॥१२॥

मासींदैछ चिनारी तीब्र गतिमा पहिचान् हाम्रो किन?
नेपाली मूलका सुसंस्कृत चलन ऐले कतै देख्दिन॥१३॥

पैरो झर्दछ गाँऊमा सपनिमा आमा डारायौ किन?
सारै तग्लिफ देख्छु बा कन सधैँ खूसी मुहार देख्दिन॥१४॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *