बिधुवाको प्रश्न ?
शुसिला निनाम
खोटाङ
दुई चुल्ठो केश बाटेर
जामालाई दिए पछि आमाले
मलाई सबैले
पुतली जस्तै भन्थे
पछि एक दिन
मलाई साँच्चै पुतलीलाई झैँ सिँगारे
एक अपरिचित मान्छेको छेउ राखिदिए
अझ शृङ्गार नपुगेर होला
अपरिचित मान्छेले
टाउकोमा सिन्दूर दलिदियो
गलामा पोते झुन्ड्याइ दियो
त्यसपछि
अपरिचित मान्छेको कोठामा
म पुतली भएर सजिएँ
अपरिचित मान्छेसँग परिचित हुन नपाउँदै
अफसोस!
अपरिचित मान्छेले मलाई सधैँको लागि
यो संसारबाटै छोडेर गयो ।
त्यसपछि मेरो जिन्दगी श्याम श्वेत भयो
म पुतली रहिन ।
म विधवा भएँ ।
श्याम श्वेत जिन्दगी सुरु भएपछि
पाप,धर्म,परम्पराको पर्खाल र नैतिकताको बार अझ थपियो ।
मैले त्यो पाप, धर्म, परम्परा, नैतिकताको पर्खाल र बार कहिले नाघ्ने कोसिस गरिन ।
त्यही पर्खाल र बारभित्र
आफूलाई थुनिरहेँ
त्यही पर्खाल र बार भित्रै बसेर
आज सोध्दै छु ??
विधवाहरूलाई पुरुषबाट चार हात परै बस्नु भन्ने परम्परा र धर्मले
हररात निदाउनु अघि र ब्युँझिएपछि
लोग्नेको तातो शरीरलाई
चिसो ओछ्यानमा पल्टिएर सम्झिदा पाप लाग्छ कि लाग्दैन ?
मृत लोग्नेको लाससँगै
रहरहरू, सपनाहरू, प्राकृतिक संवेगहरू
किन घाटमा जलाइदिन सक्दैनन्
मलामीहरूले ??