म गएपछि पनि यतै रहनेछु

जनक कार्की
तानसेन,पाल्पा
म गएपछि केही दिन श्रद्धाञ्जली अर्पण गर्न राखिएको तस्बिरमा रहनेछु
अखबारको वर्गीकृत विज्ञापनको हार्दिक समवेदनामा अटाउनेछु निश्चित मितिमा
अलिकति म भान्सा कोठाको पिर्कामा रहनेछु
थाल,कचौरा,अम्खोरामा मेरा र्‍यालका कीटाणुहरू पनि केही दिन पक्कै रहलान्
बैठक कोठाको सोफामा चिया पिउँदा पोखिएको दागमा पनि रहनेछु
शयन कक्षमा म सुतेर खिचिमिजि बनाएको तन्नामा पनि म भेटिनेछु
सम्पूर्ण घर जहाँ जहाँ मैले स्पर्श गरे त्यहाँ औँठाछापहरू म पाइने छु ।
म जलाइएपछि पनि बादलको जुलुसमा एक टुक्रा भेटिनेछु
हावाका झोँकाहरूमा थोरै परिणाममा मिसिएर रहनेछु
अलिकति त यही माटोमा मिसिएर अजर रहनेछु
जल्न नसकेको शेष अंशहरू किरा,फट्याङ्ग्रा,माछाहरूको भोजनमा भेटिनेछु ।
म साथीहरू माझ बदमासीका किस्साहरूमा गफिनेछु
मन दुखाएकाहरूको घृणामा बस्नेछु
अर्धांगिनीसँगको निर्लज्ज हर्कतमा रहनेछु
केही मुटुको खुत्रुकेमा जम्मा गरिएका खुद्रा यादहरूमा हुनेछु
तिथिको मन्त्रोच्चारणमा पनि भेटिन सक्छु ।
म गएपछि पनि यतै रहनेछु
पाठशालाको पुरानो भर्ना ढड्डामा हुनेछु
शैक्षिक प्रमाणपत्रको लेमिनेटेड कागजमा भेटिनेछु
नागरिकताको श्यामश्वेत तस्बिरमा रहनेछु
अन्त कतै नभेटिए पनि पालिकाको प्रदान गरेको
मृत्यु दर्ता प्रमाणपत्रमा त म अवश्य भेटिनेछु ।
जसरी सबै कुरा बढारेर पनि कुचोमा केही अंश धुलो अड्किन्छ
त्यसै गरी म रहनेछु केही मात्रामा ।
म गएपछि पनि मैले ओगटेर बसेको स्थानमा खालीपनको डोब बनेर रहनेछु, यतै कतै !

Leave a Reply

Your email address will not be published. Required fields are marked *