रहर

ईशाना राई
मिरिक,दार्जिलिङ
अग्लो डाँडाको
माथि आकाशमा
सधैँ उडी रहेको देखेर
हाँस्ने मान्छे म
अँध्यारो हटाएर हाँसी रहेको जून- तारा हेरी
हाँस्ने मान्छे म
बगैँचामा फुलिरहेका फूलहरूमा
डुली रहेका माहुरी र पुतली देखि
उफ्री उफ्री रमाउने मान्छे म
खुसी र भावनामा डुबेर
हराउन खोज्दा खोज्दै
आज म कहिल्यै नहराउने बाटो
खोजी रहेछु।
म एक्लै हाँसी रहेको बेला
धेरै रोई रहेको आवाज
यत्रतत्र सुनी रहेछु
म एक्लै बाँची रहेको बेला
अनेक मान्छे मरी रहेको देखि रहेको छु।
यहाँ म एक्लै बाँच्न चाहन्न
यहाँ म एक्लै हाँस्न चाहन्न
अब
म आफैले आफैलाई
जगाउन पाउ म भित्र
यो सानो घेराको परिवेशबाट
अन्यत्र फैलिन पाउ।
मलाई अघि बढ्नु छ
मलाई सधैँ चुनौतीहरू सँग लड्नु छ
धुलोलाई उड्ने चराहरू
बनाउनु छ
असहायहरूलाई
माहुरी र पुतली बनाउनु छ
काँडै काँडा बन्न खोज्नेहरूलाई
फूलै फूल बनाउनु छ
शान्त संसार र असली
मान्छेहरू बनाउनु छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *