यहाँ यस्तै भयो

यहाँ यस्तै भयो
भानु ढुङ्गाना
विन्सोर, क्यानाडा

 

यदि यहाँ –
झुले, माले, पाङ्ग्रे, पोटले, तारेहरूले
झुली, माली, पाङ्ग्री, झिल्कु, तार्कुहरूले
खरीको, खारसाङ्लाको, खमारीको,
किम्बुको,
लह–लह गरेको घाँसमा
नाक लगाएको नजनाएको भए,
हिजो हामीले उताबाट ल्याएका बिरुवाहरू
आज रुखभरि लटरम्म फलेका हाँगा हुन्थे।
तर के गर्नु र,
यहाँ नाक छिट्टै लाग्दो रहेछ।

गोरु–गाईलाई
खरी र सुमी, निबारो, डुम्रीको घाँसमा
नाक लागेपछि खान छोडे।
बाछा–बाछीहरूले
त्यही नाक सुँघेर
अर्कै स्वाद रोजे।
खरीको घाँस
उस्तै थियो,
लहलह जहाँ पनि थियो
तर अब त्यसमा
पुरानो गन्ध मात्रै बाँकी रह्यो।

गोरु–गाईहरू
आज निकै पर–पर
चर्दै छन् –
जसरी यहाँका मानिस
आफ्नै माटोबाट
टाढिँदै जान्छन्।

जुवामा बाँधिएका दिनहरू
एक–एक गरी फुक्दै गए,
बाटो त बाँकी रह्यो
तर दिशा फेरियो।
न घाँसको कमी थियो,
न पिना र चोकटको,
तर नाकले
अब चिन्नै छोडिदियो।

गोरु–गाईहरू
सरहका गल्लीहरूमा
चर्न थाले-
जहाँ घाँस होइन,
केवल बाँचिरहने बानी पाइन्छ।

खरीको घाँसमा
नाक लागेपछि
गोरु–गाई मात्र होइन,
अब त ग्वाला पनि
अन्तै सर्दै गए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *