यो वर्ष नौलो हुँदा

नौला जोश उमंग हुन् मन भरी हुन् भावना कन्चन
ईच्छाका सपना हजार बटुली हुन् सिर्जना मन्चन
हाँसून् फूल सुवास साथ गतिला लज्जा नमानी छुँदा
पात्रो मात्र नफेरियोस् अब उता यो वर्ष नौलौ हुँदा १

कोदालो हॅंसिया कुटो जमिनमा खेली रहून् हर्दम
बारी खेत हराभरा सब बनून् बाली झुलून् हर्दम
माटोको महिमा बुझोस् युवकले माटो बनोस् सम्पदा
पात्रो मात्र नफेरियोस् अब उता यो वर्ष नौलो हुँदा २

नारीको गरिमा बुझोस् मुलुकले नारी बनून् अव्बल
अत्याचार विभेद छन् जति सबै हुन् अन्त्य चाँडै अब
होस् भातृत्व विकास यो अवनिमा शिक्षा फुलोस् सर्वदा
पात्रो मात्र नफेरियोस् अब उता यो वर्ष नौलो हुँदा ३

सारा व्याधि हटून् सधैं सहजता फैलेर जाओस् अझ
काँडा होइन फूलका अवनिमा माला बनून् सुन्दर
गाई गीत चरा गरा र छहरा हाँसून् खुलाई मुख
पात्रो मात्र नफेरियोस् अब उता छाओस् धरामा सुख ४

भोकाको भरिपूर्ण पेट हुन गै हाँसून् बचेराहरू
रोगीले पनि ओखती लिनु परे हून् मार्ग खुल्ला अरू
निर्धाका पुछियून् भिजे नयन ती निर्धा नहून् लङ्गडा
पात्रो मात्र नफेरियोस् अब उता यो वर्ष नौलो हुँदा ५

छन्द-शार्दूलविक्रिडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *