तिमी आउँछ्यौ हैन?

डिल्ली राम रेग्मी 
ओहायो, अमेरिका

सुन—
तिमी आयौ भने थाहा पाउनेछ्यौ
कति धेरै कुरा अझै बाँकी छन् गर्नलाई
केही मेरा बारेमा, केही तिम्रा बारेमा
र धेरै—हाम्रो बारेमा।

ती एक–एक पल
जो मैले तिमीबिना बिताएको छु
मैले जोडेर राखेको छु—
कुनै पुरानो डायरीका
धुँवा लागेका पानाहरूमा।

यस पटक आयौ भने, कसम !
म तिमीलाई जान दिन्न।
तिम्रै छेउमा बस्नेछु
र खुलाउनेछु सबै पोल
जुन तिम्रै बारेमा हुनेछन्।

मलाई दह्रोसँग अङ्गलोमा बाँध्नू
तिमीलाई थाहा छ–
कुरा गर्दा–गर्दै
म रोइदिन सक्छु ।

वर्षौँ बितिसक्यो
तिमीसँग भेट नभएको
हिजो जस्तै लाग्छ भन्न पनि सक्दिन।
मनमा तिम्रो माया अत्यधिक छ
तर तिमी छैनौ—
मन थकित छ।

यी सबै कुरा
कागजले कति समेट्ला र?
त्यसैले
यो चिठ्ठीले तिमीलाई डाक्दै छु—
भन न
तिमी आउँछ्यौ हैन?

तिमी आयौ भने बुझ्नेछ्यौ
कति कुरा बाँकी थिए भन्नलाई।
पक्का आऊ है।

आयौ भने, थाहा पाउनेछ्यौ—
मेरो मनोबल
मन्द भएर बिझाइरहेको छ आजकल मलाई ।
र तिमीलाई यो पनि भन्नुछ—
आजकाल
ईश्वर मेरै नजिक सुत्छ
चुपचाप
म जता-जता फर्कन्छु
त्यतै-त्यतै मेरो अनुहार अघि आउँछ । 

उसलाई हेर्दा-हेर्दै
मेरा आँखा धमिला हुन्छन्
मानौँ कुनै गहिरो निद्राले
मलाई छोपिरहेछ।

म निदाउन लागेपछि
मन्द मुस्कानसहित
ऊ मलाई सोध्न्छ—
“आजसम्मको कहानी कस्तो लाग्यो?”
उसको आवाज यस्तो लाग्छ कि
मानौँ यो रात
मेरो अन्तिम रात हो।

म आँखा पुरै खोल्छु
र उसका आँखामा नियाल्छु—
ती आँखाहरूमा म
धेरै कौतुहलता देख्छु
धेरै बेचैनी देख्छु
र अलिकति अन्जान डर देख्छु। 

म  फेरि आँखा बन्द गर्छु,
मानौँ
उसले मलाई देखेकै छैन। 

म चाहन्छु
कुनै दिन
म उसको छेउमै गएर सुतौँ 
र शान्त आवाजमा सोधौँ—
“मेरो अभिनय कस्तो लाग्यो?”
तर यस्तो कुरा
कागजमा कहाँ समेट्न सकिन्छ र ?
त्यसैले
यो चिठ्ठी, यो गुहार
तिमीलाई पठाउँदै छु
भन न,
तिमी पक्का आउँछ्यौ हैन?

तिमी फेरि आयौ भने
थाहा पाउनेछ्यौ
तिमी आएकी थियौ जसरी पहिला
“अलिअलि” को रङले मेरो जीवनचित्र रङ्गाएकी थियौ।
मेरा लुकाइएका दृष्टिहरू
अधुरै रहँदा
झन् धेरै बोलेका स्वीकृति र मौनताहरू
जसले शब्दभन्दा गहिरो वेदना पोखेका थिए
तिमीसँग।

अनि एक दिन
एक्कासी
कुनै उद्घोषबिनै
तिमी बिदा भएकी थियौ—
न आरम्भ
न समापन
मात्र एउटा वियोग
जो चीरकालसम्म मलिन चिहानजस्तै बाँचिरह्यो ममा !

यस्ता अनेक कुरा
तिमीलाई सुनाउनुछ
भन न
यसपालि पक्का आउँछ्यौ हैन……?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *