अनुभूतिका क्यानभासमा दार्जीलिङ भ्रमण
शिवलाल दाहाल
धेरै वर्षदेखिको एउटा सपना थियो दार्जेलिङ् घुम्ने यसपालि पूरा भयो । रहर गरेर मात्र कहाँ हुँदोरहेछ र मनभित्रको धोको पुर्याउन समयनै आउनु पर्दोरहेछ । हुन त एक हुल साथीहरुसंग दार्जेलिङ जाने हाम्रो योजना थियो तर अन्तिममा आएर अधिकांश साथीहरुले यो वा उ कारण जनाउँदै जान नसक्ने अभिव्यिक्ति दिए । तथापि मित्र भिम ढकाल र मैले हाम्रो योजनालाई तिलाञ्जली दिन सकेनौं । तसर्थ फाल्गुण ५ गते, (वि.सं २०६८) दिउँसो दुई बजे विर्तामोडबाट हामीले यात्रा आरम्भ गर्यौं ।
विर्तामोडबाट भारतको सिल्गडी पुग्दा बेलुकीको झण्डै ४ बजी भइसकेको हुनाले खर्साङ् जाने गाडी पाउन निकै धौ धौ पर्यो । वल्लवल्ल साविकको भन्दा दोब्बर भाडा तिरेर एउटा सानो चिल्लो गाडीमा चड्यौं । उकालो बाटो, घुम्ती नै घुम्ती, कहिले कंही मिथीबाट झर्ने गाडीसंग पो ठक्कर खाने हो कि भने जस्तो लाग्ने, मन झसङ्ग–झसङ्ंग हुँदाहुदै खर्साङ् पुगेको पत्तै भएन । समयले पो डाँडो काटी सकेको रहेछ मानौ एउटा सिङ्गै दिन फर्काएर ल्याऊँ जस्तो । सबभन्दा पहिले हामीले त्यहाँ बास बस्ने चाँजोपाँजो मिलाउनु थियो । हामी सहर वरपर घुमेर सस्तोमा बास खोज्न लाग्यौं –होटलमा । धेरै बेर पछि एउटा होटलमा रु ५०० मा एउटा गन्धे कोठा फेला पर्यो । जे भए पनि हामीले त्यही होटलमा बस्ने निधो गर्यौं । भोलिपल्ट बिहान ६ बजी त्यहाँबाट खर्साङ्को प्रसिद्ध टावर र त्यस नजिकैको इगलक्र्याक भन्ने डाँडामा दृश्यावलोकन गर्न लाग्यौं । हामी त्यहाँ पुग्दा एक जोडी विदेशीहरुसंग भेट भयो । परिचयका क्रममा उनीहरुले जर्मनेली नागरिक भएको बताए । हामीले छोटकरीमा नेपालबाट आएको भन्यौं । ती जर्मनेली नागरिकहरुसंग केही छिन कुरा भयो । हामीले नेपाल पनि भ्रमणप्रियहरुका लागि एक गन्तव्य स्थान भएको बतायौं । यसपालि विदा कम छ अर्को साल हेरौ–उनीहरुको कथन थियो । त्यसपछि ती दुई मध्येका एकले भने “के एक समय दार्जेलिङ् पनि नेपाल थियो ?” हामीले संक्षेपमा इतिहासको कुनै कालखण्डमा नेपालको भूभाग पूर्वमा टिष्टा र पश्चिममा कांगडासम्म फैलिएको थियो भन्यौं । त्यो अग्लो डाँडाबाट विहानीपख निकै राम्रो दृश्य देखिँदोरहेछ–पहाडी भूमि, नागवेली परेका डाँडा, कतै गहिरो खोँच,कतै अग्ला डिस्कना, कतै चियाबारी–हरीयाली, साँच्चैनै विचित्रको भू–बनोट । ती टाडाबाट आएका विदेशीहरुले कस्तो अनुभूति गरे भनेर हामीले उनीरुलाई सोध्यौं । उनीहरुको छोटो जवाफ थियो “औधि राम्रो”।
त्यसपछि फेरि हामी बजारतिरै फर्कियौं । बिहानको चियाखाजा खाए पछि डियारपार्क हेर्न भनेर उकालो चड्यौं । उकालो जाने बाटो निकै घुमाउँरो र समय लाग्ने भएकाले बीच–बीचबाट छड्के हान्दै उकालो चड्यौ मानौ ती बाटाहरु चीर परिचित थिए । जति जति उकालो उक्लिँदै गयो उति रमाइलो लाग्ने, राम्रा राम्रा दृश्य देखिने । उकालो बाटो हिँड्न गाह्रो हुन्छ होला भन्ने सम्झेको त कहाँ हुँदोरहेछ– सायद एउटा अज्ञात मोहनी थियो हामीलाई तान्ने, उत्साह र रोमाञ्च भर्ने । धेरै माथि पुगेपछि अङ्ग्रेजहरुका पालामा बनिएको एउटा पुरानो ऐतिहासिक भिक्टोरीय विद्यालयमा पुगियो । त्यसका तल्ला पट्टि एउटा नकै ठूलो खेल मैदान रहेछ । केही छिन त्यो ऐतिहासिक स्थानमा बसेर एक एक बोरा पानी भूडीँमा भरी हामी हाम्रो गन्तव्य स्थान डियरपार्क तर्फ लाग्यौं । डियरपर्क निर्माणाधीन रहेछ– श्रमिकहरु निर्माणमा व्यस्त देखिन्थ्ये । त्यहाँ विशेष वन्यजन्तु राखिएको रहेनछ मात्र केही मयुरका प्रजाति, हुचिल, अर्ना र मृग देख्न पाइयो । भविष्यमा जनावरहरुको प्रजनन् र संरक्षण केन्द्रका रुपमा विकास गर्ने त्यस मृग–उद्यानको उद्देश्य रहेछ । त्यसपछि मृगकै वेगमा भने जस्तो हामी खर्साङ्को मुख्या बजार झर्नलाई ओरालो हुँइकियौं । बजारमा आईपुग्दा दिउँसोको ११ बजी भइसकेको थियो ।
त्यहाँको एक होटलमा खान खाएर गिद्धेपहाड हर्न गयौं । सर्वप्रथम हामीले भारतीय स्वतन्त्रता संग्रामका एक महान योद्धा नेताजी सुवासचन्द बोस स्मृतिगृह अवलोकन गर्यौं । नेताजी सुवासचन्द्रबोसको जीवन–चरित्र दर्शाउँने अनेक चित्र, चिठीपत्र, उनका भाषणको अभिलेख आदि राखिएको रहेछ –केही क्षण हेर्यौं, केही पढ्यौं र घर बाहिर निस्किएिर क्यामीलीयको वृक्ष (जो सुवासचन्द्रवोसका दाजु शरदचन्द्रवोसले सन् १९३४ मा रोपेको भनेर लेखिएको रहेछ ) समीपमा रहेर फोटो खिच्यौं । यसरी झण्डै ८० वर्ष अघिको वृक्षको सामिप्यातामा उभिएर फोटो खिच्दा लाग्यो हामी इतिहासको त्यो कालखण्डमा उभिएका छौं जहाँ सुवासचन्द्रवोस, नेहरु, लोक्मान्य तिलक, गान्धीहरु अंग्रेज शासनबाट भारतभूमिको मूक्तिका लागि लडिरहेका छन् । अनि नरमाइलो पनि लाग्यो त्यही संसारको सबभन्दा ठूलो लोकतन्त्रको हिमायती मुलुक भारत किन एक लाखभन्दा बढी भूटानीहरुको पीडा र चित्तकार सुन्न कहिल्यै तयार भएन ? उतिखेरको आफ्नो भूमिमा अरुले शासन गरेको देख्न नसक्ने भारत आज किन लाखौं मानिसलाई पुस्तौ–पुस्तादेखि बसिआएका ठाउँबाट जरोकिलो लगाएर खेद्दा पनि चुपचाप लागेर बसिरहेछ ? कस्तो विडम्वना !
फूलहरुको बगैँचा त तपाईँहरुले सुन्नु भएकै छ तर, यहाँ म तपार्इँहरुलाई ढुङ्गाको बगैँचामा डुलाउन चाहन्छु जहाँ एक प्रेम जोडी तपार्इँहरुले भेट्न पाउनु हुनेछ । अहिले म खर्साङ्को गिद्धे पहाडमा गत फाल्गुण ६ गते देखेको एक दृश्यको शब्दचित्र तपाईँहरुलाई पेश गरिरहेछु । प्रकृति जति सुन्दर शिल्पी अरु कोही छैन । प्रकृतिको शिल्पकला हामी हरेक कुरा देख्न सक्छौं । त्यो शिल्प, त्यो कला अद्भूत छ, अनन्त छ । त्यो शिल्प फूलहरुमा छ, माटोमा छ, पाखा पखेरामा छ , घाम–जूनमा छ , हामीले जे–जे देख्छौं र अनुभूत गछौं ती हरेक कुरामा छ । ढुङ्गाको बगैँचामा पनि प्रेमका फूलहरु सहसा फूल्दारहेछन् । ढुङ्गाको बगैँचामा प्रेमका अनन्त आग्रहहरु साट्न आएका रहेछन् –उनीहरु । गिद्धे पहाडमा नेताजी सुवास चन्द्र वोसको स्मृतिगृह अवलोकन गरेर हामी ढुङ्गे बगैँचातर्पm लागेका थियौं मध्यदिन तिर । मोटरबाटो छोडेर यसो उदो लागेका मात्र के थियौं मेरा आँखा एकाएक ती प्रणयजोडीसम्म पुगेर अडिए । एउटा सानो विसाउँनी, प्रियसीको निधारमा रातो टीका, गहुँगह्रो वर्ण, अनुमानित २० वर्षे जवानी । एकान्तमा प्रेमालाप गरिहेका प्रेमी सहसा उठे र प्रियसीलाई अंगालोमा बाधे अनि मायाका स्पर्शहरु साट्न लागे । हामी उनीहरु सम्मुख पुग्दा उनीहरु समालिई सकेका थिए । विवाह गरेको पहिलो वर्ष मैले रनुलाई साथमै लान नसकिरहेको बेला त्यो दृश्यले मन त बरालिनुसम्म बरालिएछ । एकाएक मैले रनुलाई संझें र उनलाई धेरै ‘मिस’ गरेको अनुभूत गरेँ । हामी एउटा ठूलो ढुङ्गामा चड्यौ र कही छिन प्रकृतिका अनुपम दृश्यहरु हेर्न लाग्यौं । त्यहाँबाट उँधो हेर्दा औधी राम्रो दृश्य देखिँदोरहे छ– स–साना थुम्काहरु, खोल्सीहरु, चियाका बुटा, रुख विरुवा र अन्य बुट्यानहरु । उभो हेर्दा ढुङ्गै–ढुङ्गाको पहरो । सायद त्यसै भएर भनिएको होला ढुङ्गाको वगैँचा । मानौ ती प्रणय जोडीहरु त्यो एकान्त ढुङ्गे वनमा फुलेका सुन्दर गुलाफहरु हुन्, एक जंगली फूलका थुँगाहरु हुन् । कहिले एउटा थुँगो हावामा वहेली खेल्दै अर्को थुँगाको छातीमा गएर ठोकिन्थ्यो, कहिले दुवै थुँगाहरु एकै साथ हावा नर्तन गर्थे । त्यहाँ प्रणय छताछुल्ल भएर पोखिएको थियो पाखाभरि अनि घामका अनन्त किरणसंगै मनका फाँटभरि । कति हेरे पनि जंगली फूलहरु हेरेरै नअघाउने, फर्केर निकै टाडासम्म पुगिसक्ता पनि मेरा आँखाहरु तीनै जंगली फूलहरु खोजिरहेथे, पछ्याउन छाडेको छैन अझै पनि ती जंगली फूलहरुले ।
अब रक्गाड्यानबाट जौ है त पहाडकी रानी भनेर परिचित दार्जीलिङ् नगरीतिर । दिउँसोको एक बजी भएको हुँदो हो खर्साङका अनेक दृश्य, चित्र र स्मृतिहरु आँखाभरि, मनभरि, मस्तिस्कभरि बोकेर, मित्र भिम र म दार्जीलिङ् लाग्यौं । दार्जीलिङ् पुगेर सबभन्दा पहिले हामीले पि.सि.ओ खोजेर हिमालयन दर्पणका सम्पादक आदरणीय दाजु विमलराईलाई फोन मार्फत हामी आएको जानकारी गरायौं । पि.सि.ओ खोज्न पनि निकै कसरत गर्नु पर्यो, कारण मोवाइल फोनको प्रयोगले पि.सि.ओ पूरै विस्थापित भइसकेछ । विमलज्यूलाई उहाँकै कार्यकक्षामा भेट गर्न पुग्यौं । अत्यन्तै हार्दिकता र स्नेह साथ उहाँले हामीलाई स्वागत गर्दै चिया मगाउँनु भयो । त्यसपछि एकजना भरखरका, फुर्तिला पत्रकार छिरिङ् शेर्पाज्यूसंग हाम्रो परिचय गराइदिनु भयो । मित्र छिरिङ् शेर्पाज्यूले हाम्रा लागि होटल ब्लु डाइमण्डमा बस्ने व्यवस्था मिलाइदिनु भयो । केही क्षण चिया पिउँदै आत्मीय गफ गर्यौं । त्यहाँबाट होटलतर्फ लाग्न आँट्ता दाजु विमलराईज्यूबाट केही परेमा छिरिङ् र आफूलाई फोन गर्नु भन्ने सुझाउँ पायौं ।
होटलमा आफ्ना सामान थन्क्याएर हामी दार्जीलिङ्को चौरस्ता घुम्न निस्कियौं । चौरस्तामा मानिसहरुको निकै ठूलो चहलपहल देख्न पाइयो र कोही कोही घोडामा सवार गर्दै रमाइलो गरिरहेका पनि पाइयो । मेरो ध्यान भने त्यहाँ रहेको कवि भानुभक्तको पूर्णकदको शालिकमा गयो । त्यसमा, दार्जीलिङ्बासीको नेपाली जातीय कवि भानुभक्तप्रतिको श्रदा स्पष्ट झल्किन्थ्यो । कवि भानुभक्तको प्रतिमामा शिर झुकाएर हामी त्यहाँबाट नाइटिङ्गल पार्क हेर्न त्यसतर्फ लाग्यौं । केहि क्षण ओरालो झरे पछि एउटा पुरानो चर्च घरमा पुगिँदो रहेछ । सन् १८४३ मा निर्माण गरिएको र सन् १८७३ मा पुनर्निर्माण गरिएको उक्त चर्चको नाम रहेछ –सेन्ट एन्ड्र्यामस् चर्च । त्यसभित्र पस्ने प्रबन्ध मिल्नसकेन तथापि बाहिर उभिएर एक दुईवटा तस्विर खिचायौं र त्यहाँबाट पनि ओरालो लाग्यौं । केही क्षणको हिँडाइपछि भारतका एक प्रसिद्ध विद्वान— महापण्डित राहुल सांकृत्यायनको अर्धकधको सालिक देख्न पाइँदोरहेछ । ती दार्शनिक, महाविद्वान, स्वतन्त्रता संग्रामी, र हिमालय यात्रीको देहावसान सन् १९६३ मा दार्जीलिङ्मै भएको रहेछ । त्यसता महान विद्वानको सालिक समीपसम्म पनि पुग्न पाउँदा छाती गर्वले फुल्दोरहेछ । त्यसपछि नाइटिङगेल पार्कमा पुग्यौं त्यहाँ एउटा आकर्षक चौरी रहेछ जहाँ सांस्कृतिक कार्यक्रमहरु हुने गर्दोरहेछ (तर त्यस दिन भने कार्यक्रम थिएन) । त्यस चौरीको माथिल्लो पट्टि एउटा मन्दिर र ठूलो शिवको मूर्ति रहेछ । संयोगले त्यहाँ शिवरात्रीको दुई दिन अघि शिवजीको दर्शन गर्न पाउनु हाम्रा लागि सुखद् कुरा नै भयो । रात पर्न लागेको हुनाले त्यसपछि फर्किए महाकालबाबाको मन्दिर दर्शनार्थ पुग्यौं । महाकाल ( शिव कै एक रुप) बाबाको दर्शन गर्न पुग्दा अँध्यारो हुनै लागेको थियो । महाकालबाबाको दर्शन पछि भोलि टाइगरहिल जाने गाडीको चाँजोपाँजो मिलाउन छिरिङजीलाई भेटेर हामी होटल ब्लु डाइमण्ड फर्कियौं ।
भोलिपल्ट राती चारै बजी उठेर टाइगरहिल जाने गाडी पक्रिन दौडियौं । टाइगरहिलका बारेमा मैले सानैदेखि सुन्दै र पढ्दै आएको हुँ । टाइगरहिलको प्रख्याति धेरेतिर फैलिएको पनि छ । दार्जीलिङ् जाने मेरो मोह एक किसिमले टाइगरहिल र त्यहाँबाट देखिने सूर्योदयको अवलोकन नै थियो । बिहान ६ बजी नभइकन हामी त्यहाँ पुगेका थियौं । सयौँ गाडी बाटामा साइड लागाएर राखिएको, वरीपरी पर्याङ (निगालो?) घारी, एउटा टावर–घर, मानिसहरुको भिडिम्भिड, केही हो–हल्ला, खासखुस, दिदी–बहिनीहरु फ्लासमा कफी बोकेर ‘कफी खानोस् है’ भन्दै हिँडेको आवाज र दृश्य, उज्यालो हुनलागेको हो कि भन्ने आभास मात्र दिने घुर्मइलो उज्यालो – टाइगरहिलको सूर्योदय अवलोकन गर्ने ठाउँमा हाम्रो प्रवेश । हजारौं मानिसहरुको भिड्मा छिर्दै पूर्व आँखा तेर्स्याएर हामी रेलिङ्को एक छेउमा अधैर्य जिज्ञासा, अनन्त व्याघ्रता र उत्कट चाहना बोकेर उभियौं । सबैका आँखा उचालिएका थिए पूर्वतिर । बिस्तारै पूर्वी आकाश उज्यालिन थाल्यो, मानिसहरु झन् रोमाञ्चित, झन् उत्साहित हुनलागे । सबलाई सूर्योदयको दृश्य कैद गर्नु छ, त्यसैले टाउका–टाउका माथि हात फैलाएर क्यामारा राखिएको देखिन्छ तयारीमा । कुहिरो भने निकै वेगमा दक्षीण पट्टिको पर्वतीय मालाबाट पूर्वतर्फ दौडिरहेको छ । हेर्दाहेर्दै कुहिराले कालो कंबल जस्तो फैलिएर पूर्वी आकाश ढाकिदियो । मानिसहरुमा देखिएको उत्साह, चाहना र स्फुर्तिमा एकाएक नैराश्य र भावशुन्यता छायो । उनीहरुका क्यामराहरु शिरमाथिबाट खसे, सबैका अनुहारमा खिन्नताको छायो । मनभरिको धोका पुरा गर्न नपाएको पीडा भए पनि हामी त्यहाँबाट भीउपोइन्ट लाग्नु थियो त्यसतर्फ लाग्यौं । त्यहाँ एउटा सानो पार्क र गोर्खा सैनिक स्मारक रहेछ । त्यसको अवलोकन गर्यौं । त्यस ठाउँबाट कञ्चनजंगा हिमालको राम्रो दृश्य देखिन्छ रे तर कुहिराले गर्दा हामीले देख्न सकेनौं । नेपाली भेषभुसामा फोटो खिच्न चाहनेका लागि दौरा–सुरुवाल, ढाका टोपी, चौबन्धी चोली आदि किरायामा पाइन्दो रहेछ । धेरै पर्याटकहरु यसरी फोटो खिचाउँदै रमाइलो गरिरहेको देखिन्थ्यो ।
टाइगरहिलमा मात्रै होइन त्यहाँ पनि हामीले निरास हुनु पर्यो । त्यसपछि हामी ड्रुकसानाङ्छोलिङ् मोनाष्ट्रीतर्फ लाग्यौं । त्यहाँबाट पनि दार्जीलिङ् सहर– बजार, गाउँ–बस्ती, डाँडा–काँडा, भञ्ज्याङ्–चौतारीको दृश्य देख्न पाइँदोरहेछ । केही क्षण त्यहाँ बस्यौं र दृश्य–अवलोकन तथा भगवान बुद्धको दर्शन गरेर फर्कियौं ।
त्यहाँ एउटा सानो पार्क र गोर्खा सैनिक स्मारक रहेछ । त्यसको अवलोकन गर्यौं । त्यस ठाउँबाट कञ्चनजंगा हिमालको राम्रो दृश्य देखिन्छ रे तर कुहिराले गर्दा हामीले देख्न सकेनौं । नेपाली भेषभुसामा फोटो खिच्न चाहनेका लागि दौरा–सुरुवाल, ढाका टोपी, चौबन्धी चोली आदि किरायामा पाइन्दो रहेछ । धेरै पर्यटकहरु यसरी फोटो खिचाउँदै रमाइलो गरिरहेको देखिन्थ्यो ।
बिहानको खाना खएर हामी एउटा कार रिजब गरेर पहिले बजारको पूर्वतिर रहेको सेन्ट पावल स्कुल अवलोकन गर्न गयौं । अंग्रेजहरुका पालामा ढुङ्गा काटेर-कुँदेर बनाइएको उक्त स्कुल निकै आकर्षक रहेछ । त्यो तत्कालीन समयको वास्तुकलाको एउटा सुन्दर नमुना हो जस्तो लाग्यो मलाई । हिन्दीको एउटा चर्चित फिल्म ‘मैं हुँ ना’ छायाङ्कन भएको त्यो स्थानमा पुग्ने मित्र भिमको अघिल्लै दिनदेखिको आग्रह थियो ।
त्यहाँ पुगेर फोटो खिचाउन पाउँदा उनी निकै हर्षित भए । फिल्मप्रति उनको ‘क्रेज’ धेरै नै रहेछ भन्ने कुरा मैले त्यहाँ थहा पाएँ । त्यस पछि हामी जाप्नीज टेम्पल गयौं । पखामा बनाइएको जाप्नीज टेम्पल निकै राम्रो लाग्यो । त्यस स्तुपाको वरपरी भगवान बुद्धको जीवनगाथा व्याक्त्याउने अनेक चित्रहरु ढुङ्गामा खोपेर बनाइएको रहेछ । अरु पर्यटकहरु झैँ त्यहाँको शान्त, सुन्दर र रमाइलो वातावरणमा केही क्षण लीन भयौं । त्यसपछि एभादेवी आर्ट ग्यालरी जान हामी त्यहाँबाट हिंड्यौं । जाप्नीज टेम्पलदेखि एभादेवी आर्ट ग्यालरी पुग्न पाँचसात मिनेट पर्दोरहेछ गाडीमा । वङ्गाली परिवारमा जन्मिएकी एभादेवीले धागोले कपडामा बनाएका कलात्मक चित्रहरुको प्रदर्शनी कक्षा रहेछ त्यो आर्ट ग्यालरी । ती चित्रहरुको सजीवता र सुन्दरता देख्ता लाग्छ मानिसले नै बनाएको हो वा प्रकृतिको नै सृष्टि । ‘द स्मोकर’, ‘टर्चर’, ‘स्टिल स्टोङ्’ जस्ता चित्रमा देख्न पाइन्छ एभादेवीको कलाको अनुपम नमुना । ती चित्र हेरेपछि कला कला नै हो, त्यसको वैशिष्टया हामीले सोचेको भन्दा धेरै नै महिमान्वित र श्रेष्ठ छ भन्ने मलाई लाग्यो । ती सुन्दर र महंगा चित्रहरु पोस्टकार्डमा पनि छापिएका रहेछन् ; सम्झाउने–बिर्साउने केही पोस्टकार्ड किनेर हामी त्यहाँबाट फर्कियौं । त्यसपछि धीरधामकै छेउमा रहेको रेल्वे स्टेसनमा हामीलाई छोडेर गाडी फर्कियो । नेपालका तत्कालीन श्री ३ जुद्ध समसेर राणाले धीर समसेरका नाममा दार्जीलिङ् भेगका मानिसहरुको परापूर्व कालदेखि आएको भगवान शिवप्रतिको भक्ति नटुटोस र सधैँ आशुतोस भगवान शिवको करुणामृत पाइरहन सकून् भन्ने उद्देश्य राखी उक्त शिवालय (मन्दिर) वि.सं.१९९५ निर्माण गरेका रहेछन् । धीरधामको दर्शनछि हामी फर्किएर बिग बजार नजिकको हामी बसेको होटलमा गयौं ।
त्यसपछि पैदलै हामी पद्मनाइडु हिमालइन जुलोजिकल गार्डन तथा हिमालयन् माउन्टेनरिङ् इन्स्टिटियुट हेर्न गयौं । त्यो जनावरहरुको सानो संसारमा बाघ, भालु, घोरल, धार, मृग, रातो पान्डा, जरायो आदि जनावरहरुलाई कज्याएर राखेको देख्न पाइन्छ । मानव वस्तीको विकास, विस्तार तथा जंगल विनास हुँदै गएको परिपेक्षामा वन्यजन्तु संरक्षणको अवधारणा विकास नहुँदो हो त हामीले आज कहाँ यी प्रकृतिका अनुपम उपहार देख्न पाउँने थियौं । यी विभिन्न थरीका वन्यजन्तु हेरेर हामी माउन्टेन मिउज्याम भित्र छिर्यौं । हिमालमा चड्ने, आफ्नो वीरता र साहस देखाउनेहरुको आफ्नो छुट्टै विचित्रको संसार हुँदोरहेछ –त्यहाँ राखेका हिमाल चड्नेहरुको तस्वीर, साहसिक जीवनगाथा र हिमाल आरोहणमा आवस्यक अनेक उकरण आदिले त्यही बताइरहेको थियो । हिमाल आरोहणको इतिहास हेर्न र बुझ्न मात्रै होइन, आरोहण तालिम लिन समेत त्यहाँ पाइँदोरहेछ । मानिसले आफ्नो सपना पुरा गर्न जीवनकै वाजी लगाउँदारहेछन् भन्ने कुरा त्यहाँ राम्रोसंग बुझ्न सकिन्छ ।
त्यसपछि पनि हाम्रो यात्रा रोकिएन–लाग्यौं सेन्टजोसेफ कलेज तर्फ । सेन्टजोसेफ कलेजको नाम धेरै अघिदेखि सुनेको र हेर्ने ठूलो इच्छा थियो । ओरालो झर्दै जाँदा निकै माथिबाट नै एउँटा सुन्दर र भव्य भवन आँखामा छायो –त्यही रहेछ सेन्टजोसेफ कलेज । भारतीय सरकारी नोकरीका लागि परीक्षा भइरहेको हुँनाले त्यहाँ भित्र पस्न पाइएन । त्यसको नजिकै रहेछ सेन्ट जोसेफ स्कूल त्यस्तै भव्य र कलात्मक । मित्र भिमको घिर्लिङ्मा चढ्ने उत्कट चाहना थियो त्यहाँ पुग्दा त्यो दिन मरमत गर्नु पर्ने भएकाले बन्दरहेछ । उनी धेरै खिन्न भए मैले पछि मनोकामना जाँदा चढ्नु भनेर थुम्थुम्याएँ । त्यसपछि बेलुका हुनलागेको हुँनाले फर्र्किएर चौरस्ता नजिक रहेको देशवन्धु ऐतिहासिक मिउजियम अवलोकन गर्न दौडिएर पुग्यौं –समय बितिसकेको हुँदा बन्दभइसकेको रहेछ । लामो पैदल यात्राले थाकेर निकै अधिदेखि मित्र भिम बिसाउँ अब नहिडौं भनिरहेका थिए । म नथाकन्जेल उनले पनि दौडिरहनु पर्यो –साथीको सारमा । त्यसपछि भने मनमा केही असन्तुष्टि भएर पनि प्रसन्नताको भारी बोकेर होटल फर्कियौं ।
दिनभरिको हिँडाइले थाकेर कोठामा पल्टिरहेका थियौं एकासी दैलो ढक्ढक गरेको आवाज आयो । ढोकामा हुनुहुँदोरहेछ –दाजु बिमल राईज्यू । हामीलाई भेट्न अफिसको काम छेट्याएर भए पनि आइपुग्नु भएछ –साह्रै खुसी लाग्यो । गफका क्रममा मैले यहाँ प्रायः क्रिस्चियन स्कूल रहेछन् नि होइन ? भनेर जिज्ञासा राखेँ । उनी पनि क्रिस्चियन, मेरो भनाइको आशय उनलाई अलिक चित्त बुझेन छ कि के हो उनले भने, “अंग्रेज र क्रिस्चियनहरु यहाँ नआएका भए आज पनि दार्जीलिङ अन्धकार हुने थियो । यहाँ रहेका विकासका महत्वपूर्ण पूर्वाधारहरु –रेल्वे, स्कूल, हस्पिटल, सडक आदि अंग्रेजहरुकै पालामा बनिएका हुन् । मात्र त्यसमा केही थप भएका छन् ।” हुन पनि दार्जीलिङको वर्तमान स्वरुप हेर्दा अंग्रेजहरुले दार्जीलिङबाट धैरे लिएर जानुभन्दा पनि धेरै दिएर गएछन् जस्तो लाग्छ । त्यहाँ स्कूल निर्माण गर्दा अंग्रेजहरुले डाँडाको धार–धार रोजेको कुरा पनि उनले बताए । केही क्षणको गफगाफ पछि उनी फर्किए । हामीले उहाँले पुर्याउनु भएको सहयोगका लागि आभार व्यक्त गर्यौं । बेलुका केही किनमेल गर्यौं र बिहान चाडैनै मिरिकतर्फ लाग्यौं । फाटकदेखि उँदो लागेपछि चियाबगानको साच्चै राम्रो दृश्य देखिँदोरहेछ । त्यहाँ रहेको पोखरी, गोम्बा र रेडकटेज सल्लोवन र उन्यौंघारी घुम्यौं, हेर्यौं र दिनको दुई बजीतिर हामी त्यहाँबाट नेपालतर्फ लाग्यौं । मैले दार्र्जीलिङलाई सतहमा दुई दिनको भ्रमणलाई केन्द्रित गरेर लेखेँ । यसको भित्री रहस्य भिन्नै सही, तर मैले देखेको दार्जीलिङ त्यसको सबै सजीवता र सुन्दरतासहित सधैँ मलाई पछ्याइरहन्छ ।
लेखन: फाल्गुण, २०६९