“अन्तर्मनको यात्रा” पढेपछि

लेखिका

भारती गौतम,
बोस्टन अमेरिका

“विषाद गीत सवभन्दा मीठो हुन्छ रे। म मेरो जीवनको त्यही विषाद गीत गाउदै छु”।

अन्तर्मनको यात्रा भित्र लेखकका एक से एक उधृतयोग्य वाक्यमा मैले उक्त वाक्य वढी मन पराएं, यो वाक्य लाई कितावको समष्टी मानेकि छु मैले।
अगष्टको अन्तिम साता को शनिवार मैले एकजना नजीकका साथीको घरको दराजमा राखेका भर्खर नेपालवाट ल्याएका चर्चित कितावहरुको माझमा पाना नै पल्टाउन वाकी नयां खैरो भूमीमा सेता र पहेला अक्षर को गाता भएको “अन्तरमनको यात्रा” देखे पछि मैले “यो किताव एक हप्ता भित्र फर्काउने शर्तमा मलाई पढ्न लैजान दिनु हुन्छ”? भनेर सोधें। उहांले हुन्छ भन्ने बित्तिकै भोलि पल्ट विर्सिन्छ भनेर त्यसै रात मेरो नयां कोच ब्यागमा त्यो किताव कोचिसकेकी थिएं। कहिले उज्यालो हुन्छ र ती साथीहरु संग बिदा भएर गाडीमा दुई घन्टा लामो ड्राईभमा त्यो किताव पढ्नु भनेर हत्तारिन थालेकी थिएं।यसो किताव सुम्सुम्याएर यसै फरर अगाडी देखि पछाडीको पेज सम्म बेलुकै पल्टाएं, अक्षर एउटा पनि पढिन। लामो बाटोको गाडी हांक्ने काम सधै श्रीमानले गर्ने हुदा प्यासेन्जर सीटमा बस्ता मलाई प्रसस्त समय हुन्थ्यो,तर किताव पढ्दा कहिले काही रिंगटा पनि लाग्ने हुन्थ्यो। रिंगटा लागे पछि वरु छोडौंला भनेर कितावको केहि अंश वाटैमा पढ्ने मेरो आंट थियो।

साथी द्वय कमल उपाध्यायजी र उहाकी पत्नी आशा संग “बाई” भनेर बिदा भएर गाडी सडकमा सोझिनु अघि नै मेरो काखमा अन्तर्मनको यात्राका पाना पल्टिन थालि सकेका थिए। कनेक्टिकटवाट वोस्टनको वाटो गर्मी महिनामा वरीपरीका मेपल र ओकका रुखको हरियालीले झपक्कै हुन्छ,पात झर्ने बेलामा तीनै हरिया पातहरु राता र पहेला रंगले रंगिने गर्छन्, अनि हिंउ परेको बेला ती पातहरु नभए पनि हिउंले सेतै नुहेका हांगा देख्ता त्यो वाटो यताकै दुलही जस्तै आकर्षक हुने गर्छ। त्यो बाटोको ड्राईभीङ कुनै पनि मौसममा दिक्क लाग्दो हुदैन। आज मेरो काखमा रहेको अन्तर्मनको यात्रा ले गर्दा कनेटिकट् देखि वोस्टन सम्मको यो बाह्य दृष्यावलोकन को मैले परवाह गरिन।

कितावको पहिलो पानामा नै पुस्तक आठौं संस्करणमा पुगेको उल्लेख गरिएको रहेछ, यसले किताव पढ्ने हतार बढाएको त थियो नै तर आफ्नो हातले पहिलो पटक छोइएको र आंखाले पनि पहिलो पटक देखिएको यो किताव को आठौं जन्म भैसकेको तथ्यले आत्मग्लानी र शरम लागेको थियो। शताव्दीको चौथाई प्रवासमा विताउदा आफ्नो घर आंगन,आफ्नो छर छिमेक र आफन्तका मन भित्र वाट समेत टाढिनु परेका थुप्रै उपहारहरु मध्ये मुलुकमा सिर्जित यस्ता यस्ता अमूल्य निधि को ताजा स्वाद वाट बंचित हुनु पनि हो। भूगोलको नापका अंकहरु जति लम्बिए पनि, समयका चोईटाहरु जति चुलिए पनि प्रवासको वासको लम्वाईले मनको निकटता लाई अरु छोट्याउदै जाने हुदा ताजापन गुमाउन थालिसकेका यस्ता अमूल्य निधि को स्वाद लिंदा खोकुको सुन्तला विराटनगर मा खाए जस्तो अनुभव हुदो रहेछ। ईन्टरनेटको माध्यमवाट पढिने समाचारका हेडलाईनहरु(धेरैजसो त यति मात्र नै हेर्ने गरिन्छ), आउने जाने मान्छेवाट यदाकदा सुनेका चर्चाहरु,आफन्त संग गरिने फोनकलहरु बाट जम्मा पारिएका टुक्रा जोडेर निर्मित स्वदेश यात्रा ईन्टरनेटको पर्दामा देखिएको फोटोमा लगाईएको दशैंको टिका जस्तो मात्र हुदो रहेछ।

आठौं संस्करणमा आई सक्ता सम्म कितावको नाम नै नसुनेको त हैन, तर यसो कुनै पत्रिकाको कुनै समाचारमा कुनै वेला पढियो पनि होला र कसैले दुईचार जनाले यसवारे गरेको चर्चा पनि सुनियो होला तर दृष्यवाट टाढिए पछि मनमा पनि वसिनरहने भएर होला त्यो समाचार दिमागको तल्लो तहमा त्यसै छोपियो होला। अकस्मात पुस्तक देखे पछि पहिले सुनेका तथ्य ताजा भएको होला।

अन्तर्मनको यात्रा देख्ने बित्तिकै पढ्न मन लाग्नका कारणहरु मध्ये यसले पाएको चर्चा परिचर्चा, यो किताव लेख्ने मान्छेको पृष्ठभूमी , परदेशमा वसिराखेकोबेला घरवाट आएको कोसेली भनेर, अनि अमेरिकी राजनीतिक ईतिहासको महत्वपूर्ण अध्यायको आखिरी परिच्छेदको रुपमा रहेका सिनेटर एडवर्ड(टेड)केनेडीको “व्रेन ट्युमर” बाट अघिल्लो हप्तामात्र भएको देहावसानको आदीको अतिरिक्त व्यक्तिगत कारण हैन भनेर म चोखिन चाहन्न।
अन्तर्मनको यात्राका स्रष्टा जगदीश घिमिरेलाई मैले व्यक्तिगतरुपमा चिनेको छैन, कुनै समारोहमा देखेको भए पनि त्यो आज भन्दा २५ वर्ष अगाडी हुनु पर्छ,त्यस्तो टाठो संझना छैन। इन्टरनेटको माध्यमवाट नेपाल पत्रिका पढ्न पाईन थाले पछि उहाको स्तंभ “चेतना भया” पढ्न थालेको हो। उहांको साविति उपन्यास सुनेको हो, मेरा श्रीमान (शिव गौतम)ले पढेको र मनपराएको बेला बेला उल्लेख गर्नु भएको हो तर मैले अहिले सम्म पढेको छैन। तर दुर्गादिदीलाई मैले देखेकी छु, उहांको वारेमा धेरै सुनेकी छु, उहिले म स्कूल पढ्दा धनकुटा कचिडेमा मैले उहालाई मेरो कुनै नातेदारको को घरमा देखेको हो। लुगा त सारी लगाउनु भएको थियो कि कुर्ता सुरुवाल के लगाउनु भएको थियो विर्सिए, तर कालो चश्मा लगाएर राजनीतिक मान्छेले गर्ने जस्ता देश वनाउने कुरा जोशिलो र शाहशिलो स्वरले गरेको सुन्दा आफूले सुनेकी र आदर गरेकी त्यस्तै राजनीतिक महिला ईन्दिरा गान्धीको झझल्को आएको थियो।उहांले वोलेको पनि नेताले भाषण गरेको जस्तै लागेको थियो। पछि पनि दुर्गा घिमिरे वारे , उहांको एवीसी संस्था वारे यदा कदा सुनिराखेको थियो। हुनत यो कितावको चर्चा गर्दा जगदीश घिमिरेको वढी चर्चा हुनु पर्ने जस्तो देखिए पनि यो किताव जगदीशको भन्दा पनि वढी मलाई दुर्गाको हो जस्तो लागेको छ। “जगदीशले यो कृति मेरा आंशुका मसीले लेखेका हुन्” दुर्गा घिमिरेले व्यक्त गरेको यो वाक्यले भिजेका कुनै पनि पाठकका आंखाले यो किताव भरी दुर्गा देख्‌न सक्छ। । यो कितावको जगदीश घिमिरे भनेको अलिकति दुर्गा घिमिरे, अलिकति हिमाल र जून , अलिकति राजनीति, अलिकति प्रवास को वास, अलिकति समाजसेवा, अलिकति चोभारको रमणीय घर, अलिकति साहित्य , अलिकति मन्थली आउछ। यी सवै अलिकति को थुप्रै हो यो किताव। किताव सकिदा नसकिदै मैले आफूलाई समेत जगदीश घिमिरे र दुर्गा घिमिरेको साख्खैको सदस्य मान्न थालेकी थिए। पहिले त म जगदीश घिमिरे संगै पूर्व दुई नम्बर पुगें। सुदुर पूर्वमा हुर्किन पुगेकी भए पनि काठमांडौ को नजीकको पूर्वमा भने खुट्टा नटेकी म यो किताव पढे पछि रामेछाप र मन्थली संग मेरो आफ्नो धनकुटा कचिडे संग जत्तिकै नजिकिएं। मन्थलीको तिलकेथानको टुप्पाम म पनि पुगें। त्यहांको वेसीमा पनि म पुगे। त्यहांको उत्तिस, आट, धंगेरो, शिरिष सल्ला,र चिलाउने आदिका रुखै रुख भएको वाटामा म पहि हिडे, लेखक संगै डाडा माथिको थानपति महादेव स्थानमा गएर कराएर मैले पनि वर मागें। सतीवयर, काफल, ऐसेलु, धंगेरो,किन्दुक र शीरिषको बनमा म पनि पुगें। पाकेका काफल र ऐंसेलु अनि सतिवयरको स्वाद पनि मैले लिन सकें। रमिते, लिसनपानी, केउरे पानी र ठूलो पात्लेमा गाई चराउन गएं म पनि।(२४)। तामाकोशिमा घाघी हाल्ने , गोठालाहरु संग वरिपरीको चरन घुम्ने, बेसीमा दाईं भएका ठाउमा म पनि परालका कुन्यु कुन्यु हिडें। म मन्थलीका घर छिमेकमा हरिया मकै पोलेर खान पनि पुगें। लेखक संगै म पनि तामाकोसीको प्रेममा चुर्लुम्म डुवें।

“मेरी प्रेमिका तामाकोसी उ त्यो डाडाको कातैकात बगेकी छ, नांगै सुतेकि छ। मेरो आंखा त्यसको पाउवाट थालेर त्यसको बांगो टिंगो शरीर सवै सुम्सुम्याएर सिउदो सम्म पुग्छु”(२५), मन्थलि प्रतिको मेरो अभिव्यक्ति यस्तै हुन नसके पनि म पनि मन्थलि प्रति मोहित हुन थालेकि छु। मन्थलीवाट अंकले भ्याउन नसक्ने गरी टाढा वाटै म मन्थलि पुगीसकेकि छु।

लेखकको पहिलो शिकार गौथलीको छटपट मात्र मैले देखेको नभएर जलेश्वरमा मैले पनि पहिलो पटक नौटंगी र सर्कस देखें। समयको यात्राले म पनि धेरै वर्ष पछाडि जलेश्वर को तातो हावा अनुभव गर्न थालें। मैले पनि त्यहा मनुब्राजाकी,पुष्पलाल, तुलसीलाल आदि प्रसिद्द व्यक्तित्व संग भेट गरें र लेखकले रोजेको तर धेरैले नहिडेको वाटो लागें। काठमांडौ का प्रारम्भिक दु:ख पाएका दिनहररु अनि त्यसपछिका साहित्यिक चहलपहलमा नया सडकको पिपलको वोटको वरीपरी ईश्वर बल्लभ, अम्बर गुरुङ लगायत भवानी घिमिरे, नारायण बहादुर सिंह ,हरि भक्त कटुवाल,वासु शशी सहितका साहित्यकारहरु संग अनि नया सन्देश, समिक्षा, मातृभूमी आदि पत्रिकाका सम्पादकहरुको घुईचोमा पनि पुगें। ईन्दिरा मा गएर कफी पनि पिएं।

म लेखक संग पटना पुगें,त्यहा विश्वेश्वर कोईराला भेटें,कफी हाउसमा फणिस्वर रेणु र देवेन्द्र सिंहलाई पनि भेटें। लेखकले परिवार नियोजन संघमा काम गर्दा पद्मावती सिंह,हेम हमाल, ईश्वर बल्लभ संग पनि चिनजान हुने मौका पाईयो। त्यसैगरी जाचबुझ केन्द्र,सि आर एस प्रोजेक्ट र आईपीपी एफ लन्डन सम्म पनि एउटा पाठकको नाताले म पनि पुगें। यी सवै ठाउमा म पुग्दा केहि पनि नभएको स्वस्थ लेखक संग पुगेकि थिए। यो सवै यात्रा गरुन्जेल मैले केहि छिनको लागि लेखकले लेखेको मात्र पढि राखेकी थिएं। अरु थुप्रै लेखकले सामान्य परिस्थितिमा संझिएको यात्रा डायरीको रुपमा कितावको ठूलो अंश सकिसकेपछि जव जीवन दर्शन शुरु हुन्छ अनि लेखकको लेखनीले वर्णनात्मक यात्रा डायरीका स्रष्टा वाट आफूलाई अलग्याएर दार्शनीक बन्न पुग्छन् । त्यो दार्शनिकता मा पुगे पछि म लेखक संग संगै अघि जस्तो जान सक्तिन, यो परिच्छेदमा आएर म केवल पाठक बन्न पुग्छु, एक पर्यवेक्षक बन्न पुग्छु, किन भने यहा पनि म लेखक संगै छु भनेर गरिएको दावि सहि हुन सक्तैन। लेखकका लागि यो न्यायिक पनि हुदैन। जीवन दर्शनको परिच्छेद देखि पुस्तकको अन्तिम पातो सम्म पाठकले नत लेखक संग आत्मसात गर्न सक्छ न त उनको पारिवारिक गतिबिधि संग नै। यति हुदा हुदै पनि पाठक लेखकको मन भित्र चाही पस्न सफल हुन्छ।

अमेरिकाको ओक्लोहोमामा पुरस्कार लिन जादा सम्म पनि मैले आफूलाई घिमिरे दम्पति संग पाउन सकें। यसको मुख्य कारण त डेढ दशक अगाडी आफू पनि एक वर्ष वसिसकेको ओक्लोहोमामा लेखक संग मलाई पुग्न मन्थली, जनकपुर, पटना र अरु ठाउमा पुग्नु भन्दा सजिलो भएको थियो। असह्य ढाढ दुखाई ले पुरस्कारका धेरैजसो कार्यक्रममा भाग लिन असमर्थ लेखक आखिर अमेरिकि भूमीवाट नै आफ्नो जीवनको यो कठिन यात्रा आरम्भ गर्न पुग्छन्।
“मलाई त्यो यथार्थ स्वीकार गर्न केही सेकेन्ड लाग्यो। ती सेकेन्डहरुमा म अर्को मान्छे भैसकेको थिएं”…….
“मेरो जीवनको गोरेटो फेरि फाटियो।यपाली म नचाहेको बाटो रोज्न बाध्य भएं,त्यो मेरो होईन,समयको खटन थियो र त्यै यौटा परिणामले त्यसपछिको मेरो र मेरो परिवारको सम्पूर्ण जीवनयात्रा फरक पार्यो”।

अस्पतालका सवै प्रकारका टेस्टहरु पछि पत्तालागेको मल्टिपल माईलोमा भन्ने भयानक रोग आफूलाई लागेको थाहा पाए पछिको लेखकको प्रतिक्रिया थिए उपरोक्त वाक्यांशहरु। पुरस्कार लिन अमेरिका पसेका लेखक अमेरिकावाट फर्किदा घातक रोगको अभिशाप लिएर फर्किएका थिए। यहां आएर पाठक र लेखको गोरेटो बाह्य रुपमा फाटिएको छ,तर यसपछि पाठक अन्तर्मनले लेखक संग फेरि समेटिन्छ।लेखकको यात्रा वद्लिएको छ,गन्तव्य प्रष्टिएको छ, पाठकले उनलाई पछ्याउने प्रक्रिया पनि वद्लिएको छ। जीवनलाई हेर्ने र स्वीकार्ने दृष्टीकोणमा हामी जति दावी गरे पनि लेखकको छेउ सम्म पुग्न सक्तैनौ। जीवनलाई हामीले सिद्दान्तत: मात्र देखेका र भोगेका छौं भने लेखकले जीवनलाई मात्र हैन तर मृत्यूलाई समेत नजीकवाट देखेको छ। आफ्नो रोगवारेको वर्णन गर्नु अघि सम्म वास्तवीक जीवनमा जस्तै लेखक पुस्तकमा पनि स्वस्थ छन्,कितावको अन्त्य तिर किमोले थिलथिलो भएको शरीर र जीवनको जिजिविसाले घुंडा टेक्न आटेको मन समेतलाई छक्क पार्दै यो कितावको खाका तयार गरेको सुने पछि मेरा शरीरका रौं ठाडिएका थिए। कस्तो ईच्छा शक्ति! कस्तो सकारात्मक र आशावादी मन! ऐया र आत्था भनेर रोएर अनि स्वजनलाई रुवाएर वस्ने समय हुनु पर्ने त्यो सामान्य परिस्थितिको सामान्य मान्छेको लागि। अलिक कडा रुघा लाग्दा त “मरिलानु केहि छैन जे सुकै होस्” जस्तो लाग्छ भने पुस्तक लेख्ने विचारै आउनु पनि अस्वाभाविकताको पराकाष्टा हुनु पर्ने मा कितावमा लेखिने कुराहरु बारे खाका तयार गर्नु भनेको ईच्छा शक्तिको पराकाष्टा हो।

“खुशीले दिन बितेको राती मीठो निद्रा लागे जस्तै सुखले र खुशीले बिताएको जीवनले आनन्ददायी मृत्यू ल्याउछ” लियोनार्दो दभीन्चीले भने जस्तै लेखकले पनि आफ्नो जीवन खुशी राख्न खोजेको हामी धेरै देख्छौं।

पेन्ट्रियाटिक क्यान्सरले आफ्नो जीवन केहि महिना मात्र बाकी छ भन्ने थाहा पाएका कार्नेगीमेलनका प्रोफेसर र्‌यान्डि पाउसले पनि उनको प्रसिद्द“द लास्ट लेक्चर मा भनेका छन्
“ जीवन (quality) गुणात्मक रुपले जिउनु पर्छ किन भने समय( quantity) को निश्चितता छैन”।
भन्न जति गर्न सजिलो छैन, त्यसको लागि मृत्यूलाई नजीकवाट देखेको हुनु पर्छ।
मृत्यूको ढोकामा पुगेका अर्का एकजना अमेरिकी प्राध्यापक र प्रसिद्द किताव”ट्युज डे वीथ मोरी”का नायक मोरी भन्छन्-
“ कसरी मर्ने भन्ने जानिसके पछि मात्र कसरी वाच्ने पनि जान्न सकिने कुरो आखिरमा सत्य हो”।

यस्तो कुरा भन्न जस्ले पनि सकिन्छ तर यसको अर्थ बुझ्न मृत्यू बुझ्नै पर्ने हुन्छ।

हाम्रो सामाजिक परिवेषमा आफ्ना रोगअरुलाई भन्ने चलन छैन, अझै पनि हाम्रा डाक्टरहरुले पनि कतिपय घातकरोगहरु परिवारका सदस्यलाई मात्र भन्ने र रोगीलाई अन्तिम दिन सम्म पनि झुठो आश्वासन दिने गरिन्छ। विरामीलाई दु:ख हुन्छ भनेर या उनीहरु आत्तिन्छन् भनेर यसो गरेको अरे, उनीहरुको जीवन प्रति गरिएको यस्तो वलात्कारले कसरी उनीहरुलाई मद्दत हुने हो त्यो त लाल बुज्रुक समाजले नै जानोस्। त्यति मात्र हैन कतिपय विरामीले समेत आफूलाई लागेको रोग लुकाएर त्यसवारे अरुहरुले समेत केहि बोल्न नसकिने वातावरण वनाएका हुन्छन्। यो सवै भयका कारणले हो, सत्य स्विकार्न डर लागेर केहि नभएको छल गरेको हो, किन भने यस्तो भयानकता स्विकार्न धेरै फराकिलो दिमाग र विशाल मुटु चाहिन्छ। मृत्यूको काखमा वसेर जीवनको गीत गाउन ती दुवैलाई मनले जितेको मान्छेले मात्र सक्छ।

अन्तर्मनको यात्रा मा उल्लेख गरिएका भन्दा पनि उल्लेख नगरिएका तर कितावको शुरु देखि अन्त सम्मको पातामा छताछुल्ल पोखिएका भावनाले हाम्रो मन छोएका छन्। रोगको टुंगो भएको दिन त्यो बिरानो मुलुकमा दुर्गादिदीले सहनु परेको भयानकता, त्यो लामो बाटो वाट बैंकक सम्मको यात्राका ती लामा पट्यारलाग्दा अत्यास लाग्ने निमेषहरु, घर पुग्नै नपाई बैंककमा उपचारको लागि बिताएका एकल र कहालीलाग्दा रातहरु, छोरा र छोरीलाई त्यो सवै भन्दा दु:ख लाग्दो समाचार सुनाउदाको ह्रदय बिदारकता, छोराको विहे को तयारी र बिहेको रुन्चे हांसो को समारोह ,त्यस पछिका जवर्जस्ती मनाईएका दशैं तिहारहरु,आदि को जटिलता र मार्मिकतालाई न त शव्दले समेट्न सक्छ नत भावनाले भेट्न सक्छ। त्यसैगरी शिशिरमा रुखवाट पात हराए जस्तै गरी एक एक गरी हराएका लेखकका आफन्तहरुको बियोग सवैले लेखकको सहनशिलताकै परीक्षा गरे जस्तो लाग्छ।

आफ्नो होस् या आफन्तको होस् एकदिनको मरण नै सहि नसक्नु को हुन्छ भने यस्तो मरण वर्षौं सम्म प्रत्येक दिन भै रहंदा के हुन्छ होला।
म दश वर्षकी हुदा मेरा बा(हेम चन्द्र पोखरेल) साह्रै विरामी भएर थला नै पर्नु भएको थियो। म मुनी तीनजना र म माथी एकजना गरि पांचजना छोराछोरी मध्ये बुझ्न सक्ने भएका जतिलाई करीव दुई वर्ष सम्म बा ले आफ्नु छेउ बोलाएर उहांको परलोक पछि हामीले के के गर्ने भनेर अह्राउनु हुन्थ्यो, तेहृदिनमा के के कसलाई दान दिने भनेर समेत उहांले लेखेको हुन्थ्यो जताततै। “भरे म मरिहाल्छु, चाडै यसो गर उसो गर” भनेर बारम्बार भन्नु हुन्थ्यो। दश वर्षको त्यो कलिलो दिमाग र वालक मुटुलाई त्यो सारै भारी हुने गर्थ्यो। मृत्यूको काखमा पुगें भन्ने ठान्नु भएको बा(त्यस पछि अरु तीस वर्ष वुवा रहनु भयो) संग संगै म पनि हरेक दिन अलि अलि मर्ने गर्थें, भावनाले। मेरो मुटु हरेक दिन अलि अलि टुक्रिने गर्थ्यो, यसरी बा संग दिनदिनै मरेको मेरो मुटुलाई वाको साच्चैको देहावसानले भन्दा पनि दिन दिनैको वाको मरणले दुखाएको थियो। विरामीवाट उठे देखि अन्त सम्म पनि वा को लागि मृत्यू र मरण एउटा अम्मल जस्तै भएको थियो। त्यसपछिका सद्दे दिनहरुमा पनि यस्तो कुनै पनि दिन थिएन जुनदिन बाले मृत्यू र यसको अबश्यंभावितालाई उल्लेख नगरेको होस्। घरमा हरेक पल भएको मृत्यूको वासले परिवारका सवैलाई विस्तारै मार्दै जान्छ, भावनाले संझनाले कल्पनाले विस्तारै पचाउदै जान्छ, तर कोठामा तेर्सिएको हाती जस्तै मृत्यू त्यतै वरीपरी हुन्छ, नदेखौं भन्दा पनि हात्तीलाई कसरी नदेख्नु र?

कर्ण शाक्यले उनको सोचमा लेखेका छन्-
“ह्रदयाघात भएर मर्न सजिलो छ,हवाईजहाज दूर्घटनामा मर्न गाह्रो हुदैन तर म मर्दैछु भनेर बाच्न अत्यन्त गाह्रो हुन्छ”। शाक्यले मृत्यूलाई पटक पटक नजीकवाट देखेको आधारमा नै यसो भन्न सकेका हुन।

यसैलाई सकारात्मक दृष्टीले हेर्दा मर्दैछु भनेर वाच्न सवैले पाउदैनन् सयौं वर्ष वाच्छु भनेर नानाथरी दौड धुप गर्दा गर्दै छोराछोरिलाई स्नेह का दुई शव्द भन्न नपाई मर्नु पर्नेलाई दोस्रो मौका हुदैन, आफ्नो जीवन साथीप्रति आभारको आलिंगन गर्न पाईएको हुदैन, आफ्नी आमा र जन्मभूमिको काखको मूल्य वताउन पाईदैन, यस्तो थुप्रै थुप्रै वाकी रहन्छन्। अरु त के आफ्नै अन्तर्मन संग परिचित हुने मौका हुदैन, आफैलाई आफैले चिनाजानी गर्ने मौका सवैले पाउन सकिदैन। यो खालि परिस्थितिलाई सकारात्मक स्विकार मात्र हो। यो सवै व्यक्त गर्न यस्तो रोग लागेको राम्रो भनेको हैन तर परिस्थितिसंगको संझौताको निहुं मात्र हो यो।

“द पावर अफ नाउ” अर्थात वर्तमानको शक्ति नामको वेस्ट सेलर कितावका लेखक इकहार्ट टुली ले भन्छन-
“यदि तिमी कष्ट र पीडाविनाको सरल मृत्यू चाहान्छौ भने भुतकाल संग हरेक क्षण मर्ने गर, अनि जीवनभर समयको बोझले नुहेको र तिमिले अहिले सम्म ठानेको “आफू”लाई चम्किन देउ उज्यालिन देउ”।

नियतिले आफ्नो भागमा हालिदिएको माईलोमाको देन ले भनौ पाठकले एउटा अमूल्य सृष्टी पाएको छ। यसैको कारणले यो पुस्तकको स्रष्टा जगदीश घिमिरेका जीवनले भोगेका सुख दु:ख, जीवनका आरोह अवरोह, हारजीत, हांसो आंशु, कष्ट आनन्द, खरो मसिनु मात्र नभएर उनको अन्तर्मन सम्म पुग्न सकेका छौं। उनको देश भक्ति, साहित्यप्रेम, राजनीतिक प्रयोग, पारिवारिक परिवेश, सवै संग हामी परिचित हुन पुगेका छौं। भौगोलिक अन्तराल नाघेर म चोभारको सुन्दर घर आंगनमा पुगेर वरिपरिको हिम शृंखला को मादकता को स्वाद लिईरहेकी छु।

वैज्ञानिक होस् या दैविक अलौकिकता होस् या कुनै संजिवनी जादुले होस् यस्तो अभूतपूर्व सृष्टिका स्रष्टाको आयु वढि रहोस् अनि अन्तर्मनको यात्रा भाग दुई ,तीन…. चार क्रमश: निस्किरहोस् हामी नजीक टाढा सवै तिर वस्नेले यसको रसास्वादन गरिरहन पाईरहियोस्। मेरो तर्फवाट थानपति महादेवसंग कराई कराई मागेको वरदान।

(नोट: स्टेमसेलको ट्रान्सप्लान्ट गरेपछि जगदीश घिमिरेज्यूको स्वास्थमा धेरै सुधार आएको कुरा उहांवाटै अवगत भएको छ। उहांको पूर्ण स्वास्थलाभको कामना – लेखिका )

 

2 Replies to ““अन्तर्मनको यात्रा” पढेपछि”

  1. krishna pokharel, solukhumbu, nepal

    दिदी भारती, अन्तर्मनको यात्रा पडेपछी शिर्षकको लेख रिट्ठो नबिराई पढें . मा पनि कचिंड़े सल्लाघारी रानीबन, हेमचन्द्र पोखरेलको घर, अनि तपाईं घुमेको मन्थली, एक छिन् हेन्चान्द्र सरसंग बागबजारमा छोराको डेरामा बसेर क्रिया र कृया शब्दका बारेमा भएका छलफलको याद आयो . यो एउटा उत्कृष्ठ निबन्ध सात भाषाका ज्ञाताकी छोरीले लेखे जस्तै लग्यो . तपाई को कान्छो भाई त साथी जस्तै हुन् तर उनि पनि अमेरिका भासिय्येको धरै भो बिर्से होला अब त . दिदीको यो लेख पड्दै जाँदा यी पनि पोखरेलकै छोरी हुनुपर्छ को होलिन त भनेर पनि चासो गर्दै थिएँ . अलि तल त पाई हालें परिचय .
    जे होस् म सुशील पोखरेल को काका हूँ . उनका लेखको पनि केहि समीक्षा गर्ने गरेको छु . म दिदी का अरु लेखहरु पनि पदन पाउने आशा राक्छु, यो छोटा ध्रिष्ठताका लागि माफि चाहन्छु, अस्तु .

Leave a Reply

Your email address will not be published. Required fields are marked *