अब ता भानुजयन्ती बिरानो भएछ

कवि
कवि

भोला सुबेदी 
क्यानाडा

पूर्वीय सभ्यताको बिहानीसँगै रक्तिम ज्योति छर्दै
नेपाली भाषामा छन्द माधुर्यताको सुवास छर्दै
उदाएथ्यौ तिमी आषाढ २९ गते युगको आशा उमार्दै
लेखियौ तिमी सरस्वती वरदपुत्र नेपाली व्यंजनहरुमा
दीप जल्दछ तिम्रा सम्झनामा तिमी वरदान थियौ
पुजिन्थ्यौ तिमी नेपाली धरातलभरिमा श्रेष्ठ भएर
पढिन्थे तिम्रा गुणगानहरु मधुर भाकाहरूमा
सुनिन्थे तिम्रा अक्षरहरू दिनका कुना-कुनाहरूमा
तर अब ता बिरानो भएछ भानुजयन्ती

बोकेर नवयुगको शुभसन्देश सृष्टिका नवीन आस्थाहरूमा
सुनिन्थ्यौ तिमी प्रकृति जस्तै भावका अविरल छन्दहरूमा
रम्दथ्यो यो गौरव कवि अनि कवयित्रीका मनमन्दिरहरूमा
वसन्त ऋतु ढल्किएपछि गृष्म लीला फर्किएपछि
आफ् से आफ् फुर्दथे कविताका सुन्दर पङ्क्तिहरू
आफ् से आफ् बोल्दथे कविताका सुन्दर भावहरू
गाउँदेखि सहरसम्म र सहरदेखि गाउँसम्म
फुल्दथे वसन्ती वनझैँ कविताका सुनाखरीहरू
तर अब ता बिरानो भएछ भानुजयन्ती

पूर्वीय कल्पनाका धाराप्रवाह सिर्जनाहरूमा उभिएको तिम्रो आकाश
करुणा र वीर रसका आनन्दित भाकाहरूमा रामायणका अक्षरहरू
आफैँ बोल्दथे कोकिल कण्ठ खोलेर विभूति आस्थाहरू
सायद तिमी उदाउँदै गर्दा शेक्सपियर र मिल्टनहरु
आफ्नो विरासत छोडेर अस्ताइसकेका थिए
सायद तिमी उदाउँदै गर्दा यता देवकोटा र मोतीरामहरु
एक्काइसौं शताब्दीका विपनाको सपना देख्दै थिए
स्मरण रहोस्!! हामी असल पुर्खाका सन्तान तर उनीहरू
असल सन्तान त पुर्खा; हामी कविता सम्झँदा कुर्सी तान्छौँ
तर उनीहरू कवि सम्झँदा विभूति सम्झन्छन्
सायद त्यसैले अब ता बिरानो भएछ भानुजयन्ती

रावणको बध गराएर राम विजयको महिमा सुनाउने
बधूशिक्षामा बधूलाई दिएका उपदेशका भाका सुनाउँथ्यो
जवानीमा राम र सीताको प्रेम प्रमोद सिकाउने रामायण
सायद आज पश्चिमी प्रभावका शिखण्डीहरुले मेट्दै छन् कि
शालीन मूर्तीका आवरणमा कोरिएको मधुरो चित्रजस्तो
सावित्री र सत्यवानको अपुरो विषाक्त प्रेमकहानी जस्तो
धर्मयुद्धमा चक्रव्यूहमा पारिएको पाण्डव पुत्र अभिमन्युजस्तो
यात्रुका सहजतामा पुजिने डाँडाको शून्य देउराली जस्तो
कठैबरी अब ता बिरानो भएछ भानुजयन्ती

नेपाली भाषाका शक्तिका शिखर आस्थाको महिमा
वृहस्पति अवतार त्यो बिहानको सुरश्मि उदाउँदा
पूर्वीय सभ्यताको क्षितिजमा इन्द्रेणी सजिएको थियो
तिम्रो सुमधुर जीवन लीला सुन्न पाउने हामी अबलाहरू
तिम्रा विम्बहरूका प्रतिबिम्बित इन्द्रीयहरुमाअडिएर
भोलिका बिहानहरू सम्झाउने हाम्रा नवीन सपनाहरूमा
धावा बोलिँदै छ यहाँ पुस्तान्तर विवेकहरूमा
हामी झर्दछौँ जसरी वसन्ती पालुवाले पुरानो पात झार्छ
त्यसैले होला अब ता बिरानो भएछ भानुजयन्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *