अर्कै यथार्थ
तुम्बेहाङ्ग लिम्बू
एकाबिहानै
शून्यता जुलुस लिएर आउँछ
अनि चोक-चोकमा नाच्न निकालिएका
कठपुतलीहरूसँग डराउँछ ।
कठपुतलीहरू मौनताका आँखाले नियाल्छन्
सचेतना
आँखा बन्द गरेर विवशताको झुपडीमा लुक्छ
ता कि पाश्विकताको अदालतमा उसले गवाही दिन नपरोस् ।
प्रत्येक साँझ
कठपुतलीहरू साना मालिक झोलामा हालेर लान्छ
र सोध्छ, दिनभरिको नियति ।
कठपुतली, आखिर कठपुतली न हो
गाइदिन्छ सुर, नाचिदिन्छ ताल
मालिक जस्तो बाजा बजाउँछ, त्यो त्यस्तै नाचिदिन्छ ।
यस असमान समाजमा
शून्यता, कठपुतली, पाश्विकता, मालिक
सबै-सबै असमान हुँदो रहेछ ।
त्यही असमानताको शिखरमा सिंहासन खडा गरेर
विराजमान हुँदो रहेछ निराकार भनिने नियति ।
सानु-सानु शून्यता
सानु-सानु आगोको जुलुस निकाल्छन्
सानु-सानु अस्तिव मिलेर निभाइदिन्छन् आगो।
मझौला-मझौला शून्यता
मझौला-मझौला आगोको जुलुस निकाल्छन्
मझौद्या-मझौला अस्तित्व मिलेर निभाइदिन्छन् आगो ।
एवं रीतले, ठुलो होस् वा सानो
निभाइरहन्छ अस्तित्व आगो
अनि चलाइरहन्छ एकछत्र प्रभावको राज
असंगठन र विनिर्माणको धरातलमा ।
सचेतनाहरू असंगठित भएपछि
अवचेतना र अर्धचेतनाको संविधान जारी गर्ने नियतिलाई
वर्ग प्रयुक्त सत्ता कायम गर्न सहज हुँदो रहेछ।
पर्यवेक्षकहरु अपठन, विपठनको सिकार हुँदा रहेछन्
या त सिकार भएको नाटक गर्दा रहेछन्
यसो भएपछि चामे र गौँथली नित्य झगरीरहन्छन्
मुना-मदन नित्य वियोग गाथा गाइरहन्छन्
समय टक्क अडिएर रमिता हेर्छ
नवचेतनाहरु फुल्न छाड्छन्
परिवर्तन हिँड्न बिर्सन्छ
र, विसङ्गतिका हातहरूले
वर्ग प्रयुक्त सामाजिक कोलाजमाथि
वर्गसमन्वयको बुट्टेदार बर्को ओढाउँछ ।
होसियार ! आगोको खेती गर्ने किसानहरू हो !
त्यो बुट्टेदार बर्को यथार्थ होइन
वर्गसमन्वयको बर्को मुनि अर्कै यथार्थ छ ।।