आइसोलेसनको पुकार

इन्जिनियर राकेश कार्की
लस एन्जलस,अमेरिका

मैलो छ ओछ्यान फोहोर दुर्गन्ध छ वरिपरि
आइसोलेसन वार्डमा अब बस्ने हो के गरी
सङ्क्रमित सारा बथानलाई सामूहिक धारा
कैले ढोका भाँच्चिएको शौचालयमा पालो कुरी

तातो पानीको कुरा छोडौँ चिसै नपाइने
छैनन् डाक्टर नर्स कतै अहिले हो चाहिने
हामी नै भाइरस जस्तो गरी व्यवहार सबैको
जनावरलाई जस्तो खाना ढोकामै राखिने

टाइगर बिस्कुट खाएर कसरी भाइरसलाई जितिएला
सद्दे मानिस नै आए पनि यहाँ जिउँदै मरिएला
पौष्टिक खाना, सरसफाइ र उपचार बिना
रोग प्रतिरोधात्मक क्षमता कसरी बढाइएला

यस्तो दुर्दशा भन्दा त घरमै अलग्गै बसौँला
सफासुग्घर घरेलु औषधी छिन छिनमै पाउँला
बेसार पानी, अदुवा पानी तातो रसिलो पिएर
आफ्नै परिवारको स्याहारले चाडै बिसेक होउँला

सामान्य मानवीय व्यवहार नपाउँदा हाम्रो चित्त पोली
काम गर्ने ठाउँबाट पैदल हिँड्नेको कल्ले सुन्ने बोली
हे सरकार हाम्रो स्वास्थ्य जीवन-मरण तिम्रै हातमा
ज्यान जोगाउन भाग्यौँ भने बिन्ती नठोक्नु गोली

Leave a Reply

Your email address will not be published. Required fields are marked *