आखिर जीत मेरै भयो

कवि
कवि

रमेश गौतम
नर्वे

कथा जीवन भोगाइबाट सुरु हुन्छ
बाल चाहना र आकाङ्क्षाका हत्याहरू
निर्जीव यथार्थताहरु
काला सत्यताहरू
सबै एक साथ सुरु हुन्छन् ।

एउटा जन्म !
अभिशाप जन्म !
वा आशाको केन्द्रबिन्दु
र भविष्यका लागि साँचिने सपनाहरू
के भयो ?
मलाई स्पष्ट थाहा छैन ।

म जान्ने हुँदा
एक्लो थिएँ
रित्तो थिएँ
र अभ्यस्त थिएँ
अभावग्रस्त बँचाइहरुसँग
गला दबाइने खेलहरूसँग
शिशिर ठिहीहरुसँग ।

तिमी थियौ
म थिएँ
र एक्लो परिवेश थियो ।
असारे भेलको उर्लँदो गति देखेर
तिमी डराएनौ
शान्त समुद्रको मौनता देखेर
म आत्तिइन
एउटा सत्य रूप-
समय बित्तै गयो ।

यकिन थाहा छैन-
दारुणताको सुरुआत कहिले भयो
प्रस्तरपनाको श्रीगणेश कहिले भयो
मौनताको हत्या कहिले भयो
करुणाको अन्त्य कहिले भयो ।

यो सबै परिस्थिति मानौँ
समयले जन्माएको कठोरतासँगै
एउटा धुन आयो
गीत सुसेल्दै-
तर मैंले कहिल्यै सोधिनँ-
वसन्तहरू कति पार भए भनेर
सल्लिबिसल्ली कति जोडिए
कति चुँडिए भनेर
मन सधैँ बास बस्ने खेतमा
सुन कति फल्यो भनेर
ढुकुटीमा सधैँ बास बस्ने चामलमा
घुन कति लाग्यो भनेर
यो प्रिय सत्य
साँच्चै मैंले कहिल्यै सोधिनँ ।

तिमी थियौ
म थिएँ
र एउटा जर्जर परिवेश थियो ।
वसन्तमा कोइलीले गीत गायो वा गाएन
प्रत्येक दिवान्तमा
पश्चिम क्षितिजबाट
बिदाइको रश्मि छर्दै
सूर्य अस्तायो वा अस्ताएन
भयावह निशालाई द्योतन गर्दै
धर्तीभरि अन्धकार पोखियो वा पोखिएन
झ्याउँकीरिको झ्याउँ-झ्याउँ गुञ्जियो वा गुञ्जिएन
यो सब मलाई केही थाहा छैन ……
म बाँचिरहेछु
मानौँ बँचाइको कुनै अर्थ छैन
म हिँडिरहेछु
मानौँ हिँड्नुको कुनै लक्ष्य छैन
तर व्यतीत हुँदै गरेका क्षणहरू
कहिल्यै निरर्थक लागेन
चालिँदै गरेका पाइलाहरू
कहिल्यै गह्रौँ लागेन ।

तिमी थियौ
म थिएँ
र एउटा भयाक्रान्त परिवेश थियो
तिमीले मलाई
हजार पीडा दिएर पनि
रुवाउन सकेनौ
हजार चोट दिएर पनि
दुखाउन सकेनौ
हजार परीक्षा लिएर पनि
अनुत्तीर्ण गराउन सकेनौ
तन नङ्ग्याएर के भो ?
मन बङ्ग्याउन सकेनौ
मार्गभरि काँडा ओछ्याएर के भो ?
प्रकृति उल्ट्याउन सकेनौ
तिमी हार्‍यौ
आखिर जीत मेरै भयो ।

तिमीले मलाई
कारुणिक गीत गाउने बनायौ
करुणाको हत्या गरेर
तिमीले मलाई
संवेदनशील बनायौ
संवेदनाको गला दबाएर
साँच्चै
तिमीले मलाई स्निग्ध बनायौ
स्निग्धता सबै जलाएर ।

आखिर
तिमीले मलाई पीडा दिएर के भो र ?
म कहिल्यै रोइनँ
तिमीले मलाई करुणाले भरेर के भो र ?
म कहिल्यै पलायनतर्फ गइनँ
तिमी हार्‍यौ
आखिर जीत मेरै भयो ।

१९ अप्रिल २००४
शनिश्चरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *