आजको मान्छे

कवि
कवि

लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका

जीवन पल्टिंदैछ पुस्तकका पन्ना झैँ
अध्याय अध्यायमा, हरफ हरफहरूमा-
अनि शब्द विम्ब र विधाहरूमा
दर्शन कला र इतिहासका अन्तर्गतमा
ज्ञान र विज्ञानका आयामहरूमा।
तर,भिन्नै छ भित्री आयाम जीवनको यहाँ
मनोविज्ञान र दर्शनको भिडन्तमा
गीता बाइबल र कुरानहरूमा
लडेको छ मान्छे यहाँ
उद्वेलित आकुण्ठाहरू बोकेर
सही निकासको अभावमा
तेरो र मेरोमा लुछालुछ गरेर
रुमलिएको छ मान्छे यहाँ
अनियन्त्रित, उत्तेजित र अभिशप्त हुँदै
अनि मरेको छ आफै आफैमा
अशान्त जीवनको अर्को आयाम थप्दै।
वितृष्णाको होड चलेको छ
भौतिक समुन्नतिलाई लुट्न अरे
सन्तोषलाई धितो राखेर त्यागलाई होम गर्दै
सुखी हुन अनि नामी हुन
भौतिक अभिप्साको मृगतृष्णामा
सत्य अनि अध्यात्म रोएको छ
अनन्त अमृतको खोजाइमा
चामल दिँदै पिठो ल्याउँदै छ
असत्य रोप्दै सत्यको दर्शन उमार्ने
नयाँ आयाम थप्दै छ यहाँ मान्छे।
भित्री दागलाई लुकाउन
छालामा चिल्लो घसेर वाणीमा मह दलेर
सत्यको मंचन हुँदैछ यहाँ
काल्पनिक कथालाई थुपारेर
पानी माथिको ओबानो हुन
धर्मको खेती उमार्न, सत्यको बाला लहराउँन
छर्दै छ नाबो बीउ यहाँ
छिट्टै धेरै बाली पकाएर खाइहाल्न अघाइहाल्न
अनि हतार हतार तृप्त हुन डकार्न
असत्यको नयाँ आयाम जोड्दै छ मान्छे
नासिन, मासिन अनि फेरी फसिन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *