आत्मसमर्पण
तुम्बेहांग लिम्बू
यस गाउँमा ‘बरमुनी जेठा’ भने पछि उसलाई सबैले चिन्छन् । घर सानु तर परिवार ठुलो छ उसको । सम्पत्तिको नाममा यही एउटा घर अर्थात् छाप्रो र एक चोक्टा बारी छ, साँघुरो । अचेल यही बारीको पुच्छर खण्ड खेत बिराएर धान रोप्छ अनि कोठेबारीमा साग–पात, मकै, कोदो लगाउने गर्छ । त्यही कोठेबारी माझ ठिङ्ग उभिएको एउटा साँघुरो छाप्रोले जम्मा त्यस परिवारको बाह्र सदस्यलाई ओत्याउनु परेको छ । घाम–पानी, जाडो–गर्मी सबैमा हेर्दा यस छाप्रो फुलको ‘गमला’ साबित हुँदछ र परिवारका बाक्ला सदस्यहरू ‘जमारा’ । अर्थात्, यस घर परिवारलाई हेर्दा — माटोको गमलामा उमारेको बाक्लो जमरा सरह लाग्दछ ।
अघि त उसले एउटा पियनको जागिर खान्थ्यो । भूटानको ठाउँ, दुई तीन हजार रुपया महीनामारी वेतन पाइहाल्थ्यो । त्यस माथि डासोहरु सँग बाहिर फेर टुरमा जानु परे टी. ए., डी. ए. पनि पाइहाल्थ्यो । मजाले चल्थ्यो उसको घर संसार । सपरिवार सुख–सयल भोग–विलासमा समय व्यतीत गर्दथे । नानीहरू स्कुल जान्थे–आउँथे, रोजी–छानी खान्थे र फेसन प्रदर्शन गर्थे । उसको श्रीमती अर्धवयस्क प्राय भए पनि, उनीले पनि नयाँ नयाँ प्याटर्नका लिवासहरुले लपेटिएर आफ्नो चाउरी परेको पातलो शरीरलाई छोपी भर्खरकी सोडषी बनिन खोज्दथिन ।
सन् १९९० मा भूटानमा प्रजातन्त्रको निम्ति वृहद जनान्दोलन चल्यो । पूर्वी र दक्षिण भूटानका जनताले प्राय सक्रिय भूमिका निर्वाह गरे । भूटानको एकतन्त्रीय निरङ्कुश तानासाही शासनले देशमा अत्याचारको सीमा नाघे पछि असंगठित नै भए पनि गरिब जनताको प्रतिक्रिया स्वरूप ज्वारभाटा थियो, त्यो आन्दोलन । देशमा अर्धऔपनिवेशिक, अर्धसामन्ती नीति, घूसखोरी, भाइ–भतिजावाद र गरिब जनता प्रति दमनकारी नीतिलाई एउटा ठुलो पूर्णविराम लगाई नव छ्यवार गर्न प्रयत्नरत थिए, भूटानी जनता । धेरै वीरहरू शहीद भए, धेरै चेलीहरूको सिउँदो उजाडियो अनि अनगन्ती आमाहरूका कोख रित्तिए — बरमुनी जेठाको आफ्नै सहकर्मीको पनि जागिर खोसियो तर, उसको यस प्रति लेशभर पनि ध्यानाकर्षण भएन । उसलाई कसैले केही कुराको आग्रह पनि गरेनन् अनि आफ्नो मन–ज्ञानले पनि उसले त्यस आन्दोलन प्रति केही योगदान पुर्याएन । पैसा र जागिर फुत्कने संत्रासले मालिकको पाउ मोल्दै बरु सहयोगका अपेक्षाकारीहरु आउँछन् कि भन्ठानी लुकी लुकी हिँड्यो, उ ।
तर आज उसको विचारले पाल्टा खा’को छ । उसको सधैँ त्यतिकै पुग्छ भन्ने अभिमान गलत साबित भयो । आफ्नो परिवारको सुखमय भविष्यको निम्ति तुनेको– बुनेको रंगीन सपनामा यथार्थताका फूलबुट्टाहरु भर्नै नपाई परिस्थितिको माउ ढुँडी लागेर चकनाचूर पारिदियो । ड्युटीमा हुँदा उसले पिएन भए पनि सोझा रैतीलाई डासोकै धाक दिन्थ्यो । एक बिँडा दोमा (गुवापान) सुटुक्क हात नलगाइदिउञ्जेल उस्तै त्यस्तैलाई अफिसको सँघारमा ढिम्किनै नदिन्थ्यो, उसले । आखिर उसलाई के थियो र ! अरूको त घरबार उजाडियोस् कि ज्यानै जाओस् , आफ्नो कमाई भयो भने भइगयो । सङ्घर्ष र संघर्षकारीहरु प्रति किञ्चित पनि सहानुभूति थिएन उसलाई । बरु ईर्ष्या, जलन र प्रोमोसनको प्रलोभनमा परी सुराकी गरेर कतिपय कर्मठ क्रान्तिकारीहरू लाई उल्टै कारागारको चक्की पिसाएका थिए ।
तर कुकृत्यले कहिल्यै राम्रो फल दिँदैन । मेवा पाउनलाई मेवाकै सेवा गर्नु पर्दछ । काँडा रोपेर मेवा फल्दैन । त्यसै गरी बरमुनी जेठालाई पनि आफ्नो विगत जीवनको कुकृत्य उपर आज घोर पश्चात्ताप लागिरहेछ । क्षोभ र ग्लानि छ उसलाई आफ्नो विगतको नीच व्यवहारप्रति । लोभ, लालसा रुपी अन्धकारमा फँसेर उसले जताततै आजीवन काँडै काँडा मात्र रोपे । फलत; उ आज विशाल काँडाहरूको जंजालमा जकडिएर बसिरहनु परेको छ । निस्कने कुनै बाटो नै छैन, उसको ।
अब त उसको बल बैँस सिद्धियो । दिनानुदिन बेकम्मा हुँदै गा’को देखेर उसलाई भूटानको स्वार्थी अवसरवादी निरङ्कुश सरकारले जागिरबाट पनि चटक्कै उछिट्याइदियो । अघि त उ सबैको प्यारो, अब त डासोहरुले उसको घोत्रे स्वरमा चापलुसी सुन्न पनि झर्को मान्न थालेकाछन् । उसले हिँडेको बाटो पनि गनाउन थाल्यो, तिनीहरूलाई । घरमा जम्मा सात छोरी, तीन छोरा — बुढा–बुढी लगायत पुरै दर्जन । तर कसैलाई स्कुल पढाउन सकेन उसले, न त राम्ररी खान लाउन नै दिन सक्यो । जागिर होइञ्जेल सबथोक थियो । जागिर छुट्यो, भाग्यै फुट्यो । घर गाउँका कसैले मन पराउँदैनन् । जागिरे छँदा उनीहरूको निम्ति काउछो बनेको थियो । अफिस जाऊँ त हाकिमहरू उसको छाया देखि नै घृणा गर्छन् अचेल । हुन पनि उमेर छउन्जेल तनतनी चुसिहाले, अब त आमा पट्टिको न बाबु पट्टिको सित के मतलब ! अचेल त कुनै काम बनाउनु पर्दा पनि उमेर पुगेका तरुनी छोरीहरूका हातमा पठाए मात्र बनाइदिन थालेकाछन् । उमेरमा जागिरे छँदा पनि काम र दामको खातिर उसले नाम, अस्तित्व, स्वाभिमान सबथोक बेचेको थियो । अब त बेच्ने आदत परिसकेछ उसलाई । पैसा र कामको निम्ति आफ्ना कुमारी छोरीहरूलाई समेत बचाउन सकिरहेको छैन । लोभ र घमण्डले आज उसलाई के देखि के बनाइदियो । धनवान बनेर मान–मर्यादा, इज्जत हासिल गर्ने अभिलाषा बोकेको थियो तर आफ्नो स्वार्थीपनाले उसलाई ती सबका क्षुद्र व्यापारी बनाइदियो ।
विवशताले गर्दा अब त उसले छोरीहरू सँग–सँगै गाउँका अनन्य गरिब, निरीह र सोझा चेलीहरूको पनि दलाली गर्न थालेको छ । सी.ओ., रुट–पर्मिट, सेन्सस्–स्ट्याटस, एन.औ.सी. आदि बनाउन सहयोग गरिदिने बहानामा गाउँका कतिपय असहाय चेलीहरूको तथाकथित डासोहरुबाट कौमार्य नासियो । सट्टामा कतिलाई अतिरिक्त जागिर मिलाइदिए भने कतिलाई पैसाले किन्न खोजे । कतिले त आफ्नो कौमार्यताको बेइज्जत सहन गर्न नसकी आत्महत्या समेत गर्न पछि परेनन् । तर ती आत्महत्याहरूलाई बनावटी कारणले ढाकछोप गरी लुकाइएकाछन् । ती अस्वभाविक घटनाहरूको राज शून्य रातको अन्धकार, स्पेसल करियरको नशा अनि, त्यही अतिथिगृहका अमुक चार दिवालहरु सिवाय कसैलाई थाहा छैन । नजाने यस्तै कति मार्मिक घटनाका राजहरू अझ कति त्यस नशालु अँध्यारी रातकोगर्भ भित्र कुण्ठित होलान्/हुनसक्छन् , कसलाई थाहा !…
आज भूटान नरेशले साम–दाम–दण्ड–भेद सम्हालेको पूरा–पुरि २५ वर्ष पुग्यो । रजत जयन्तीको लागि देश व्यापी तयारी छ । प्रत्येक ब्लकमा ट्रक पठाइएकाछन् गाउँ बस्तीका जनता बटुल्न । आ–आफ्ना जिल्लामा भेला हुनु पर्ने । जनताले त उति चासो दिएका छैनन् तर, जानै पर्ने सरकारी उर्दी छ । मानिसहरू नाक खुम्च्याउँदै सत्तारुढ राजतन्त्रको जहानीय शासन र दमनकारी नीतिको खासखुस आलोचना गरिरहेछन् । तर सत्ता पक्ष भने कसैले “तपाईँ” नभनी आफै “मपाईँ” हुन आफ्नो शासनकालको एकतर्फी केवल प्रशंसा गरिरहेछ । कर–कापमै भए पनि ‘बक्खु–किरा’ मा सजिएर ‘काम्नी’ र ‘राचु’ काँधमा भिरी प्रत्येक घरका एक एक सदस्य आज जोङ (जिल्ला प्रशासनिक कार्यालय) तर्फ लम्किरहेछन् ।
बरमुनी जेठा चुपचाप एउटा मुढामा बसी हत्केलामा च्यापु टेकाएर दिवा स्वप्नको संसारमा आत्मविभोर भई गोताखाइरहेछ । अघि जागिरे हुँदा यस दिन प्रत्येक वर्ष उसको चकचकी हुन्थ्यो । राम्रो लाउन, मीठो खान मिल्थ्यो । छोरा–छोरी र श्रीमतीलाई रंगमंचको अग्रिम पङ्क्तिमा डासोहरुकै परिवारको हाराहारी राखेर रमिता देखाउँथ्यो । केवल पिएन नै भए पनि गाउँलेहरू उसको सामु झुकेर सलाम ठोक्थे । उ आफ्नो अहङ्कारको शिखरमा पुगेर गजक्क पर्थ्यो । तर आज, सब थोक विपरीत छन् । एक पैसाको इज्जत छैन, उसको । राम्रो लाउने, मीठो खाने कुरा त कहाँ हो कहाँ ! छोरा छोरीको मुखमा माड जुटाउन धौ–धौ छ उसलाई । समाजबाट पूर्ण तवरले बहिस्कृत नभएता पनि त्यहाँ केही मर्यादा छैन, उसको ।
भोलि पनि समाजको वार्षिक अधिवेशन । समाज बस्ने दिन । सबैमा एउटा जोस र उमङ्ग देखिन्छ तर उसलाई कसैले गन्दैनन् । रुन मन लाग्छ, कराउन–चिच्याउन र पछारिन मन लाग्छ, उसलाई । आफ्नो विगतको भूलले गर्दा आज निर्दोष छोरा–छोरी समेतले समाजबाट अवहेलित हुन परेको देख्दा उसको मुटु चिरिएर आउँछ । रजत जयन्तीका रंगी–चंगीहरु सब थोक बिर्सिपठाउँछ, उसले ।
अचानक उसको नजर एउटा बुढो ब्रा र विशाल मैनाको ढलेको रुखको दृश्य माथि ठोक्किन पुग्छ । अघिल्लो रातको आँधीले जरैदेखि पर्लक्क पल्टाइदिएछ, ती बडेमाका रुखहरू । अब उसलाई महसुस भयो, सायद हाम्रो देशको निरङ्कुश राजतन्त्र पनि अब यी रुख जत्तिकै पुरानो र बुढो भइसक्यो । उसको शासन–प्रणालीमा पनि अब परिवर्तन ल्याउनु पर्ने बेला आइसकेछ क्यार ! समय र परिस्थितिको माग अनुरूप समय सापेक्ष रहेनछ यो शासन ।
सायद यही कारणले होला आज–भोलि देशमा जाततै विरोध जुलुस, सत्तापक्ष विरुद्ध पोस्टरिङ, दरवारीय बिच शीत युद्ध, कतै दङ्गाफसाद र क्रान्ति, धर–पकड चलिरहेछ । सायद यो एउटा विशाल आँधीको प्रतीक रहेछ हाम्रो देशमा, हिजो रातीको आँधी सरह । अब यो मैना र बर्राको रुख जस्तै जरै देखि निर्मूल हुने समय आइसकेछ हाम्रो बादशाहको, सायद । अब यसको छत्र–छायामा बस्नु भनेको कुनै पनि बेला यही बुढो रुखले किचिएर ज्यान गुमाउनलाई काल निम्त्याउन मात्र रहेछ । अहँ…, म यति चाँडै बिकालमा मर्न चाहन्न । मैले यसको साथ छोड्नै पर्छ । आफ्नो बाटो बदल्नै पर्छ । बिगत् जीवनका भुलहरूको प्रायश्चित स्वरूप निरङ्कुश सत्ताको विरोध गर्नैपर्छ, विपक्षमा उभिनै पर्छ । चेतनाको अभावमा आफूलाई कुकृत्य गर्न प्रोत्साहित गरेकोमा यसको खोहोलो उतार्नै पर्छ ।
यस्तै विचारको तन्द्रामा बरमुनी जेठा मुढाबाट जुरुक्क उठ्यो । सत्तारुढ शासकको कुकृत्य उपर क्रोध, ग्लानि, घृणा र क्षोभले व्याकुल बनायो उसलाई । निधारमा चिट्चिटी पसिना आयो । अब मात्र ती क्रान्तिकारी युवाहरूले सुनाएको वैज्ञानिक समाजवाद र प्रजातन्त्र बुझ्यो उसले । विगतमा उसले धार्मिक ग्रन्थ गीता पढ्दा अर्जुनको नजरमा भगवान् श्रीकृष्णको विशाल रूप दृष्टिगोचर भए सरह उसको नजरमा पनि समाजवादको विशाल रूप स्पष्ट हुन पुग्यो । साँच्चै उसले आत्मज्ञान पाएछ आज । कदम–कदममा हण्डर खाएपछि विकसित चेतनाले सत्य जीवनको सारमा पुग्न सफल भएछ ।
एकचोटि शान्त बनेर ला…मो सुस्केरा तानेपछि पुन: सोच्यो उसले — “भोलि समाजको वार्षिक अधिवेशन, समाज बस्ने दिन । यस्तो अवसर घरी–घरी आउँदैन । म भोलि नै गएर समाज सित मेरो विगत् जीवनको भूलप्रति क्षमा माग्छु । धेरै ढिलो भइसक्यो, अब उसो मैले विलम्ब गर्नु हुन्न । म जानै पर्छ । समाज सुधार्नलाई आत्म–समर्पण गर्नै पर्छ । जनताका न्यायसंगत सङ्घर्षमा लामवद्ध हुनै पर्छ । यो मेरो कर्तव्य हो, प्रायश्चित हो, ‘आत्म–समर्पण’ !!”