आत्मीयता

सञ्जीव श्रेष्ठ-काठमाडौ Sanzeeb

हरेक बिहान एलेन्सबर्गको चौरमा
म,
सँगै चरिरहेको घोडा हेर्दैछु
सेतो अनि रातो रंगको
ती दुवै रंगभित्रको एक म, आफूलाई पाउँदथें
फरक थियो त केवल ती दुई अनि म एक,
सूर्यको पहिलो किरणको आगमन सँगै

तिनै घोडाहरुको खोजी गर्दथें…!
हराएका मेरा खुशीहरु तिनैमा पाउने गर्थें,
खै… किन हो थाहा छैन,
अचानक एक दिन,
वातावरण शान्त थिएन…!
कोलाहल गर्दै चर्को आवाजमा
सेतो घोडा कराउँदै दौडिरहेको थियो,
सँगै सधैं चर्ने र खेल्ने साथी खोज्दै थियो,
चौरको चारै किल्लामा भौंतारिँदै थियो,
यस्तै यस्तैमा,
म सोच्न पुगेंछु, त्यसै समाहित हुन पुगेंछु-
हातमा कलम र कपी समाएर यी हरफहरु कोर्न पुगेंछु,
थाहा नै भएन आत्मीयता कहाँ हुन्छ,
थाहा छैन मलाई अनि त्यो घोडालाई आत्मीयता कहाँ हुन्छ-
न हामीसँग एउटै जात थियो, न हामी सँगै एउटै बर्ग थियो-
न हामीसँग एउटै धर्म अनि भाषा थियो,
केवल थियो समय र परिस्थिति,
केवल थिए साझा दुःख र सुखहरु
केवल थियो हामीबीच आत्मीयता,
यस्तै आत्मीयता देशले खोज्दैछ,
हो यस्तै आत्मीयता नेपाल र नेपालीहरुको लागि चाहिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *