आफ्नै आमालाई संझिएर

लेखिका

भारती गौतम
बोस्टन, अमेरिका

“आफू सवैतिर पुग्न नसक्ने भएकोले भगवानले आमाको सिर्जना गरेका हुन्”–एउटा यहुदी भनाइ ।

हामी त्यहाँ पुग्दा घाम बिदा हुँदा रंगिएको आकाश रातै थियो । पारी बेल्हाराको डाँडामाथि भर्खरै डुवेको दिन अझै झरिलो नै थियो। विराटनगरवाट भाडामा लिएको ट्याक्सी धनकुटाको सिरानवजारमा रोकिएपछि एक एक गर्दै पहिले मेरो ठुलो छोरो, छोरी, मेरा श्रीमान अनि काखमा सानो छोरो लिएर म ओर्लिएर केटाकेटी झुम्मिदा आमाका आँखाहरु अविरल बगेका थिए भने उहाँको अनुहारमा विजुली वलेको थियो।

कालो भुईमा राता वुट्टा भएको सारी र रातो चोलो हातभरि राता चुरा गलामा कलेजे रंगको पोते, निधारमा रातो गोलो टिका लगाउनु भएको आमाको कपालमा कपास पाकेको थियो। आमाको लवाई उस्तै थियो, हंसाई उस्तै थियो,  आँखामा छचल्किएको ममता उस्तै थियो तर, विगत दश वर्षमा मेरी आमामा एउटा परिच्छेद गुज्रिएको देखिन्थ्यो। छोरा, छोरी, नाति, नातिनीवाट विछोडिनुका चाउरीहरुले मधुमेहको निर्दयी डसाईलाई समेत उछिनेको जस्तो लाग्थ्यो। भारीले गलेर माथि चौतारी ताकिरहेको जस्तो गलेको अनुहार त कमजोर शरीरले जीवन विसौनीको चौतारालाई मात्र पर्खिए जस्तो लाग्थ्यो, लगाएका दाँतहरुले पनि आ-आफ्नो ठाउँ छोड्न आँटेको जस्तो खालि मुख, पानी सुकेका कुवा जस्ता दुईवटा आँखा, खन्युको रुखवाट वाहिरै लहराएका जरा जस्तो वाहिरैवाट हाड देखिने हात पाखुरा अनि त्यस्तै ढल्नका गाह्राले उभिएको रुखजस्तो शरीर मेरी आमाको थियो। बिगत एक दशकमा उहाँको शुन्य भान्सा आंगनले आमालाई वाच्ने अभिलाषा र वहानाहरुवाट रित्तिँदै गरेपछिको शरीरले खेप्नु परेका आंधी, असिना, र अत्यासका डोवहरुको जताततै निशाना भएको शरीरलाई सन्तानप्रतिको अलौकिक स्नेहले तर धपक्क उजिल्याएको थियो।

भर्खरै छ दशक पुग्नु भएकी मेरी आमाको उमेरका दशकहरु थप्न डाँडा काटेका छोराछोरी, काख र अंगालाले सुंघ्न समेत नपाएका नातीनातीनीहरु  अनि अनिश्चितता र भयानकताले चर्किएको मुलुकको विडम्वना सवै नै कुनै न कुनै तवरले जिम्मेदार रहेको हुनुपर्छ। त्यति वुढो नभइसकेको मेरी आमाको शरीरको सत्य देख्ता दश वर्षको वालकको पिठ्युंमा तेर्सिएको उ भन्दा धेरै गह्रौं भारी जस्तो देखिन्थ्यो।

अमेरिका पसेको दस वर्षपछि पहिलो पटक तीनजना छोराछोरी लिएर धनकुटा पुगेपछिको आमासँगको साक्षात्कारले मलाई मन्दिरमा पाएको देवीको दर्शन जस्तो अनुभुत एकातिर गराएको थियो भने पहिलेको हंसिलो, उज्यालो, जिवन्त अनुहारमा पोतिएको उदासी, वैराग्य र निरिहताले मनको कुनु पिरोलिएको थियो दुखेको थियो । प्रभातमा छोडेका घामलाई अस्ताचलनिर भेटेजस्तो मेरी आमा भक्तलाई दर्शन दिन पर्खिरहेकी एक वृद्द तपस्विनीजस्ती देखिनु भएको थियो। एक निमेषको लागि आमाको अनुहारमा मेरो आफ्नै मरणशीलता टांसिएको देखें, विहान उठ्नेवित्तिकै ऐनामा देखेको आफ्नै अनुहारसंग जस्तै म एकपटक झस्किएकि थिएँ।

“अमेरिकामा हुर्किएका, जन्मिएका केटाकेटी मेरो यो आकर्षक वुढो शरीरको छेउ पनि पर्दैनन् भन्ने ठानेकोमा पाप नलागोस् नानी”, “कस्ता ठानेका केटाकेटी कस्ता रहेछन्”, मेरा छोराछोरीले उहाँलाई भेटेदेखि काख र अंगालो नछोडेको अनि गालामा वारम्वार म्वाई खाएको अनुभवले गद्‌गद् मेरी आमाले भन्नु भएको थियो। तीनवर्ष, सात वर्ष अनि दश वर्षका मेरा छोराछोरी मध्ये एकजनाले वाहेक अरु दुईजनाले आमालाई नचिनेको र नदेखेको भए पनि आमा उनीहरुको आफ्नी हुनु हुन्थ्यो, उनीहरुलाई आमाको परिचयको चाहिएको पनि थिएन, आखिर आमाको ममताकै एउटा अंश उनीहरुको लागि मेरी आमा मभन्दा वढी आमा  हुनुहुन्थ्यो । “ग्रानमा” र “ग्रानपा’ को काखमा, नजिकमा अनि पुल्पुल्याईमा वढिरहेका उनीहरुका स्कूले र छिमेकि साथीहरुको अगाडि कुनै एक वालकलाई धर्मपुत्र छानेर आएका आमावावुको पछि लागेको वालकलाई अनाथालयमा वाँकि अरुले जस्तै मेरा छोराछोरीले पनि ग्रानपा र ग्रानमा सँगका आफ्ना साथीहरुलाई हेर्ने गर्थे। स्कुलमा वेलावेला हुने “ग्रान प्यारेन्ट डे’’ मा मेरा छोरा छोरीले पनि रंगीविरंगी कार्डहरु बनाएर ल्याउने गर्थे। छोराछोरीको उज्वल र सुखी भविष्य वनाउने सन्दर्भमा हामीले उनीहरुको वर्तमानवाट खोसिदिएका अमुल्य उपहार मध्येको सवैभन्दा सिरानमा नै उनीहरुले हजुरवा–हजुरआमाको काख र वात्सल्यवाट वंचित हुनु पर्ने रहेछ। छोराछोरीका पोल्टामा सवै खुशी खन्याइदिन्छु भन्ने मेरो मातृत्व पनि यहाँनिर आएर भावबिह्वल हुन्थ्यो, आजित हुन्थ्यो। मेरी आमालाई मूर्त रुपमा देख्न  अहिले पाएका भए पनि मेरा छोराछोरीले मेरी आमालाई उनीहरुको जीवनका सवै क्षणहरुमा देखेका र अमूर्तरुपले भेटिसकेका थिए।

हामी पन्ध्र मिनेटको वाटो हिँडेर घर पुग्यौं, सामान वोक्ने भरिया थिए, सानो छोरो मैले च्यापें, अरु दुईजना केटाकेटी हिडेर गए । घर वाहिरको ढुंगाछापेको आंगनमा पुग्ने बित्तिकैदेखि मेरो पैतालादेखि टाउकासम्म प्रवाहित वात्सल्यको विद्युतले ल्याएको जादुले मलाई घच्याडेर तीनदशक पछाडी पुर्यायो । अव मेरा दृष्टिमा म भर्खरै फक्रिन लागेको युवावस्थामा पुगें, अनि मेरी आमा हंसीली,  भरीलि, तागतिली, उज्याली, ममताकी मूर्ति बन्नु भयो। म अव कहिल्यै नथाक्ने, रोगनलाग्ने, उमेर नगल्ने, भोक, निद्रा, तिर्खा नलाग्ने आमाको काखमा पुगें। महिनौ अघाउन्जेल खान नपाएकोले भतेरमा निम्ता पाएको जस्तो दसकौं देखिको मेरो वात्सल्य भोक र प्यास जंगलको आगो जस्तै फैलिन थाल्यो। हांग्राले पांग्रा खाएको जस्तो म आमावाट सकेसम्म ममता चुस्न चाहन्थें । आफू र आफ्ना छोराछोरीलाई अनिश्चित भविष्य कालसम्मको लागि अनि छुटेका विगतदेखिको ममता र वात्सल्यको भारी कस्ने सन्दर्भमा आमालाई नै देख्‌न सकिन।

“केटाकेटीलाई अमिलो, पिरो मन पर्दैन, उनीहरुलाई तातो पानीमा नुहाउने बानी छ, झिंगा वसेको देखेपछि खाना खांदैनन्, तातो पानी चाहिन्छ, लामखुट्टे उडुसको वानी छैन का आदेश र आग्रहमा मैले मेरी आमालाई थोपरिदिएको वोझ पनि मैले देखिन।
“करेला र फर्सीको मुन्टा त्यहाँ खान पाएको छैन”, मेरो त्यो विवेकशुन्य माग मेरी आमाले म पुगेको छाकदेखि तीनमहिनासम्म अनि हिँड्ने विहानसम्म भगवानलाई आरती गरेजस्तै निष्ठापुर्वक उपलब्ध गराई रहनु भयो।

तीनमहिनाका हरेक पलहरु मैले आफू र आफ्ना छोराछोरीको लागि आमा चोईटाईरहें, आफ्नु वयस्कता अनि आमाको अशक्ततालाई वुझ पचाएर म आमा वटुल्दै गएँ, विचरा आमा पनि मेरो जस्तै उपरोक्त सवैलाई वुझपचाएर ममताको युद्द मैदानमा चोइटिइरहनु भयो, म जति उहाँलाई वटुल्दै गएँ उहाँ त्यति खिइँदै जानुभयो। मैले आफूसँग सकेसम्म आमा वोकेर ल्याउन मातृत्व मन्थन गरीरहें, विवेकले बन्द मेरा आँखा अगाडिकी स्वस्थ र जवान आमाले आफूसँग स्नेहको सर्वस्व वगाई रहनुभयो। आफ्ना भोक, थकाई, रोग, पिर, रहरहरुको वलिदान गर्ने देवत्वको अभिशेक पाएका मान्छे आमाभित्रको मान्छे देख्‌न असमर्थ मभित्र को मातृत्व पनि घुंडा टेक्न पुग्यो।

“भाउजुकी आमा हिजो स्वर्गे हुनु भयो अरे”

आमाले वनाउनु भएको तिलको छोप पनि नसकिई, अनि खिचेर ल्याएका फोटाका रिलसमेत धुलाउने ठाउँमा पुर्याउन नपाई विराटनगरवाट आएको नन्दको फोनले मेरी आमालाई देवत्वबाट केही ओरालेर मान्छे स्वीकार गर्न ढिलो भैसकेको थियो। मेरी आमाको देवत्व पगरी शायद मेरी आमाको मनुष्य शरीरलाई बोक्न धेरै गाह्रो भएको थियो होला। देवी आमाको अखन्डित, अनुपम र अमूल्य ममता र वात्सल्यको दीर्घायु माग्नेहरुले मानव आमाको दिर्घायुका लागि भुसुक्कै विर्सिँदा रहेछौ।

मेरी आमालाई एक प्रहर आरामी दिन,  मेरी आमाको एउटा मात्र इच्छा पुर्याइदिन, मेरी आमाको अनुहारमा खुशिको उन्मुक्त एक खित्का हाँसो ल्याउन अहिले सकिने भए म सर्वस्व अर्पिने थिएँ।

सन्तानको लागि शहीद मेरी दिवंगत आमालाई मेरा दुईथोपा आँसुको तर्पण।

Leave a Reply

Your email address will not be published. Required fields are marked *