आशीर्वाद कि अभिशाप
तुम्बेहाङ लिम्बू
फुत्त निस्किएर शब्दको बाण
जब वारपार हुन्छ एउटा निरीह छाती
पीडाका थोपा तप्कन्छन् परेलीका डिलबाट
चस्स पोल्ने सेतो रगत भएर
रगत त रातो हुनुपर्ने
तर पीडाको थोपा सेतो हुन्छ कि कसो ?
गहिरो–गहिरो सागरमा डुबेपछि एकजोर आँखा
समवेदनाको बस्तीमा बेस्सरी हुरी चल्दो रहेछ
अनि मनको किनारमा छालले हिर्काउँदो रहेछ
धैर्यताको बाँधै तोड्ला झैँ गरेर
कसको पछ्यौरी हो त्यो
असमञ्जसताको हावाले फरर–फरर उडाइरहेको
कि कुन धर्म, सम्प्रदाय वा पार्टीको झन्डा हो ?
तम्बू झैँ तिनिक्क तन्काएर आँखाको बलेँसीमा
ओत्याउँ कि लाग्छ दुःखको बर्सातमा आफैँलाई
लुकाऊँ कि लाग्छ दुनियाँको नजरमा वर्तमानलाई
तर जब त्यही पछ्यौरी पनि लान्छ ह्वात्त
निठुरी हावाको एउटा झोंकाले
तब मन अमिलो हुन्छ
खै के को रागले, के को पीरले
तरबारको धार भन्दा
शब्दको धार कयौँ गुना विषाक्त हुन्छ सायद
फलामको तीर भन्दा
नजरको तीर कयौँ गुना तिखो हुन्छ सायद
जब एक्टिवेट गरेर दाग्छ निशाना कौतूहल मन
एम्बुसमा पर्छ कुनै अञ्जान निशाना
र क्षत–विक्षत हुन्छ एउटा शान्त झीलको पानी
त्यो प्रकरण कसैकोलागि आशीर्वाद बन्दो रहेछ
कसैकोलागि सायद अभिशाप ।।