उठिबास

विद्यापति मिश्र
बेलडाँगी

असारको महिना थियो । केही दिनअघि भएको लगातार वर्षाले शिविरका प्राय जसो छाप्राहरु निथ्रुक्क भिजेका देखिन्थे । जमिनमा पनि यत्रतत्र प्रसस्तै पानी जमेको थियो । दिउसोको समय भएकोले वरीपरीको वातावरण अलिक शान्त नै थियो । परिवारका आधाभन्दा बढी सदस्यहरु पुनर्वाशमा गइसकेकाले विगतका वर्षमाभन्दा महेशको घरमा शून्यताले छाएको थियो । ऊ भने पुनर्वाश प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्तको कार्यलयमा अन्तरर्वाताका लागि बोलाइएकाले सिक्किमबाट झापा झरेको थियो ।

महेशका आमा, बाबा र भाउजु रासन बाँड्ने दिन भएकाले रासन काउन्टरतिर अनि दाजुका नानीहरु दुवै विद्यालय गएका थिए । दिउसोको समय भएकाले महेश घरमा एक्लै बसिरहेको थियो । विच्छ्याउनामा पल्टेर रेडियो गन्किराखेको त्यो बेला सिमसिम पानी पनि पर्दै थियो ।

एक्कासी उसको कानमा एउटा आवाज आयो – “बहिनी, घिमिरेबाको घर कुन हो?” उसले हतारहतार रेडियो मा–यो । एउटा महिला घरको ढोका नजिकै उभिएकी रहिछन् । माथिल्लो घरकी राधिका बहिनीले ती महिलाको प्रश्नको उत्तर दिइन् ।

“घिमिरेबाको घर त्यो हो दिदी ।” “अनि, किन खोज्नु भएको ?”

राधिका ती अपरिचित महिलाको नजिकै आउँछिन् । त्यसपछि महेश विच्छ्याउनाबाट उठ्छ । ऊ ती दुबैलाई राम्ररोसंग नियाली हेर्नतिर लाग्छ । तर, केही पनि बोल्दैन ।

“घिमिरेबाका छोराले मेरो पैसा लगेको थियो, त्यो पैसा माग्न आएको बहिनी,” आफ्नो घर पनि बेलडागी–२ नै रहेको परिचय दिँदै ती महिलाले राधिकालाई भनिन् ।

वर्षौसम्म छिमेकी भएर बसेकी राधिकालाई ती महिलाको कुराले अचम्म बनायो क्यार । उनले ती महिलाबाट ऋणलिने महेशको सहोदर दाजु भएको पनि कुरा केही बेरमै ती महिलाबाट थाहा पाइन् । उसको दाजु घरबाट हराएको १० वर्ष बितिसकेको थियो । दाइलाई खोज्न परिवारलाई परेको सास्ती पनि राधिकालाई राम्ररी नै अवगत थियो । दाजुकै कारणले गर्दा पुनर्वाश प्रक्रियामा परेको असरबाट आमा–बुबा पनि दिक्क हुनुहुन्थ्यो । सायद राधिकाले ती सबै कुरा राम्ररी बुझेकी होलिन् ।

“दिदी, घिमिरे बा रासन लिन जानुभएको छ, अलिक पछि आउनु हुन्छ । तर, दाजुको विषय लिएर तपाईले बाबासंग कुरा नगर्नु नै उचित होला,” राधिकाले ती महिलालाई भनिन् ।

हुन पनि तेस्रो मुलुक जाने इच्छा जायर गरेको चार वर्ष लाग्दा पनि कुनै कुरा सकारात्मक बनेको थिएन । दाजु फेला नपरे पुनर्वाशमा जान नपाइने कुरा महेशका लागि प्राय निश्चय नै थियो । आमा–बुबा दुबैको उमेर ६५ माथि भएकाले दाजुका दुई बालबच्चा र भाउजुको जिम्मा महेशलाई लगाइएको थियो । उता फेरि भाउजु नेपाली भएकाले उनको शिविरमा कुनै पनि आधिकारिक दर्ता थिएन । त्यसै कारणले पनि भाउजुको दर्ता गर्न पनि दाइको आवश्यकता थियो ।

“हुन्छ बहिनी अहिले म जान्छु, पछि साँझमा आउला,” भनेर ती महिला आफ्नो घरतिर लागिन् ।

साँझ प–यो, परिवारका सबै मान्छे भेला भए । महेशका बुबा पनि घरमा आए । बेलुकीको खानपिन पनि भयो । रातीको आठ बज्यो तर ती महिला आइनन् । दिउँसोको कुरा सायद राधिकाले पनि महेशको बुबालाई सुनाइनन् होला । परिवारमा त्यस किसिमका कुराहरु प्रायजसो सधै उठिरहने भएकाले महेशले पनि त्यस कुरामा खासै चासो राखेन ।

त्यसको तीन दिनपछि ती महिला लगभग त्यही समयमा फेरि घरमा आइन् । भूटानमा छँदाका छिमेकी एकजना बृद्ध बा शिकिस्त भएकाले त्यो बेला पनि महेशका घरका सबै मानिस त्यतै गएका थिए । शनिबारको दिन थियो र ऊ भने भतिजीसंग समय बिताइरहेको थियो । त्यसबेला पनि बाहिर सिमसिम पानी परिरहेको थियो । अस्तिकोभन्दा, त्यसदिन ती महिलाको चेहरा त्यती उज्यालो थिएन । उनले एउटा सानो नानी पनि बोकेकी थिइन ।

“दिदी, नानी निदाए जस्तो छ । पानी पनि पर्दैछ, भित्रै बस्नुस् ।” महेशले ती महिलालाई भन्यो । राधिकाले पनि त्यो आवाज सुनिन् होला, तुरन्तै घरभित्र पसिन् । राधिकाको सानो नानी भएकाले प्रायजसो उनी सधै घरमै भेटिन्थिन् ।

ती आगन्तुक महिलाले नानीलाई ओच्छ्यानमा बिसाइन् । “कति वर्षको नानी हो दिदी?” राधिकाले सोधिन् । बिचरा, छ वर्ष पुगिसकेको नानी कुपोषणले होला भरखर तीन पुगेको जस्तो देखिन्थ्यो । आँखाभरि कचेरा जमेका थिए । शरीरमा एउटा मात्र लुगा थियो, त्यो पनि धेरै ठाँऊमा प्वाल परेको ।

“तपाईको श्रीमान कहाँ हुनुहुन्छ दिदी ?” प्रश्न झर्ने वित्तिकै ती महिलाले राधिकाको मुखमा पुलुक्क हेरिन् ।

“धरानमा काम गर्न जानुभएको थियो । त्यो आजभन्दा पाँच वर्षको अघिको कुरा हो । यो नानी भरखर एक वर्ष टेकेको थियो । त्यहाँ वहाँले भवन बनाउने काम गर्नु हुन्थ्यो । पछि, आत्माहत्या गर्नु भएछ ।”

ती महिलाको कुराले वातावरण सुनसान भयो । राधिका पनि अवाक भइन् । महेश भने कक्षा १० मा पढ्दाको परिवारको दयानक अवस्था सम्झियो । त्यसबेला उसका बुबा र दाजुहरु घरमा बस्दैनथे । एक पैसाको आम्दानी थिएन । उसको दिमागमा विशेश गरेर एउटा दशैको याद आयो । एक किलो खसिको मासु किन्न नसकेर उसका भाइ–बहिनीहरु रुँदै बसेको बेला एक जना कृष्ण थापा दाइले महेशलाई दुई किलो खसिको मासु दिएका थिए । त्यो क्षण उसको मानसपटलमा बेला बखन आउने गर्दछ ।

शून्यतालाई तोड्दै महेशले ती महिलालाई सोध्यो, “दाइले कति पैसा चलाएको थियो दिदी?”

“पैसा त पाँच सय मात्र हो भाइ तर १० वर्ष भयो । मेरो श्रीमान मरेको पनि पाँच वर्ष पुग्यो । आफ्नोमा थिएन, अर्काकोबाट मागेर दिएको । उनीहरु पनि भरखरै अमेरिका गए । तर, के गर्नु भाइ उनीहरुमा अलिकति पनि मानवता रहेनछ । पाँच सय रुपयाको समा मैले पच्चीस सय रुपया तिर्नु प–यो ।”

भएभरको जेथो–मेथो बेचेर उनले त्यो पैसा तिरेको कुरा गरिन् । “मसंग अब यो एउटा सानो नानी छ भाइ, अरु सबै मैले बेचेर त्यो पैसा चुक्ता गरेँ ।”

उनको त्यो कुरा सकिने बित्तिकै महेशका बुबा घरभित्र छिरे । राधिकाले ती महिलाको कथा बुबालाई सुनाइन । महेश भने चुपचाप बसिराख्यो । राधिकाले बुबालाई सबै कहानी सुनाइरहँदा ती महिलाले गम्भिर मुद्राको महेशतिर टुलुटुलु हेरिरहिन् । सायद उसले ती महिलाको मर्म बुझेको सोचिन् होला ।

“बहिनी, तिम्रो साँवा पैसा म तिमीलाई फिर्ता दिनसक्छु तर पाँच सय रुपयाको सट्टा पच्चीस सय भने तिर्न सक्दिन,” महेशका बुबाले भने ।

“सारै प–यो भनेको बेला मेरो श्रीमानले तपाईको छोरालाई त्यो पैसा दिएको थियो । आज त्यही पैसाले मेरो उठिबास लगायो । मलाई तपाईले २५०० नै तिर्नुपर्छ बा,” ती महिलाले हात जोडेर बिन्ति गरिन् । तर, त्यसले घिमिरेबाको निर्णयलाई कुनै असर पारेन । बरु उल्टै, छोरा हराएकाले बिचल्ली भएको बेला त्यस्तो कुरा नगर्न आग्रह गरे ।

“बरु, तिमीलाई ठगेर पच्चीस सय पैसा उठाउनेलाई ठीक पार्न सघाउँछु । त्यसले तिम्रो उठिबास गरेछ । साँवा रुपैयाँभन्दा अरु तिर्नसक्ने अवस्था छैन । पूरै पैसा लिने भए तिमीले छोरालाई पर्खनु पर्छ बहिनी ।”

तर, ती मानिसहरु अमेरिका पुगिसकेको उनले तर्क गरिन् ।

त्यस सयममा महेशको  भारतको सिक्किममा जागिरे थियो । उसको आम्दानीको तुलनामा त्यो रकम तिर्नलाई कुनै अप्ठ्यारो कुरा थिएन । तर, ऊ भने असमंजसमा थियो । उसका बुबाको कुरा कदापी नराम्रो थिएन । कुनै प्रमाणविनाको ती महिलाको दाबी झुटो पनि हुन सक्छ भन्ने शंका पनि महेशको मनमा उठ्यो । सायद घिमिरेबाले पनि त्यो कुरा राम्ररी बुझे होलान् । फेरि सोही प्रकारका ऋणका कुरा लिएर त्यो घरमा अरु मान्छे पनि यदाकदा आउने गरेकाले त्यसबेला अलिक सर्तक रहने महेशले विचार ग–यो ।

“यो सबै कुरा बुबाले मिलाउनु हुन्छ । तर, बुबाले मलाई पैसा माग्नु भएको भए त्यती पैसा भने मैले दिनुपर्ला,” महेश एकैक्षण कल्पनामा डुब्यो ।

उता ती महिलाको दयानक अवस्था हेर्दा टीठ लाग्दो थियो । जसले उनलाई ठगेर २५०० रुपैयाँ उठायो, त्यसले मानवीयतामाथी प्रश्न चिन्ह खडा गरेको थियो । ऋण उठाउनु उनीहरुको पाप हैन तर ऋणको नाममा गरीबलाई उठीबास बनाउनु कदापी राम्रो कुरा थिएन । अमेरिकालगायत सम्पन्न मुलुकमा पुनर्बास हुने सबै मानिसहरुको आचरण र व्यवहारिकता एकै प्रकारको पनि हुन्न । तर, गरीबलाई दरिद्र ब एर जेथोमेथो नै नष्ट पार्ने त्यो प्रवृत्ति भने धेरैका लागि दुखलाग्दो कुरा हो । दुई दशकसम्म बसेको शरणार्थी शिविर छाडेर विदेशिनुपर्दा त्यसप्रकारका सानातिना हिसाबहरु मिनाहा गरेको महेशले धेरै देखेको–सुनेको थियो । तर, ती महिलाको अवस्थामा भने ठीक विपरित भएको रहेछ । नयाँ मुलुकमा सम्पन्न जीवन शुरुगर्न हिडेको त्यो परिवारका लागि त्यती थोरै पैसाले कुनै फरक नपार्ला, यो यथार्थ हो ।

नमान्दा नमान्दै घिमिरेबाले ती महिलालाई पाँच सय रुपया दिए । त्यो पैसा समाउनु पनि उनका लागि ठूलो बाध्यता थियो । उनका आँखा आँसुले ढाकेका थिए ।
“हुन्छ नि त बुबा, मेरो लागि यति भए पनि ठूलो राहत हुन्छ,” भन्दै ती महिलाले आफ्नो निदाइराखेको बच्चा टिपिन र घरबाट बाहिरिन । एक पटक फेरी घरमा शुन्यताले छायो । महेशका बुबा भित्रबाट उठेर बाहिरतिर लागे । त्यसपछि राधिका उठिन । महेश भने त्यसै ओच्छ्यानमा पल्टिराख्यो ।

कक्षा १२ मा पढ्दा विद्यालयको शुल्क तिर्न नसक्दा ‘भोलीदेखि कक्षामा नआउनु’ भनेको सम्झना महेशको दिमागमा एक्कासि आयो । त्यस दिन ऊ विद्यालय सकेपछि सिधै घर गएको थियो । उसका बुबा घरबाट हिडेको पनि धेरै दिन भएको थियो । घर पुगेर उसले सबै कुरा आमालाई सुनायो । आमाले ऋण मागेर भए पनि विद्यालयको शुल्क तिरिदिने महेशलाई आश्वासन दिएकी थिइन । तर कसैले ऋण नपत्याउदा त्यस दिन बेलुकी उसकी आमा रुँदै घर फर्किन । पढाइमा जेहेन्दार र अतिनै लगनशीन महेशलाई सबै साथीहरुले माया गरे ता पनि गरिबी उसका लागि ठूलो तघारो बनेको थियो । आमा रोएको देखेर महेशले आँफै ऋण खोजेर विद्यालयको शुल्क तिर्ने कुरा गर्दै आमालाई सम्झाएको थियो । भोलीपल्ट विहान शिविर नजिकैको एक जना राम बस्नेतकामा गएर महेशले विन्ति विसायो । बस्नेतले उसलाई केटाकेटीको पढाइमा सहयोग गरिदिने सर्तमा चार हजार रुपया दिऐ । त्यो पैसाले खुसीको सिमा रहेन र घरमा गएर त्यो सफलताको कुरा महेशले आमालाई सुनायो । आमा सारै खुसी भइन । “पछि तिर्नसक्छस् नानी, भोली नै त्यो पैसालगेर विद्यालयमा तिर्नु,” आमाले महेशलाई भनेकी थिइन ।

ती महिला आएको कुरा र उनको पीडा महेशकी आमालाई थाहा थिएन । पछि साँझमा उसले आमासंग सबै कुरा ग–यो । “विचरा, तैले एसो एक–दुई सय रुपया थपिदिएको भए हुन्थ्यो नी नानी,” उसकी आमाले भनिन् । तर, बुबाले गाली गर्नुहुन्छ भन्ने सोचेर उसले त्यसो नगरेको कुरा आमालाई सुनायो । हराएको महेशको दाजु भेटिए पछि केही रकम विचार गर्ने कुरा उसकी आमाले गरिन ।

हराएको दाजु पनि घर आएको सात महिना जति पुगिसके पछि महेश घर आयो । दाजुलाई भेट्ने वित्तिकै ती महिलाको परिवारसंगको कारोबारका विषयमा कुरा ग–यो । दाजुले ऋण लिएको ती महिलाको कुरा साँचो रहेछ । अनि, उनलाई एक जना मगर थरभएका व्यक्तिले पाँच सयको ठाउँमा २५०० उठाएको कुरा पनि सत्य नै रहेछ । तर, अप्सोच महेशको घरबाट पैसा लगेको केही दिनदेखि नै ती महिला आफ्नो नाबालक बच्चालाई लिएर शिविरबाट बेपत्ता भइछन् ।

“ऊसलाई म पच्चीस सय नै तिर्ने थिएँ तर विचरा उनी आँफै लापत्ता भइछन,” हराएको दाजुले सानो स्वरमा महेशलाई भन्यो, “सायद त्यही पैसाले उनको उठिबास भएछ क्यार ।”

One Reply to “उठिबास”

  1. D.P.Osti

    कथा अत्यन्तै मार्मिक यथार्थको धरातलबाट उठेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *