उनीहरुको खुशीमा…………..
सुशील पोखरेल
दक्षिण अष्ट्रेलिया
मेरा बाबा भन्नुहुन्थ्यो एकदिन हामी भूटान फर्कनेछौं । उनको शरणार्थी जीवनको सबैभन्दा ठुलो सपना पनि यही थियो । सुरु सुरुमा मलाई पनि त्यस्तै लाग्थ्यो । लामो समयसम्म आन्दोलनमा सघाउने काम पनि गरिएको हो । त्यसताक जोस जाँगरको कमी थिएन । सबैथोक गुमाएर पनि काम गरिएको थियो । महिनौंसम्म शिविरदेखि भूटान… फुन्सोलिडसम्म पैदल यात्रा गरेर भूटान छिर्ने काममा मेरो पनि केही योगदान रहेको छ । एउटा इमान्दारीपूर्ण काम गरिएको थियो त्यो । दर्जनौं राजनीतिक पार्टीहरू आफ् आफ्नो झण्डामा भूटानको आन्दोलनको शंखनाद गर्थे शिविर र आसपासमा । शिविरका जनता जुन पार्टीले जता घुमायो त्यतै । एउटै व्यक्तिको आज प्रशंसा हुन्थ्यो भने भोलि निन्दा । कुनै कुराको निश्चितता नै थिएन । भविष्य कस्तो होला भनेर कसले के अडकल काट्न सक्छ र । मनको द्धन्द्ध मनैमा रहन्थ्यो । जाति, भाषा, धर्म र संस्कार संस्कृतिलाई लिएर भूटानीहरु भूटानमा जस्तै शरणार्थी शिविरमा पनि टुक्रा टुक्रामा विभाजित हुँदै थिए । यस विभाजनमा राजनीतिले अझ ठुलो स्थान पाएको थियो भन्नुपर्छ । यसको मूल कारण नै वर्षौंदेखि हामीबिच रहेको अशिक्षा र पछौटेपन हो भन्ने हाम्रो सन्दर्भको कुरो भूटान सरकारले वर्षौंदेखि बुझेको रहेछ भन्ने मेरो लख छ । दुइदशक बितिसक्दा पनि हामीले हाम्रा कमी कमजोरी के हुन्, के कुरामा हामी चुक्दैछौं भन्ने बुझ्न सके जस्तो छैन । बेलैमा बुझेको भए हामीमा विभाजन जस्तो भयानक रोग लाग्ने थिएन । हामी के के के के कुरामा टुक्रिएर हरने थिएनौं । एउटा समतापूर्ण भूटानी समाज हाम्रो हुने थियो जसमा हामी सबै एउटै घर घरेडी, खलिहान वा चौतारोमा अटाउँन सक्ने थियौँ । हाम्रो परिकल्पना पनि त्यस्तै थियो । निरङ्कुश भूटान सरकारको लागि यो नै एउटा ठुलो तीर साबित हुने थिएन र । विस्थापित पछिको दुइदशक भनेको एउटा जुग हो । यसबीच अनेकौँ परिवर्तन आए । प्रत्येक पलले नयाँ कुरो सिकाएको थियो । यस्ता कुरालाई मध्यनजर राख्दै समस्याको मूल जरो केलाउने प्रयास भएन । केलाउन सक्नेहरुको कमी थिएन । तर तिनीहरू आफ्नै घेरोभित्रको राजनीतिमा सीमित रहे । भूटान सरकारले यस कमजोरीको भरमग्दुर फाइदा उठाएको हो भन्ने मेरो ठहर छ ।
प्रायः अढाई वर्षसम्म भूटानी जेलमा यातना खपेको कारणले पनि होला घरफिर्तीको काममा कसैले पनि कुटिल राजनीतिभन्दा माथि उठेर इमान्दारीको काम गरे कति राम्रो हुन्थ्यो जस्तो लाग्थ्यो मलाई । पाँच वर्षसम्म शिविरको स्कुलमा पढाउने काम पनि गरियो । अरू साथीहरूलाई जस्तै मलाई पनि दिनदिनै समस्याले पिरोल्न थाल्यो । दिएको राहतले परिवार धन्न गहारो । केही पैसा नकमाए के खाने के लाउने । शिविरमा दसैँ तिहार, तीज जस्ता चाडको मन र धनले नपुगे पनि पुर्याएर स्वागत हुन्छ । कसैले कुनै कमी रहन दिँदैन । यो भूटानीहरुको विशेषता नै हो भन्नुपर्छ । दुख होस वा सुख उत्तिकै रमाएर मनाइन्थ्यो चाडबाड । एक पछि अर्को गर्दै शिक्षक साथीहरू शिविरको स्कुलबाट बाहिरिन थाले । मेरो जस्तै उनीहरूको पनि यो एउटा बाध्यता थियो । पछि यत्तिकै के बस्ने केही इलमी काम गरौँ न त भन्ने भयो । पत्रकारिता आफ्नो रोजी विषय भएकोले काठमाडौँमा एक वर्ष पत्रकारिताको प्रशिक्षण र तीन वर्षसम्म सिलगढीको एउटा नेपाली दैनिकमा सह सम्पादकको काम गरियो । सुरुमा भूटान अनि शरणार्थी शिविर, अनि पछि सिलगढीको जनजीवनको भिन्न वातावरणमा आफूलाई ढाल्नु मेरो निम्ति निकै परिश्रमको विषय थियो । त्यसताक सिलगढीका मेरा पत्रकार साथीहरूको मप्रतिको आत्मीयता मेरो निम्ति एउटा अमिट प्रेरणा साबित भएकोछ । सिलगढी वा आसपासमा विभिन्न समयमा हुने गरेका भूटानी आन्दोलनका समाचार लेखनमा मेरो कलम तटस्थतासित चलेको हो । एउटा इमान्दारितापूर्ण समचार लेखन । बेलाबेलामा अमिलो, नुनिलो, चर्को, तितो, पिरो, तिखो, रुखो अनुभव गर्नु परेको पनि थियो मैले । तर, त्यस अनुभवले मलाई जे जति दियो त्यसमा असन्तोष गर्नु हुन्न भन्ने मलाई लाग्छ । भारतीय नेपाली समुदायले भूटानी शरणार्थीको जसरी पनि स्वदेश फिर्ति हुनपर्छ भन्ने चाहेको कुरो मलाई राम्ररी थाहा छ । सिलगढीमा काम गर्दा एक साधारण व्यक्तिदेखि मन्त्री अनि सांसदसम्म राम्रो परिचयको अवसर पाउनु मेरो निम्ति कम खुसीको कुरो होइन । यो कुरो म स्वीकार गर्छु । दार्जीलिड, डुवर्स, सिलगढी र कालेबुडका साहित्यकारहरुलाई म कहिल्यै बिर्सन्न । समाजसेवीहरुलाई भुल्दिन । राजनीतिज्ञहरुलाई बिर्सन्न । उनीहरू हाम्रो समस्याप्रति निकै गम्भीर छन् । सम्वेदनशील छन् । भूटानी समस्याको असर समय समयमा उनीहरुबीच पनि पर्ने गरेको छ । अझै पनि भूटानीहरु भूटान फर्कन पाउनुपर्छ भन्ने उनीहरूको अडान छ । पत्रकारिताको सन्दर्भमा यसरी भारतीय नेपाली समुदायबीच चारवर्ष बिताइयो । जाँगरले काम गरिएछ । यतिको समयसम्म आफ्नै पनि काम नगरिएको होइन । यी दिनहरू मेरो जीवनमा अविस्मरणीय भएर रहने छन् ।
जहाँ गए पनि तर यो खप्पर झन् अगाडि । अरूको जस्तै मेरो पनि परिचय एउटा शरणार्थीको रूपमा भईसकेको हुँदा वर्षौं सिलगढी बसे पनि शरणार्थीको अपवाद त्यहाँ पनि मेटिएको रहेनछ । कता कता अमिलो पनि लाग्छ सम्झेर अहिले । मैले आफू शरणार्थी भएको कुरो स्वीकार्नैपर्छ ।
तेस्रोदेश पुनर्वासको कुरो चल्यो शिविरमा । विरोध र समर्थनका स्वरहरू पनि नउठेका होइनन् । तर, यस कार्यक्रमले हाम्रो नियति नै परिवर्तन गर्छ भन्ने कल्पनासम्म गर्न सकेको थिएन मैले । भूटान सरकारले मलाई शरणार्थी बनायो । तर शिविरमा मेरा आफ्नै दुई शरणार्थी वालिका जन्मिसकेका छन् ,मेरा दुई छोरी । साँचो अर्थमा मैले थप अरू दुई शरणार्थी जन्माई सकेको छु । उनीहरूले भूटान देखेकै छैनन् । उनीहरूलाई भूटानको केही थाहा छैन । मेरा छोरी जन्मजात शरणार्थी भएर रहून्, यो उनीहरूको निम्ति मैले गरेको भारी अन्याय हुनेछ । हिजोसम्म म उनीहरूको निम्ति गम्भीर थिर्इँन । उनीहरूको सुनौलो भविष्यप्रति म सम्वेदनशील हुन पनि सकेको थिर्र्इँन । यो एक बाबुबाट हुन गएको भुल बाहेक अरू के हुन सक्छ र । तर, अब मैले उनीलाई कुनै देशको परिचय दिनु छ । शरणार्थीको अपवादबाट सधैँको निम्ति छुट्कारा दिलाउनु छ । यस्तै अन्योलताको तर्क वितर्कमा सिलगढी, बेलडाँगी र दमकमा एकवर्ष बितेछ । भूटान फर्कने सपना बोकेका मेरा बाबा पनि अमेरिका पुनर्वास भइसक्नु भएको छ । ९ महिनाको वैचारिक द्धन्द्ध पछि एकदिन मेरो सानो परिवार पनि सात समुद्रपारीको अथाह यात्रामा हिँडेको थियो ।
आज १५ महिना बितेछ अष्ट्रेलिया आएको । एडिलेडको घुइँचोमा अहिले म मेरो र परिवारको भविष्य खोजी रहेको छु । मेरा दुई छोरी खुसी छन् । उनीहरू आफ्नो भविष्य बनाउने तरखरमा लागेका छन् । उनीहरूको नयाँ संसार निकै रमाइलो छ । केही वर्षमा उनीहरू यस देशका नागरिक पनि हुने छन् । अनि उनीहरूको खुसीमा म पनि खुसी हुनेछु दशकौं अघि यस देशमा आउने अरू देशका आप्रवासी जस्तै ।
Hello Susil sir,Lek sandarrvik lagyo.I dont know whether you know me or not.Could you please send your mailing ids to me?i remember i and your wife had taught together in schools in pancha-oti.
Thanks
Thanks
Madan.
CIC
Settlement Officer
Citizenship and Immigration Officer
Charlottetown
Sushiljee,
Tapaiko sansmaran le malai pani Beldangi, Damak,siliguri, Duars phanphani ghumai diyo.Lagchha ti din tyassai khera jadainan. Samaya ati balwan chha yasaile niyati nirman gardachha. Barshako huri hundari sita simalko bhuwa ko ke jori lagchhara. simalka rukh kahilyai masiyeka chhainan.Khusi lagyo.
Sushil Sir,
Very penetrating and illustrative write up. Keep writing. I enjoyed it.
Rp Subba.
VA, USA
जन्मै शरणार्थी हुन पुगेका नानीहरूप्रति व्यवस्था र अवस्थाले शरणार्थी हुनपुगेका बाबुको पीडालाई बोध गर्न सकियो यो लेखबाट। भूटान अब सपनाको देश भयो कहिलेकाहीं दन्तेकथाका बीचमा आउने देश, नानीहरूलाई बाबुको बिर्ताका रूपमा भन्नुपर्दा एउटा पीडा छ- शरणार्थीको जीवन भोगाइको तर अतीत जे भए पनि वर्तमानले भने सुनौलो भविष्यको संकेत गरेको छ, त्यही नै मन बुझाउने आड छ।
यो लेख एउटा इमान्दार व्यक्तिको आन्तरिक अभिव्यक्ति हो, जसले जीवनका पाटा-पाटा भोग्न आफ्नो जीवन खर्चेको छ।
-पदम पराजुली
भुटान, बनारस, काठमाडौँ, झापाका शिबिर, सिलिगुरी हुँदै अस्ट्रेलिया . जीवनको बाँच्ने चक्र जस्तै । अनुभूति गर्नु एउटा कुरा अनुभव गर्नु, भोग्नु अर्को कुरा । भोगेको दुख कालान्तरमा फेरि अनुभूत गर्दा आनन्द आउछ । अगाडिको जीवन बाच्न उत्प्रेरणा पनि प्रदान गर्छ । भोगेको जीवन शब्दमा थपक्क थालमा पस्केको भात जस्तै पाठकहरु माझ राख्न सक्नु लेखकको साहितिक सिल्प हो । सबैले भोगेको र मनमा लागेको कुरा सजिलै उतार्न सक्ने भए सिल्पिको घुइचो हुने थियो होला । लेखक लेखिरहेको छैन मानौ पाठक पो भोगिरहेको छ जस्तो लाग्छ ।
अरुले छाता ओडाएको राजा पनि ओडाउनेको हात नगलुन्जेल मात्रै हो ओतिने तर पर्खने पनि कति ।
विश्व एउटा सानु गाउँ हुन थालेको बेला संसार हाम्रै हो । सजिलो गरि रमाउन सक्ने ठाउँ नै हाम्रो हो । अनुभूतिका थप छालहरू आउने आशामा ।
,