उ–हिमनदी, बग्दैछ हिमशिखरदेखि महासागरसम्म

देउकुमार तामाङ
खुदुनावारी, झापा

उ हिमनदी
पहाडको शिखरबाट जन्मेर
उचालिँदै, थेचारिँदै, पछारिँदै
लड्दै, पढ्दै
पहाड पहरासँग अजम्मरी साइनो गाँस्तै
कहिले सुनकोस, मानस
कहिले अरुण, सप्तकोशी
कहिले गंगा अनि ब्रम्हपुत्र हुँदै
बगिरहेछ निरन्तर, निरन्तर

उसित छ
किहिले भंगालो हुनुको पीडा त
कहिले दोभान हुनुको आनन्द
अनेकौं चुनौतिहरुको सामना गर्दै
दुई किनारासँग माया लगाउँदै
उष्ण बगरले निल्छ कि भन्दै
अनिस्तिताभित्र निश्चित गन्तव्यको खोजीमा
अँध्यारोभित्र ज्योतिपुञ्जको खोजीमा

पूर्व, पश्चिम
उत्तर, दक्षिण हुँदै
कहिले प्राकृतिक प्रकोप
कहिले राजनीतिक अस्थिरता त
कहिले रोजगारीको खोजीसंगै
जीवनको यात्रा–
निरन्तर, निरन्तर गरिरहेछ
अनादिदेखि अनन्तसम्मको यात्रामा
हिमशिखरदेखि महासागरसम्म

उसलाई देख्ता यस्तो लाग्छ
उसले बाँचेको भुगोल र परिवेश पटक्कै उसको होइन
त्यो भन्दा धेरै पर, धेरै पर
उ महासागरको अंगालोमा हराउन चाहन्छ
किन भने
उ विशाल भूलोलको खोजीमा छ
उ विशाल छातीको खोजीमा छ
जहाँ भ्रातित्वप्रेम सल्वलाओस्
जहाँ मानवता ढकमक फुल्न सकोस्
जहाँ हर्के, बिरे, बहादुरे आदिले आनन्दले बाँच्न सकुन्
जहाँ हरिमाया र रनमतिले निर्धक हिँड्न पाउन्
जहाँ क्याकटस काँडाहरु गुलाफ भएर मुस्कुराउन सकुन्

 

One Reply to “उ–हिमनदी, बग्दैछ हिमशिखरदेखि महासागरसम्म”

  1. Lakshmi Prasad Dhakal

    “जहाँ भ्रातित्वप्रेम सल्वलाओस्
    जहाँ मानवता ढकमक फुल्न सकोस्
    जहाँ हर्के, बिरे, बहादुरे आदिले आनन्दले बाँच्न सकुन्
    जहाँ हरिमाया र रनमतिले निर्धक हिँड्न पाउन्
    जहाँ क्याकटस काँडाहरु गुलाफ भएर मुस्कुराउन सकुन्”

    कति मिठो अनि कति घत लाग्ने शब्द चयन.

    लक्ष्मी प्रसाद ढकाल
    अम्सटरडाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *