एउटा पत्र
नेपाली साहित्यका वरिष्ठ समालोचक डा गोविन्दराज भट्टराईलाई समसामयिक भूटानी नेपाली साहित्यका सन्दर्भमा लेखिएको पत्र जस्ताको तस्तै यहाँ राखिएको छ।
आदरणीय गोविन्द सर,
लामो समयदेखि हजुरसँग धेरै गन्थन लेख्ने रहर थियो। समयको अभाव र विविध प्राविधिक समस्याका कारण आफ्ना इच्छाहरु खुम्च्याइ राखेँ। तर आज लेख्नै मन लागेको छ।
यसरी एक्कासी कुनै अपरिचित युवकको पत्र पाउँदा हजुरलाई अचम्म लाग्नेछ। व्यस्त हुनुहुन्छ होला; आरामीको कामना गर्दछु। सम्भवतः सधैँकोलागि नेपाल छोड्नुपूर्व काठमाँडूबाट फोन गरेर ‘उत्तरआधुनिक विमर्श’ मगाएको थिएँ। थाहै नपाई आधा वर्ष हुनै लागेछ। सपनामासामेत कहिल्यै नदेखेको सुदुर उत्तरी क्षितिजको आधा रातमा सुर्य देखिने देश नर्वे आउनुपुर्व टेलिफोन सम्पर्क हुँदा नेपाली भाषा र संस्कृतिलाई आफूसँगै लिएर जान्छु भनेको थिएँ; आज आफूसँगै त्यो आयो कि आएन भनी खोज्दैछु। मलाई पूरा थाहा छ कि नेपाली भाषी भूटानीहरुलाई तेश्रो देश पुनर्वास गराउने प्रक्रियासँग हजुर कहिल्यै सहमत हुनुहुन्नथ्यो; संघर्ष गर आफ्नो आधिकारकोलागि भन्दै हुनुहुन्नथ्यो। तर त्यो भएन र धेरै भूटानीहरु विदेशिँदै छन् आज। तिनैमध्येको एक हुँ म।
यहाँ आइसकेपछि लामो समयसम्म एक प्रकारको रिक्तताले छोपिरहयो। विली चन्द्रनकोभन्दा ज्यादै फरक जीवन बाँचिरहेका भूटानीहरु अस्तित्वको विभाजनको जटिल परिस्थितिमा छन् यतिबेला। फरक परिवेश र स्थानमा उचित तवरले बाँच्न यहाँकै संस्कारमा रुपान्तरित हुनु पर्ने जटिलताभित्र आफ्नो अस्तित्वको खोजी निकै कठिन भएको छ। बिच्छेदनले निलेको सुदुर अनकन्टार भू-भागबाट मानव संवेदना यान्त्रिक्रित भएको स्थानसम्म आइपुग्दा कन्चन नेपालीपना बोकेका भूटानी मनहरुले भोगेको रुपान्तरणको पीडा केवल कल्पना गर्न सकिन्छ; महसुस गर्न सकिँदैन। यति हुँदाहुँदै पनि हामीहरु आफ्नोपनाको उचित संरक्षणकालागि जुटिरहेका छौँ।
हाम्रो आगमनपश्चात नर्वेमा विशेष कार्यक्रमकाबीच भानुजयन्ति मनाइएको छ। आधुनिक प्रविधिको विशेष प्रयोग भएको छ। भूटानी समाज बनाउने र आफ्नो संस्कृतिको संरक्षणमा जुट्ने खास प्रकारका पहलहरु हुँदैछन्। यसरी भूटानीहरु पुगेका ठाउँहरुमा ससाना नेपालहरु बन्दै छन्। यो परिवेशलाई कसरी मूल्यांकन गर्ने होला; म सोचमग्न भएको छु।
आज नेपाली साहित्य विश्वसाहित्यको धारमा आफ्नो उपस्थितिको खोजी गर्दै छ। अनेकन् प्रकारका नयाँ प्रयोगहरु हुँदै छन्। नेपाली साहित्य परिमार्जित हुँदै छ। विगत एक दशकमा नेपाली साहित्यले जुन उचाइ हाँसिल गरेको छ, त्यो गौरवमय छ। अबको पालो हाम्रो हो। भूटानी परिवेशको नेपाली साहित्यले मूलधार नेपाली साहित्यभित्र आफ्नो उपस्थितिको खोजी गर्ने समय भइसकेको छ। हामी आज एउटै भूगोलभित्र छैनौँ। संसारका विविध भागहरूमा छरिएका हामीहरूमा समयले आज विशेष जटिलता लादेको छ। हामीले विश्वमानव समुदायको बँसाइसराइको विगतको इतिहास पल्टाउनु पर्दछ। संसारको जुनसुकै भागमा रहेका मानिसहरुले आफ्नोपना जोगाएर राखेका हुन्छन्; त्यो हामीले पनि सिक्नु पर्दछ। यसका लागि आफ्नो भाषाको संरक्षण गर्नु ज्यदै महत्वपूर्ण छ।
यी र यस्तै कुराहरुले प्रेरित हुँदै आज हाम्रो परिस्थितिको साहित्य पनि लेखिँदैछ। त्यसो त नेपाली साहित्यको मूलधारले हामीलाई कहिल्यै देखेन; मलाई त देख्न खोजेन जस्तो पनि लाग्छ। अनुबन्धित समयका जटिल पासाहरुले आवाजहीन बनाइएका शरणार्थीहरुका शब्दका खेतीहरुबाट कसैले ठूलो अपेक्षा गरेन भन्ने मेरो ह्रदयको गुनासोलाई बारम्बार दिमागले मूल्यांकन गर्छु, सही लाग्छ। शरणार्थी झुप्राभित्र गुम्सिएका यस्ता अनेकन् स्वरहरु झुप्रैभित्रै सीमित रहे भन्ने मेरो बुझाईं छ। नत्र पाँच वर्षअघि दमकमा भएको त्रि-दिवसीय, त्रि-देशीय साहित्य सम्मेलन(जहाँ हजुर सम्भवतः विशेष अतिथि हुनुहुन्थ्यो) मा भूटानीहरुलाई पनि समावेश गराइन्थ्यो होला!
तर लेखिरहेछ्न् शरणार्थीहरु। देबीभक्त लामिटारेको ‘दन्कँदो भूटान’ देखि बलराम पौडेलको ‘भूटान: हिजो र आज’, टेकनाथ रिजालको ‘निर्बासन’ आदि हुँदै सञ्चमान खालिङको ‘धनेहरु निरन्तर हिँडिरहे’ र पुरानाघरेको ‘प्रलयाग्निको संघारबाट ‘ सम्म आइपुग्दा भूटानीहरुका तर्फबाट गन्न योग्य दर्जनौँ पुस्तकहरु आइसकेका छन्। यसका अलावा डायस्पोराबाट अनवरत लेखिरहेछन् रुपनारायण पोखरेल र टीपी मिश्र अंग्रेंजी र नेपाली दुबैमा, डोना आचार्य, घनश्यम रेग्मी, यदुराज बराल र सञ्चमान खालिङहरु, यतीराज अजनबी र रमेश गौतमहरु। अझै पनि शिविरभित्रका लेखकहरु उतिकै सक्रिय छन्। शिवलाल दाहाल र मणिराम धिमाल नयाँ संग्रहसँगै आउँदै छन्। भूटान गजल मंचले जन्माएका युवा गजलकारहरुको संख्या गनिसाध्य छैन। यसअघि नै पुस्तक प्रकाशित गर्ने लेखकहरुको नामावली निकै लामो भइसक्यो।
भूटानी परिवेशभित्रबाट संचार क्षेत्रमा भएको विकास निकै मनन्योग्य छ। टीपी मिश्र, विध्यापति मिश्र, इन्द्र अधिकारी, इच्छ पौडेल, अर्जुन प्रधान र अरुहरु निरन्तर लेखिरहेछन्। आफ्नै व्यक्तिगत र सामुहिक ब्लगहरुमार्फत लेख्ने भूटानीहरुको संख्या पनि बढ्दो छ। सबैभन्दा अगाडी छन् अमेरिकाका प्रकाश पौडेल र साथीहरु।
यी सबै कुराहरुको मूल्यांकन निश्चय पनि हाम्रै समुदायभित्र गरिनु पर्दछ तथापि नेपाली साहित्यको डायस्पोरिक विकाशक्रमको मूल्यांकन गरिँदा अब भने कहिल्यै पनि भुटानी डायस्पोरा छुट्नु हुँदैन भन्ने मेरो आग्रह छ। खास गरी आप्रवासी नेपाली साहित्य र यसले अंगिकार गर्दैगरेको साइबर संस्कारसँग हजुर नजिक हुनुहुन्छ र यसैका लागि धेरै समय खर्च गर्दै हुनुहुन्छ। अबको पालोमा भूटानी आप्रवासलाईसमेत आफ्नो खोज र साधनाको विषय बनाइदिनुहुन म हजुरलाई विशेष अनुरोध गर्दछु। नेपाली साहित्यमा नवीनता, प्रयोग र उत्तरआधुकनिकताका छापहरु खोजिरहनु भएको हजुरले भूटानी परिवेशको साहित्यमा पनि कतै यिनै कुराहरुको विशेषता पनि भेट्नुहुनेछ भन्ने मेरो आशा छ। सांस्कृतिक झट्काहरुको पीडा सहँदै सांस्कृतिक ठिमाहापनभित्र मुस्कुराउन बाध्य भूटानीहरुले भोगेको समय नै एउटा विशेष अवस्था हो।
सर, यस्तै जीवन भोगाइ र साहित्यसाधनाको साझा चौतारी हो www.bhutaneseliterature.wordpress.com । आशा छ एकपटक हेरिदिनुहुनेछ र सुझाव-सल्लाह दिनुहुनेछ। सम्भव भएसम्म यहाँ समाविष्ट रचनाहरुको समीक्षा गरिदिनुहुन अनुरोध गर्दछु।
सरले लन्डनमा साहित्यघरलाई दिनुभएको अन्तरवार्तासमेत ‘उत्तरआधुकनिकता’ अन्तर्गत समावेश गरेको छु। हेरिदिनु होला। एक चोटी फोन गरेर धेरै बोल्न मन लागेको छ। सरलाई फुर्सद छैन होला भनी मन मारिरहेको छु।
अनपेक्षित रुपमा पत्र लामो भएकोमा क्षमाप्रार्थी छु। आफ्नो व्यस्तताको बाबजुद पनि झर्को नमानी पढिदिनु भएकोमा आभार ब्यक्त गर्दछु। लेखनमा भावपरक गल्ती भए क्षमा अपेक्षा गर्दछु।
रमेश गौतम
नर्वे
Keep on doing this good job Ramesh dai.We,the Bhuanese really appreciate your works.Always remember us if u need any help and suppport.
Thanks
did we get response to that letter to Dr Govindaraj Bhattarai? Would be interesting to know.
Dear Rameshji,
Really, having no space and identification for the Bhutanese writers in the history of literature is unjust.
More or less since 1970s they have been maintaining their presence in the Nepali literature. Distinctly they have been working hard in the field of literature and media in the last few decades.
We really appreciate and ever ready to extend any kind of support to make the platform keep going in a full swing.
Thank You
Sanchaman Khaling
PA, United States
रमेशजी , आफ्नो अस्तित्वको खोजीमा निरन्तरता दिइएको प्रेरणाप्रद पत्रले सबैको मन अवश्य छोएको हुनु पर्दछ |आसा गरौ गोबिन्द सरको शिक्षा प्रद प्रतिउत्तर यथाशक्य चाडै पडन पाउने अवशर पाउनेछौ सबै ले धन्यवाद , खेमनाथ दाहाल