एक जँड्याहाको कथा

तुम्बेहाङ लिम्बू

त्यो मान्छे मातेको छ।
छिमेकीहरू भन्छन्– ऊ सधैँ मातिरहन्छ।
साथी-सङ्गी भन्छन्– ऊ मातेकै हुन्छ ।
इष्ट-मित्र भन्छन्– मात्नु उसको नित्यकर्म भइसक्यो ।

थिम्फूको चिसो ठिहीमा ट्याक्सी चलाउँथ्यो त्यो, सन् १९९३ मा । बाउले कामबाट रिटायर्ड हुँदा पाएको पैसाले किनेको थियो, त्यो निलो रङ्गको ट्याक्सी। गुजारा राम्रै चलिरहेको थियो । राम्रै यो मानेमा कि, दुईछाक दाल-भात र डुकु जुटाउनलाई हर्जा थिएन । बाँकी दक्षिण भूटानीले भोगेको पीडा त छँदै थियो । अरूको जस्तै ।
त्यो भाइ फटाहा त होइन । राजनीतिक लाइनको पनि होइन । गल्स् क्रेजी पनि थिएन । अँ, बाबु-आमाको लाड-प्यारले जिम्मेवारी चाहिँ बोध गरेको थिएन । अलिक पछिसम्म आवारागर्दी चाहिँ थियो, उसमा । अलिक अबोला थियो। गम्भीर स्वभावको । – म सोच्छु । फेरि मेरो मनमा कुरा खेल्छ– त्यो भाइ त निकै शिष्ट थियो । शिष्ट मात्र होइन आवश्यकता भन्दा बढी सोझो । कति चोटि मेरो घरमा मेरै कोठामा पनि बसेको । सहयोगी थियो । भनेको लाग्ने । लामो हात कहिल्यै नगर्ने । ठुलो हुनु कहिल्यै नजान्ने ।
धूम्रपान, मदिरापान, यस्तो पनि थाहा पाएको थिइनँ मैले । तर के भयो यस्तो कि अचानक आज त्यो सोझो भाइ एकाएक जँड्याहा भयोॽ, रक्स्याहा भयोॽ जीवनदेखि हरेस खायो । सबको नजरमा निकम्मा भयोॽ– म अलिक बढी चिन्तामा परेँ ।
त्यो भाइप्रति म मा अचानक सहानुभूति पलायो ।

एक समय जुन बेला मसँग पढ्नलाई खर्च थिएन । भूटानको राजतन्त्रले दक्षिण भूटानीलाई पढ्ने अधिकारबाट वञ्चित गरेको थियो । त्यो बेला त्यही भाइ हो “दाजु, चिन्ता नलिनुहोस् । तपाईँ र म कालिम्पोङ गएर पढ्नुपर्छ । खर्च म निकाल्छु”, भनेको थियो । कहाँबाट खर्च ल्याउँछौ भनी प्रश्न गर्दा, दुवै जनाको खर्च खापेर बाउलाई माग्छु भन्थ्यो । निशा-भाङ गर्नु हुँदैन, केटीको मामिलामा पर्नु हुँदैन, पुगिहाल्छ नि दाजु जसोतसो, भन्थ्यो । त्यस्तो सोझो औ हितकारी मान्छे आज कसरी ॽ… कसरी यस्तो ॽ… – म अलिक गम्भीर भएँ ।

टेबलको मोबाइल फोन टिपेँ । म्यसेञ्जर चेक गरेँ, उक्त समयका छिमेकीहरू अनलाइन रहेछन्– जो त्यो भाइलाई नजिकबाट चिन्दथे । मैले कल लगाएँ । धेरैबेर कुरा भयो । घर-गाउँको, वर्तमान परिस्थितिको, र अन्ततः त्यो भाइको । ती छिमेकीले के के भने, त्यो सबै त मनमा रहेन । तर एन.ओ.सी. नपाउँदा, रुट पर्मिट नपाउँदा, नागरिकता प्रमाणपत्र नपाउँदा, सामान्य जागिर धरि नपाउँदा विचलित भएर “खोइ मलाई त्यो क्रान्तिकारीहरूको ठेगाना देऊ, म पनि त्यही बाटो जान्छु” भन्दै छटपटिन्थ्यो भनेको प्रस्ट थाहा छ ।

सन् १९९० मा राजतन्त्रले विशेषतः नेपाली मूलका भूटानी जनतालाई रातारात सिमाना कटाएको थियो । मानव अधिकार र लोकतन्त्रकोलागि अपिल आन्दोलनले काम नकाटेपछि फ्रष्ट्रेटेड जनता आक्रामक भएका थिए । त्यही बेला गठन भएको थियो एक्सन ग्रुप । र, पछिल्लो समय छापामार युद्धको तयारी गर्ने समूहसम्म अस्तित्वमा आएको थियो । उनीहरू भूटानका क्रान्तिकारी कहलिन्छन् ।
आज लागिरहेछ– सायद यस्तै विचलनले मान्छे कि बन्दुक, कि बोतल समाउँछ । तर देख्नेले समाउनेलाई मात्र देख्छ र दुत्कार्छ । तर, समाउन विवश पार्ने कारक तत्त्व के हो, गहिरिएर हेर्न चाहँदैन ।

मलाई लागिरहेछ– एउटा दृष्टिकोणको अभावमा भोलि सबै युवाहरू ठेगाना माग्न वा जँड्याहा बन्न विवश नहुन् ।

(समाप्त)

Leave a Reply

Your email address will not be published. Required fields are marked *