एकादेशको कथा बन्दै छ
कृष्ण भण्डारी “काईलो”
बिहानै न आमाले मोही पारेको सुनिन्छ
न बेलुखी पख ढिकी जाँतोको आवाज सुनिन्छ
“घिउ हालेर दुध्यारो ल्याओत”,
बाले भन्ने गरेको त्यो वाक्यांश
कथा मात्र भएको छ ।
दिदीले टिनको होर्लाङ्गेमा मकै भुटेको
भारमा थन्काएको दाउरा
ढुंग्रामा राखेको नुन र हर्पेको घिउ
माइलाले गाग्ग्रो र कान्छाले धिरी
बोकेर हिँडेको बाटो
त्यही पधेरामा अन्त्य भयो।
हलो जुवा खोल्मामा सिउरेर
“घाँस हाल है,गोरुलाई”
हल्लुड राख्दै भन्ने गर्थे दाजुले।
“खोइ ! खोले कता छ?”
आमाको कान थर्किने स्वरमा
911 र कामको व्यस्तताले
कर्कस स्वर नम्रतामा
बद्लिएको अवस्था छ।
“ह! तारे ह!ह! माले”,अनि बाँके र पूँढे,
कण्ठे र काले हल् रांगाहरु
आलीमा कुद्दै बिउ हाल्नेहरु
असारे गीतमा रमाउने रोपारेहरु
पाटा,दांदे,फ्याउरी र कोदालाहरू
तल्लो गरा माथ्लो गरा
हिलो छ्याप्दै दोहोरी गाउनेहरु,
यी सबै सबै
उकाली ओराली र भञ्ज्याङ्ग,
खाजा-चिया ल्याउने अन्तरीको स्वर
धान काटेर खलेगरा भरेको
कुनिउको चुच्चोमा हुने फुल
धानका बाला शिला खोजेको रमाइलो
एकादेशको कथा बन्दै छ।
फ्याउरो कराएको र कुकुर रोएको
गोरुको डुक्राई अनि बाँ ! बाँ !
कोइली र झ्याउँकिरीको
मनोहर सङ्गीत भित्र सङ्गीत
कर्कस भ्यागुता र फट्यांग्राको स्वर
छिछिमिरा, भुसुना र मच्छड्को युद्ध
अमरत्वा नाम कमाएको जुनकीरा
कमलकोट्टि र पुतली अनि बारुलो
मौरी अनि खागो र बछियौं
यी सबै कलमका टुडोले लेखिने
शब्द भण्डार मात्र बन्दैछन
मात्र कलमको खेती भएर
मात्र कलमको खेती भएर