एस.एल.आर.-थ्री
तुम्बेहाङ लिम्बू-
साम्ची भूटान
साङ्गे, लाले र रिञ्जिन घनिष्ठ मित्र । उनीहरु आफ्नो समूहलाई एस.एल.आर.-थ्री भन्छन् । उनीहरु तीनै जना थिम्फूको वाई.एच.एस. मा कक्षा १२ मा अध्ययनरत छन् । उनीहरु कहिल्यै छुटिंदैनन् । एस.एल.आर.-थ्री भने पछि स्कूलमा सबैले चिन्छन् । स्कूलमा सँगै, बजारमा सँगै, जहाँ पनि उनीहरु प्राय सँगै हुन्छन् । उमेरले गर्दा होला, उनीहरु बेला बेला अलिक धेर उत्ताउलो व्यवहार गर्छन् । उनीहरुमा युवावस्थाको जोश र जाँगर पनि उत्तिकै छ ।
साङ्गेको घर पूर्वी भूटानको साम्ड्रुपजोङ्खरमा हो । उनी सार्छोप समुदायका छाङ्ला भाषी हुन् । लाले दक्षिण भूटानको हो । उनको घर साम्ची जिल्लाको घुमाउने ब्लकमा पर्छ । रिञ्जिन पश्चिमोत्तरका हाह्पा हुन् । उनी ङालोङ समुदायका हुन् अनि जोङ्खा बोल्छन् । तर यी तीनैजना मित्र जोङ्खा र नेपालीमा पोख्त छन् । धाराप्रवाह बोल्छन् । लवजमा मात्र अलिकता जातीयतापन झल्कन्छ । छाङ्ला र हिन्दी पनि उनीहरुलाई थोर बहुत आउँछ । छाङ्ला स्कूलको पाठ्यक्रमबाट सिकेका हुन् भने हिन्दीको प्रभाव हिन्दी धारावाहिक र कथानक चलचित्रबाट परेको हो ।
एक दिन, ११ नोवेम्बरको दिन, उनीहरु स्कूलबाट कुलेलम ठोके । स्कूल पोसाक बक्खू खोलेर जिन्स र टीसर्टमा उनीहरु स्कूलभन्दा माथिको सल्लाघारीमा पुग्छन् । त्यहाँ साँच्चिकै शान्त वातावरण हुन्छ । उनीहरुलाई बाधा पुर्याउने केही हुँदैन । उनीहरु खुलेर गफमा हराउँछन् । अरुबेला पनि क्लास ‘बङ्क’ गर्दा एस.एल.आर.-थ्री को दिन गुजार्ने गन्तव्य यही हो । उनीहरुलाई कतिपयले धनी बाबुका बिग्रेका छोरा पनि भन्ने गर्छन् । तर उनीहरुको गुन के छ भने, बेला-बखत क्लास ‘बङ्क’ गरेपनि लागू औषध र दुर्व्यसनबाट टाढा बस्छन् । त्यस्ता कुलतमा फँसेकाहरुलाई सही दिशामा ल्याउन मदद गर्नु नै एस.एल.आर.-थ्री को उद्देश्य भएको उनीहरु बताउँछन् ।
रिञ्जिनले देख्छ, त…..ल चाङ्लिमिथाङको मैदानमा राष्ट्रिय परेड आयोजना भएको । त्यहाँ रोयल भूटान आर्मी र रोयल भूटान पुलिसका जवानहरु पंक्तिवद्ध भएर परेड खेलिरहेका । उसले देख्छ, विभिन्न स्कूलका प्रतिनिधि विद्यार्थीमध्ये आफ्नो स्कूलका मित्रहरु पनि स्कूलको झण्डा र राष्ट्रिय झण्डा उठाएर कार्यक्रममा सहभागी भइरहेका । उसलाई कता कता नरमाइलो लाग्छ । आज राष्ट्रिय दिवसको दिन भागेकोमा पछुतो हुन्छ ।
साङ्गे र लाले मोबाइल फोनमा इन्टर्नेट चलाउन व्यस्त हुन्छन् । साङ्गेले लालेलाई फेसबुक पोष्ट देखाउँदै भन्छ, “ओय लाले! याँ हेर त, झापाको ङोलोक्पाहरु अमेरिका पुगेर पनि हाम्रो भूटानको ‘एगेन्ष्ट’ मा लेख्न छोडेको छैन । याँ हेर् न, के लेखेको छ, ज्यागाहरु !”
“के छ ? सुना न !” लाले भैँमा ढल्केर आफ्नै मोबाइलमा व्यस्त रहन्छ ।
“थेत्, पैले याँ हेर न यार !”
साङ्गे केही झर्केर बोल्छ । लाले उठेर गई साङ्गेको मोबाइलमा नजर लगाउँछ । त्यहाँ ‘लिटरेचर काउन्सिल अफ भूटान’ लिङ्क पेज खुलेको हुन्छ । विभिन्न श्रष्टा कृत साहित्यिक रचना पोष्ट भएका हुन्छन् । कतिपय कथा, कविता र हाइकुले सोझै भूटानको निरंकुश राजतन्त्रप्रति व्यंग्य कसेका हुन्छन् । यही कुरो देशभक्त साङ्गेलाई पाच्य हुँदैन ।
लालेले ओठ लोब्राउँछ र कपाल कन्याउँदै भन्छ, “उनेरले लेखे त के भो, लेख्न दे न, चित्त बुझेन होला, मनमा लागेको कुरा लेख्यो ।”
“तँ पनि ङोलोक्पाको ‘फर’ मा बोलेको लाले ! हामी त खाँटी भूट्निज हो, भूटानलाई माया गर्नु पर्छ । उनारु जस्तो ङोलोक्पा होइन नि, हामी ।” साङ्गेले तर्क पेश गर्छ ।
“यो सब कुरा छोड्दे यार । को ङोलोक्पा, को खाँटी भूट्निज !… कुरा गर्दै गयो भने ऐले कुरा काँ देखि काँ पुग्छ ।” तर, साङ्गे सजिलै मान्ने पक्षमा थिएन । उसलाई ङोलोक्पा भनेपछि ‘एलर्जी’ हुन्थ्यो । उसले साह्रै घृणा गर्थ्यो । उता लालेको बुझाई अर्कै थियो । उसको परिवारका सदस्य देशबाट बिस्थापित भएकाले उनको शरणार्थीलाई हेर्ने दृष्टिकोण फरक थियो । यसर्थ, उनीहरुबीच ठूलै तर्क-वितर्क पर्यो । यहाँसम्म कि, कहिल्यै नछुटिने आत्मीय मित्रहरुबीच झण्डै हात हालाहालको स्थिति सिर्जना भयो । स्थिति नियन्त्रण बाहिर गएपछि तेस्रो मित्र रिञ्जिनले हस्ताक्षेप गरेर दुवै मित्रलाई शान्त बनाए ।
दिनको मध्यान्न भइसकेको थियो । पेटमा मुसा दगुर्न थालेकोले अलि तलतिर झरेर खाजाघरमा नास्ता गर्ने सल्लाह भयो । नास्तापछि उनीहरु सोझै रिञ्जिनको डेरामा पुगे । त्यहाँ फेरि उही स्थगित बहसले चर्को रुप लियो ।
x x x x
शुरुमा कोठा चकमन्न थियो । त्यहाँ केवल तीन प्राणी सल्बलाई रहेका थिए । साङ्गेले आफ्नो कुरा राख्यो । लालेले पनि मनको व्यथा पोख्यो । त्यहाँ कोही भन्दा कोही कम भएनन् । साङ्गे राजतन्त्रको पक्षमा थियो । शान्ति र विकासको पक्षमा थियो । लाले पनि अशान्तिको पक्षधर थिएन । विकासको बाधक थिएन । उसले राष्ट्रिय नीतिमा केही परिमार्जन गरी राष्ट्रिय मेलमिलापको बाटो अवलम्बन गर्दा असल हुने तर्क गर्थ्यो । बहस यसरी चलिरहेथ्यो मानौं त्यहाँ कुनै मन्त्रीस्तरीय गोलमेच सम्मेलन चलिरहेछ अर्थात्, कोही पत्रकार र राजनेताबीच राष्ट्रिय मुद्दामा अन्तर्वार्ता चलिरहेछ ।
गर्मा-गर्मी बहसबाट अन्तत: रिञ्जिन पनि अछुतो रहनसकेन । रिञ्जिन र साङ्गेको विचार मिल्दै गयो । उनीहरू राजतन्त्र, त्यसबाट निर्मित ‘शा-वा-सुम’ र ‘एक झण्डा, एक राष्ट्र’ नीतिको पक्षमा उभिए । उनीहरूले त्यसको औचित्य र वैधानिकता प्रष्ट्याउन कसरत गरे । तर लाले एकलै भए पनि हार मानेन । उ पनि तार्किक स्वभावको थियो । उसले सुने, जाने र बुझेजति सबै कुरा प्रष्ट राखेर रिञ्जिन र साङ्गेलाई अलिक अर्को उचाईबाट समस्यालाई बुझ्न वाध्य पार्दै लग्यो । धेरै लामो तर्क-वितर्कपछि साङ्गेले भन्यो, “हेर लाले, तँ लोछाम्पा भए पनि हाम्रो मिल्ने साथी होस् । हामी ‘एस.एल.आर.-थ्री’ बीच आजसम्म यस्तो तर्क कैले पनि भएको थिएन । हामी तेरो भलो चहान्छौं, नराम्रो सोच्दैनौं । तर तँ आफै भन् त, हाम्रो राजाको ‘एगेन्स्ट’ मा उठ्ने, ‘शा-वा-सुम’ उलङ्घन गर्ने, देशमा अशान्ति फैलाउनेहरूलाई कसरी राम्रो भन्न सकिन्छ र ?”
“अरु पनि क्यै भन्नु छ कि?” लालेले दुई मित्रलाई व्यङ्य गर्दै उत्सुकतापूर्वक हेर्यो । रिञ्जिनले आवेशमा आएर केही नसोची भनिहाल्यो, “त्यो ङोलोक्पाहरुको देश नेपाल हो । नेपालबाट आको थियो नेपालमै गयो । अब सब कुरा ठीक भाको छ ।”
रिञ्जिनको कुराले लालेको पारो चढ्यो । उसलाई झननन कन्सिरी तातेर आयो । उसले पनि भनिहाल्यो, “ओय रिञ्जिन ! तेती सारो चैँ नभन् ल ! लोछाम्पा भने पछि म पनि एक लोछाम्पा हूँ । के हामी नेपालीभाषी भूटानीहरु सप्पै नेपालबाट आको हौं त ? हाम्रो बाबु बाजे यहीँ जन्मेका हुन्, यै देशको विकासमा रगत-पसीना बगाएर इतिहास रचेका छन् । तैंले कसरी यति सजिलै यसो भन्छस् हँ ? यो तिमारको जातीय अहंकारवाद बोलेको हो, क्या !”
“नन् नेशनललाई मात्रै हाम्रो सरकारले देशबाट हटाको हो । अरु लाई त हटाको छैन नि ! सरकारले माया गरेर हामीलाई देको ‘फेसिलिटी’ उनारुले खाकोछ, हाम्रो मान्छेले पाको छैन । त्यै भनेर सरकारले उनारुलाई हटाको ।”
“तिमारु पनि तेसो भन्छौ भने सुन मेरो कुरा !” लालेले ख्वाक–ख्वाक घाँटी सफागरेर भन्छ, “सब भन्दा पहिलो कुरो-यो भूटान कसको हो? को हो यहाँको आदिवासी? के तिमारुलाई थाहा छ ? यो जान्न अति जरुरी छ । राजा उगेन वाङछुकभन्दा पहिले भूटान अहिलेको जस्तो सिङ्गो थिएन । यहाँ विभिन्न देशी अर्थात् देवराजाहरुले स-साना राज्य रजौटा शासन गरेको इतिहास त पढेकै होला । सन् १९०७ मा उगेन वाङछुकले देशी प्रणालीको अन्त्य गरी एकीकृत भूटान बनाएपछि मात्र वाङछुक वंशीय एकात्मक राजतन्त्र शुरु भयो । तिनी एक ङालोङ थिए । ङालोङहरु तिब्बतमा विभिन्न बौद्ध मार्गीबीच संघर्ष हुँदा टिक्न नसकेर दक्षिण दिशातिर हेलिएका समुदाय हुन् । यसर्थ, ङालोङहरु पनि भूटानका आदिवासी होइनन् । इमिग्रेण्ट्स नै हुन् । इतिहास विदहरु भन्छन्-यो देशको खाँटी आदिवासी त डोया र ब्रोक्पा जातिहरु हुन् । यसर्थ, भूटानको जेठो सन्तान यी दुई जाति नै हुन् ।
सार्छोपहरुले पनि उनीहरु भूटानको आदिवासी भएको दाबी गर्छन् । त्यो सही हो वा होइन, अनुसन्धानको विषय भएको छ । तर आजसम्म फेलापरेको इतिहास अनुसार इतिहासको कालखण्डमा भारतको अरुणाचाल प्रदेश तिरबाट भोट-बर्मेली भाषा बोल्ने एक समुदाय भूटान भित्रेको छ । त्यो हो सार्छोक्पा समुदाय । यसर्थ, सार्छोक्पा भूटानको माहिँलो सन्तान मानिन्छ । त्यसपछि १९०७ बाट भूटानमा हैकम जमाउने ङालोङ समुदायलाई भूटान आमाको साइँला सन्तानको रुपमा हेरिएको छ ।
त्यसपछि मूलतः, सन् १६२४ र त्यो भन्दा अघिपछि भूटान भित्रिने समुदाय नेपाली भाषी भूटानी हुन् । यस अर्थमा हामी लोछाम्पाहरु भूटान आमाको काइँला सन्तान हौं भन्ने लाग्छ । यति मात्रै नभएर ‘इष्ट इण्डिया कम्पनी’ ले भारतमा दुई सयवर्ष शासन गरेको बेला पछिल्लो चरणमा झारखण्ड तिरबाट चियाबारीमा काम गराउन ल्याइएका साद्रीभाषीहरु त्यसबेला खुल्ला सिमानाका कारण भूटानमा पनि बसोबास गर्नथाले । कालान्तरमा उनीहरु भूटानको कान्छा सन्तान हुनपुगे भन्ने इतिहास छ ।
यसरी हेर्दा डोया र ब्रोक्पाबाहेक हामी क्वै पनि भूटानको आदिवासी होइनौं । हामी सबै इमिग्रेण्ट्स हौं ।” रिञ्जिनतिर हेर्दै लालेले फेरि भन्छ, “यदि रिञ्जिनले भने जस्तो नेपालबाट आएका नेपालीभाषीलाई नेपाल फिर्ता पठाउनुपर्छ भने तिब्बतबाट आएका ङालोङलाई पनि तिब्बतै पठाउनु पर्ने हुन्छ । तेसरी नै सार्छोपलाई अरुणाचाल प्रदेश र साद्रीभाषीलाई झारखण्ड पठाउनु पर्ने हुन्छ । के यो सम्भब छ ?”
साङ्गेले कुरा काट्दै भन्छ, “ल, तेरै कुरा सही । हामी भूटान आमाको पाँच सन्तान रै’छौं, ठीकै छ । तर हामी सबै मिलेर बसेको भए राम्रो हुनेथियो, तर उनीहरुले सन् १९९० मा किन देशमा झगडा गरेको ?”
“यहाँ सुन्, साङ्गे !” लालेले ध्यानाकर्षण गराउँदै भन्छ, “यदि हाम्रो ठाउँमा तिमारु भएको भए, तिमारले पनि यसै गर्थ्यौ । सन् १९५८ लाई आधार बनाएर त्यो भन्दा पैलेदेखि भूटानमा बसेको प्रमाण हुनेलाई मात्रै नागरिक मान्ने, त्यो देखाउन नसक्नेलाई सात नम्बर बनाएर देश निकाला गर्ने नीति अवलम्बन गरेर सीधा-साधा जनतालाई भटाभट देशनिकाला गर्नथालेपछि के त्यहाँ आन्दोलन हुँदैन त? त्यति मात्रै होइन, हाम्रो सरकारले यो नीति दक्षिण भूटानका लोछाम्पा माथि मात्रै लागु गर्यो । यदि त्यै नीति ङालोङ र सार्छोप समुदायमा पनि लागु गरेको भए, के सबैले प्रमाण पेस गर्नसक्थे र ? हामीभन्दा धेरै ‘नन् नेशनल’ त्यहाँबाट निस्किने थियो । सरकारले यहाँनेरी हामी नेपाली भाषीलाई काखापाखा गरेको छ । यो त एक प्रकारको जातीय सफाया जस्तो भयो । के यो सत्तारुढ पक्षको अपराध होइन र ?”
“ओय लाले ! यो सब कुरा तैंले कहाँबाट जानिस्, हँ ? के यो कुरा साँचो हो ?” रिञ्जिनले उत्सुकतापूर्वक सोध्यो ।
“स्कूलको लाइब्ररीमा जत्ति छ त भूटानको हिष्ट्री, गएर पढ् न । तँ पढ्नु भनेपछि मरिहाल्छस् अनि काँ बाट जान्दछस् त ! अचेल त ‘साइन्स र टेक्नोलोजी’ को जमाना हो । इन्टर्नेटमा सर्च गर्दा पनि धेरै कुरा पाइन्छ ।”
“ओय तोछाङ ! यो लाले त नेता नै भइसकेछ यार !, “साङ्गेले ठट्याउली पारामा भन्यो, “ तैले त हाम्रो आँखाको पट्टी नै खोलिदिइस् । अब यो पनि ‘क्लियर’ गर् न , देशको राष्ट्रिय नीति त सबैले मान्नु पर्छ । झापा जानेहरुले ‘शा–वा–सुम’ र ‘एक झण्डा, एक राष्ट्र’ नीति को किन विरोध गरेको होला ?”
“शा-वा-सुम भनेको देश, नरेश र जनता । उनेरले यतिका वर्षसम्म के राजा मानेनन् र ? कैले राजाको विरोध गरेका थिए ? देशको विकास र सुरक्षामा रगत-पसीना बगाएनन् र ? एक आपसमा जातीय सद्भाव कायम गरी मिलेर बसेनन् र ? उनेरले शा-वा-सुम मानेकै थिए । तर राजतन्त्रले नै राष्ट्रिय अस्थिरताको नीति अवलम्बन गरेपछि सन् १९९० को जन-विद्रोह त वाध्यात्मक अवस्था थियो । राज्यसत्ताको अत्याचार सहन नसकी सीता मोथेजस्ता कतिले आत्महत्या गरे । मनबहादुर क्षेत्रीजस्ता कतिलाई झुण्ड्याइयो । कतिले चुपचाप देश छाडे । शान्ति र न्यायको माग माग्दा गोम्छेन कर्मा जस्ता लामा सडकमा मारिए । तर खोई निरीह जनतालाई इन्साफ ? अझ पनि उल्टै जनतालाई नै आतंककारी भन्ने ? तर, राज्यसत्ताले गरेको ज्यादतीको लेखाजोखा खोई ? के यो राज्य आतंक होइन र ? यसको प्रतिकारमा जनताले विद्रोह बोले । यसमा अचम्म मान्नु पर्ने के छ र ?
सन् १९९० सम्म ‘एक झण्डा, एक राष्ट्र’ को नीति पनि मानेकै हो । हाम्रो देशमा कैले दुइटा झण्डा थियो र ? देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भए पनि चेतनाको कमीले गर्दा भूटानी जनताले कहिल्यै राष्ट्रिय पहिचान, स्वायत्तता र प्रजातन्त्रको कुरा गरेनन् । तर, सरकारले नै काखापाखा गरेपछि उनीहरुलाई झस्को पस्यो । अब त यो माग माग्ने नै भए । अब आएर यसबेला उनेरु के भन्न थालेका छन् भने-भूटानमा एकात्मक राजतन्त्रको ठाउँमा ‘संघीय लोकतन्त्र’ नभई शान्ति र विकास सम्भव छैन । राजतन्त्रले सबै जात-जातिको पहिचान, अस्तित्व र विकासमा तगारो हालेकोछ । पूर्वी भूटानमा सार्छोप समुदायको स्वायत्त प्रदेश नबनेसम्म उनेरुको छेड्रामा (धार्मिक पाठशालामा) सत्तारुड पक्षका ड्रुक्पा काजुक्पा मार्गी धर्मगुरु नियुक्त गर्ने गरेको घटना र १९९७ को लामा गोम्छेन कर्माको हत्याकाण्ड बार-बार पुनरावृत्ति भइरहनेछ । उत्तर-पश्चिममा ङालोङ स्वायत्त प्रदेश नबने निम्न वर्गका ङालोङहरु उच्च ओहोदाका ङालोङ अभिजात वर्गको दासत्वबाट कहिल्यै मुक्त हुनेछैनन् । त्यसरी नै दक्षिण भूटानमा नेपालीभाषीको स्वायत्त प्रदेश नबने यस समुदायले १९९० कै नियति भोगिरहनु पर्नेछ ।” लालेले फेरि थप्छ, “हुनु पनि कुरा ठीकै हो । नीति निर्माण गर्ने ठाउँमा विपरित विचारकाहरु भएपछि जनताले आफ्नै घर उजाड्ने नीति कसरी मान्छन् त ? हाम्रो भूटानमा मूल समस्याको गाँठी नै यही हो ।”
लालेले यो उनीहरुको भित्री अन्तर्विरोध भएको बताउँछ । बाहिरी अन्तर्विरोध अर्कै भएको सुनेको र त्यही कारण दिगो समाधानमा समस्या आएको बताउँछ । यी दुइ अन्तर्विरोध बीच कलात्मक औ वैज्ञानिक तालमेलको आवश्यक भएको र आजभोलि कतिपय रिङलिडरहरुले यसबारे कसरत गर्न शुरु गरिसकेको बताउँछ । त्यति मात्र होइन, ङालोङ समुदाय सत्तामा हुँदाहुँदै पनि संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय जगतमा राज्यसत्ताले ङालोङ समुदाय संसार बाटै लोप हुन लागेको भनी संरक्षणको माग गरेको तर यता लोपोन्मुख डोया र ब्रोक्पा जातिप्रति बेवास्ता गरी सदालाई नामेट पार्न लागेको कुरा पनि सुनाउँछ ।
साङ्गे र रिञ्जिन लालेको तर्कबुद्धी देखी आश्चर्याचकित हुन्छन् । उनीहरु मुखामुख गर्छन् र एकाएक त्यहाँबाट प्रस्थान हुन्छन् । वैचारिक मत भिन्नताका कारण आफ्नो समूह फुटेपछि लालेमा डर, शंका र निराशाको वर्षा एकैचोटि वर्सन्छ । अब पक्रा परिने हो कि, भन्ने आशंकाले उसले सतर्कतामा अरु जोड दिन्छ ।
x x x x
अर्को दिन बिहान ।
रिञ्जिन र साङ्गे सुस्तरी लालेलाई अंकमाल गर्न पुग्छन् । उनीहरुले १९९० को जनान्दोलनलाई गलत बुझेका रहेछन् । उनीहरुमा लोछाम्पाले देश खोस्न खोजेको बुझाई थिएछ । उनीहरुका अनुसार सम्पूर्ण सार्छोप र ङालोङ समुदायमा यही भ्रम छ । सरकारले यसको भरपुर फाइदा लिइरहेको छ । यदि लालेले झैं हामीले सबैलाई यो कुरा बुझाउन सके, देशमा अवश्य परिवर्तन आउँछ र जनता निरंकुश राजतन्त्रको दासत्वबाट मुक्त भई समावेशी, समानुपातिक, सद्भावपूर्ण व्यवस्था र विकासको बाटोमा अघि बड्ने निष्कर्ष निकाल्छन् ।
त्यही दिनदेखि अचेल उनीहरु राष्ट्रिय दिवसको दिन ‘एस.एल.आर.-थ्री’ दिवस मनाउँछन् । यस समूह अचेल लागू औषध र दसर्व्यसन उन्मूलन निकायका सहयोगी मात्र नभई संघीय लोकतान्त्रिक भूटानको पक्षमा जनचेतना विकासको काम गरिरहेको गाउँलेहरु बताउँछन् ।
(समाप्त)