कतितिरको डर लिनुपरेको……..?
नैनसिंह सारू मगर
न्यू योर्क, अमेरिका
साथीकी आमा सात दिनदेखि मर्सी अस्पतालको ICU मा राखेको खबर फोन मार्फत सूचना प्राप्त भयो र त्यहाँ पुग्नुपर्ने थियो त्यसैले ह्यारिस्वार्क पेन्सिलभेनिया जाने चाँजो पाँजो मिलाउँदै थिएँ केही दिन अघिदेखि नै । मे महिना २०२० का कुरा हो । सुरुसुरुमा साथीहरू पनि जाने कुरा गर्दै थिए । दुई चार जना भएमा सुलभ पनि हुन्छ भनेर एउटा कार भाडामा पनि मिलायौँ । भोलिपल्ट जानुपर्ने, आज जस्तो कोही नजाने भए, कोरोना आयो भनेर फोन आयो तीन बजेतिर मलाई । म त छक्क परेँ, विवाद पनि गरिनँ, रिस त कति उठ्यो उठ्यो तर के गर्नु र……….! आफू त कसै गरी पनि जानु नै पर्ने थियो अनि हतार-हतार गरेर बसको टिकेट गर्न गएँ । अपर्झटमा टिकेट पनि महँगो पर्यो र पनि काटेँ। फर्केर अलिक वर आएपछि सम्झे, “हरिलाई पनि सँगै लिएर जानुपर्ने थियो, आफू एक्लै भइयो हरिको आँखा लगाउने बानी अति नराम्रो छ, साथीहरूसँग जाँदा त ढुक्क हुनेथ्यो तर एक्लैमा त कतै जानै दिँदैन फेरि टिकेट पनि गरिहालेँ । टिकेट गरेको पैसा पनि नफर्काउने कुरो टिकेटमै लेखिएको छ तर पनि आ….होस बरु घरमा पुगेर रातभरि फकाउँछु जानुपर्छ भनेर अनि भोलि सबेरै आएर हरिको लागि टिकेट गर्छु ।” भनेर मनमा गुनगुनाउँदै घर पुगेँ।
बेलुकाको खाना नखाईकन जानुपर्छ भनेर हरिलाई अनुरोध गर्न थालेँ, आकाश पाताल देखाएँ, साथीहरूले ठगेका कुराहरू सुनाएँ, आफूले टिकेट गरिसकेको कुरा पैसा फिर्ता नहुने कुरा भनेँ, बिहान बस आठ बजे छुट्ने, रोचेष्टरबाट ईस्क्रेन्टनसम्म, ईस्क्रेन्टनबाट ह्यारिस्वार्कसम्म, दुईवटा मात्र बस फेर्नुपर्ने भनेँ , आफू एक्लै भएको बाटोमा कोही साथीहरू नभएको कुरा लगायत अरू कति भनेँ -भनेँ ….तर तातो न छारो हरि पटक्कै नजाने भइन् । झन् उल्टो-उल्टो पो कुरो गर्न थालिन् । “ साथीहरू कोरोनाको डरले जान नमानेका, आफू बसमा भए पनि जान लागेको कोही ठिक पारेको होला नि….।” त्यो तितो वचनले गर्दा त्यतिखेर कोही- कोही त सम्झेँ भूपु मायालुहरू, सुनेको थिएँ, चोट परेको बेला याद आउँछ बितेका कुराहरू भनेर । छोरीहरू पनि वर्तमान पतिले चोट पुग्ने गरी गाली गर्दा भूपु सम्झेर कुनोतिर फर्केर रुन्छन् भन्छन् । उनीले मलाई ऊ बेला ……..“ मलाई विवाह गर, हरिको भन्दा दस गुना माया गर्छु, जहिल्यै हजुरलाई भगवान् मान्नेछु “ भनेकी थिइन् । तपाइको भूपुहरू थिए कि थिएनन् भनेर हरिले सोध्दा थिएन भनेको थिएँ उनको पनि थिएन भन्दा कुरामा कुरा मिलाएको थिएँ तर पछि ऐठनेले कुरा गर्दा त झिल्केसँग तीन वर्ष अरे भनेको सुनेँ, के गर्नु र नानीहरू भएपछि । यसो युवतीहरूसँग आँखामा आँखा जुधेपछि लोग्ने मानिसको ओठ कम्पन हुनु प्राकृतिक देन नै हो तर लाग्नेलाई नलागेपछि भात न सात भएर सुतेँ ।
बिहान जुरुक्क उठ्न पाएको छैन हरिको तिखो स्वर कानमा पस्यो “जानु, केमा जान्छौ जानु तर फेस टाइम कल चाहिँ उठाउनु होला नि, म छिन-छिनमा कल गर्छु, यदि नउठाएमा घर नसम्झे पनि हुन्छ” मलाई पनि झनक्क झ्वाँक चल्यो मुखै नधोईकन अनि भनेँ “ एक बिहानै कस्तो कुरा गर्नुभएको ? एक त बसमा बोल्न पनि मनाही छ, सँगै जाऊ भन्दा पनि मान्दैनौ, हिँड्ने बेलामा खस्रो कुरा गर्नु हुँदैन त शुभकामना पो दिनु पर्छ त !” केही पर पुगेर फेरि त्यही कुरो थपिन्, “ म अरू कुरा जान्दिन फेस टाइम कल चाहिँ हुनुपर्यो ।”
हिँड्ने समय पनि भएको भारी बोकेर बाहिर निस्केँ, केहि बोलिनँ । बस बिसाउनीसम्म भाइले ल्याइदियो । केही छिनमै बसमा चढेर लागेँ ह्यारिस्वार्कतिर । विन्जामटन नपुगीकन फेस टाइम कल आयो हरिको, मैले उठाएँ, मेरो सिटमा को-को बसेका छन् भनेर मोबाइल घुमाउन लगाइन् । मैले जसोतसो भने पनि स्विकारी घुमाई दिएँ । कोरोनाको महामारीले गर्दा बस खाली नै थियो त्यसैले म बसेको सिटमा कोही पनि थिएनन् एक छिन बोलेर फोन राखियौँ ।
ईस्क्रेन्टन पुगेपछि एक जना महिला बसभित्र पसेर सरासर म बसेको सिटमा आएर बसिन् अनि मलाई डर यति भयो कि …..कति हो कति …..अब घरबाट छुट्टी हुने भयो । एक्लै बसेर पनि उपाय छैन अमेरिकामा, एकातिर नानीहरूको चिन्ता, अनेक थोक मनमा हुरुरुरु भएर पस्न थाले, पसिना आए जस्तो हुन्छ, तिर्खा लागे जस्तो पनि हुन्छ, आका आए जस्तो पनि हुन्छ, लगलग काँपे जस्तो पनि हुन्छ, मुहारमा खुन सरे जस्तो पनि हुन्छ, अरू कति हो कति र पनि धैर्य भएर मोबाइललाई साइलेनमा राखेँ । अलिकता ढुक्क त भयो अनि यसो छेउतिर टाउको बिस्तारै ढल्काएँ । निद्रा नै नआए पनि निद्रा आए जस्तो गर्दै आँखा चिम्म गरेँ ।
केही समयपछि तिनै महीलाले “Excuse me!” भनिन् । मैले पुलुक्क हेरेँ । हासे जस्तो गर्दै मास्क र ग्लोब्स् दिँदै, “please ! take these …..you have to use these things to protect yourself and others from Corona Virus .” आफूमा नभएकाले बसभित्र यसको आवश्यकता पर्छ भनेर दिएकोमा मैले पनि “Okay, thank you ! “ भनेँ । त्यसपछि त हौ, बोल्ने बाटो खुलेछ …….कहाँबाट आउनुभएको ? कहाँसम्म हिँड्नुभएको ? कुन देशबाट आउनुभएको अरू कति सोध्न थालिन् । मैले पनि नछलीकन सोझै सबै भनेँ, उनको बोलीमै यिनी चाहिँ भारतीय हुन् भन्ने मलाई लाग्यो, नभन्दै हो रहेछ । घर बङ्गालको बाघडुग्रामा रहेछ, यता चाहिँ हुइलिमटन पेन्सिलभेनियामा बसेको दस वर्ष भएका रहेछ । भूटानको गेलेफूतिर, नेपालको काठमाडौँतिर, सिक्किमतिर डुलेको कुरा गर्दै त, मसँग नेपालीमै पो गफ गर्न थालिन् । “ भूटानबाट, भूटानी नेपालीहरू लखेटिनुका कारणहरू, भूटानी नेपालीमा एकता नहुनुमा दुई मत छैन, मलाई नमस्कार गर भन्दै आन्दोलन गर्दा नमस्कार गर्नु कि, आन्दोलन गर्नु …….? दादघारीमा ‘भू०पी० पाटी’ को एउटा हरियो घर थियो त्यहाँ म पुगेकी थिएँ, नुनको बोराको पाँच बोरा त रकम सङ्कलन भएको थियो ।” जस्ता कुराहरू बोल्दै गर्दा हरिको कल आउन थाल्यो, यसो हेर्छु आएको-आएकै गर्न थाल्यो, उसले पनि सुनिछे उठाउनुहोस् भनिन्, मैले भरै उठाउँछु भनेँ छोटकरीमा । कल आउन नथामिएपछि म रेष्टरूम जानुपर्यो भनेँ अनि जुरुक्क उठेर त्यहाँ पुगेर कल गरेँ । झर्किँदै कल उठाइन्,
“के कोट्याइरहेको थियौ ? कि कल आएको चाल पाउनु भएन ? कहा आएर कल गर्नुभएको ? “
“यो रेष्टरूम हो, सिटमा बेसी बोल्नु दिँदैन त्यसैले ।”
“ल, ल, म फेरि भरैतिर कल गर्छु नि ।”
“हुन्छ, तर म ह्यारिस्वार्क पुगेपछि मात्र, बसबाट ओर्लेपछि, गज्याङगज्याङमा बोलेको पनि सुनिँदैन ।”
केही नबोली कल बन्द भयो, मैले पनि फोन खल्तीमा हालेँ अनि आएर सिटमा बसेँ ।
भारतीय महिलाको नाम गीता रहेछ । एक छिनपछि बिस्कुट पनि दिइन्, नसमाऊँ जस्तो लाग्यो र पनि डरैसरि समाएँ तर खाइनँ । “वर्षा हुँदा मात्र बढ्ने खहरेले अभरमा पानी दिँदैन, भुलभुले जरूवा नै काम लाग्छ” भन्थे बुढापाकाले । दिदी भाइ झैँ हुँदै गफ गर्दै आयौँ, उनका दुई छोराछोरी रहेछन् । ह्यारिस्वार्क पुगेर कल गर्नु भनेर फोन नम्बर पनि दिइन् । गफ कै दौरानमा चर्ज स्ट्रिटमा पुग्यौँ । त्यो स्ट्रिटबाट एक जना गोरे फोनमा बोल्दै चढ्यो मेरै पछाडिको सिटमा आएर बस्यो । बस पनि एकछिनमा गुड्यो, आधा घण्टापछि हुइलिमटनमा पुग्यौँ । हाम्रो गफ सकिएकै थिएन तर पनि समय आएपछि विधिको विधान नै हो, मुहार रातो पार्दै……”मेरो भाइ ! मलाई जसरी भए पनि कल गर्नु है उहाँ पुगेर” भन्दै हात हल्लाएर बसबाट ओर्लिन् । मैले पनि हुन्छ नि ! भन्दै फोनको भोलियम ठुलो पारेँ, सास पनि ठुलै फेरेँ । कता-कता सरेको खूनपनि सही स्थानमा आइपुगे, फोन हातमा लिएर ढल्किरहेँ । हरिको फेस टाइम कल आएमा पनि निर्धक्क उठाउन सक्ने भएँ ।
म पछाडिको गोरे त बोलेको बोलै गरेको सुनेँ, ध्यान दिएर सुनेको त…..त्यो गोरे पनि ह्यारिस्वार्कतिरै हिँडेको रहेछ कोरोनाको प्रकोप अत्यधिक मात्रामा वृद्धि भएको हुँदा त्यसको रोकथामको निम्ति । गोरे त डाक्टर पो रहेछ !
उनका स्वास्नी चाहिँ “फर्किनु होस, नजानुहोस् त्यो रोगले त आफैलाई पनि लान सक्छ । तपाईं तलमाथि हुनुभयो भने मेरो मिर्गौलाको रोकथाम गर्ने औषधि पनि रोकिने छ अनि यो छोरो हिस पनि घरमै बन्धक हुनेछ; त्यसैले तुरुन्त त्यहीँबाट फर्किनुहोस्“, भन्दै गरेका कुरा फोनमा सुनेँ ।
डाक्टर गोरे चाहिँ, “हेर लेडिया ! म त्यहाँ गइन भने बीस जनाका ज्यान तलमाथि हुने सम्भावना छ । म एक जना र ती बीस जनामा कति फरक छन् ? म एक जना केही भएमा एउटा घर खाली हुने हो तर बीस जना सकिएमा एउटा सहर नै शून्य हुनेछ, त्यसैले म त्यहाँ जानैपर्छ । धैर्य गर, म पक्का फर्की आउने नै छु । खेलाडीले हार्छु भनेर कहिल्यै मैदानमा उत्रेका हॅुदैनन, जित्छु भनेर नै हाजिर भएका हुन्छन् तर हारजित भने भएर नै छाड्छ । त्यो हाम्रो खटनमा छैन लेडिया !”
अझै मार्मिक गफ कति थिए होलान् तर बस चालकले ह्यारिस्वार्क आइपुगेको रेडियोबाट खबर गर्यो । मपनि झसॅग भएँ, गोरे पनि बोल्दै बोल्दै बाहिर निस्क्यो, मपनि सॅगसॅगै बाहिर निस्केँ ।