कलिलो कोपिला
जय हुमगाइँ
क्यानडा
मुस्कान भर्छन् कोपिला फुलको रहरले
लर्काई लर्काई बोटलाई पिर्छन् हर्षले
चिसो तातो सहेर हावा पानी खाएर
झुम्ने गर्छन् बोटमा आनन्दले रमेर।
पात बिचमा लुकेर हाँगा बिँगा मच्चाउँदै
आउने दिन कुर्दछन् सन्तोषले रमाउँदै
सीमा छैन हर्षको आसा राख्छ दयाको
राख्ने गर्छ भरोसा स्नेह अनि कृपाको।
कहिले झर्छ थाहा छैन,प्रकृतिको भर छैन
टप्प नटिप अहिले नै बेला अझै भा छैन
फुल्ने इच्छा बाँकी छ मिठो फलको दाबी छ
नियम भोग्न संसारको अझ कति बाँकी छ
कोपिला हुन फुलका बालबालिका आजका
तारिफ गर्नु गुणका नलाउनु खोट भूलका
हिम्मत दिनु जितको लक्ष्य राख्नु प्राप्तिको
सन्तुष्टिले मन जित्नु नलाग्नु पिच्छे नास्तिकको।
नीतिका कुरा सिक्नु छ ईश्वरको कृपा पाउनु छ
स्वावलम्बी बनाई आफूलाई आत्मा अम्मर पार्नु छ
अमूल्य मानव चोलामा पुण्यको काम गर्नु छ
साकार गराई जीवनलाई फेरि अन्तै जानु छ।।