कवि भानुभक्तका सम्बन्धमा
शिवलाल दाहाल
फेसबुकमा तिनको (पुरानाघरे) निम्तो र आह्वान पढें । भानुभक्त विशेष अङ्कका लागि रचना सम्प्रेषण गर्नुपर्ने । यस कुराले मलाई एक किसिमको स्फूर्ति र आनन्द जाग्यो । वि. सं. १८७१ मा तनहुँको रम्घामा जन्मेका भानुभक्त आचार्य अब कहाँ कहाँसम्म पुगिसकेछन् ? हाम्रा गाउँघर र पहाडपर्वत नाघेर सात समुद्र पारिसम्म । ‘स्व’ को भावना ‘स्वत्व’ गुमेपछि बढ्ता हुँदोरहेछ । सात समुद्र पारि वनबासिएका हाम्रा मित्रहरुको भानुभक्त विशेष अङ्क निकाल्ने अठोट देख्दा मानिस जातीय गौरुव, स्वाभिमान र निजत्वको भावनाले कतिसम्म पिरोलिंदो रहेछ भन्ने कुरा मलाई वोध भयो । भानुभक्तकै बारेमा लेख्नु पर्दा मलाई दुईटा कुराको याद आयो ।
पहिलो, म सानो छँदा देखेको सवभन्दा ठूलो किताव नै रामायण थियो, जो अहिले पनि हाम्रो द्धरमा जीर्ण अवस्थामा लथालिङ्गै लडिरहेको छ । घरमा बाबाले रामायणको ठेली पढेके देख्दा मलाई पनि यति ठूलो किताव पढ्ने कहिले हुनु जस्तो लाग्थ्यो । अझ भिरचोकमा गोरे मामा (यादव अधिकारी) ले रामायणका श्लोकहरु पढेको सुन्दा गाँवै रोमाञ्चित हुन्थ्यो ।
दोस्रो, मेरो साहित्यमा प्रवेश पनि केही हदसम्म भानुभक्तसँग जोडिएको छ । सन् १९९२ तिर हुनुपर्छ भनुभक्त जयन्तीका दिन भानुभक्तकै बारेमा एउटा कविता पढेर सुनाएको थिएँ । मैंले कविता लेखेर सार्वजनिक गरेको त्यो नै पहिलो साहित्यिक रचना थियो ।
पहिलो प्रसंगसँग जोडिएको कुरा के हो भने हाम्रा गाउँघरमा रामायण कति पढिन्छ र त्यसको प्रभाव कहाँसम्म परेको छ । भूटानमा नेपालीभाषी मानिसहरु धेरै लामो समयदेखि बसोबास गर्दै आएका हुन् । यद्यपि नेपाली भाषामा उच्चस्तरको अध्ययनका लागि शैक्षिक प्रीतष्ठानहरु कहिल्यै खोलिएनन् । सन् १९६० को दशकदेखि मात्रै नेपाली विषयलाई प्राथमिक तथा निम्न माध्यमिक तहको पाठ्यक्रममा समावेश गरियो । त्यसो हुनाले रामायण, देवी भागवत, श्रीकृष्ण चरित्र, महाभारत र गुणरत्नमालाहरु जति हाम्रा घर–गाउँ–गोठमा कुनै पनि रचना पढिए जस्तो लाग्दैन । यिनै रचनाहरु हाम्रा गाउँघरमा सर्वप्रिय रहिआएका थिए । नेपाली भाषालाई जीउँदो –जाग्दो राख्न भूटानमा यिनै ग्रन्थहरुले विशेष भूमिका खेलेका थिए ।
मलाई रामायणको सबभन्दा ठूलो विशेषता नै सरलता र हार्दिकता हो जस्तो लाग्दछ । रामायणका तत्कालीन पाठक भनेको अक्षर मात्र चिनेका (र नचिनेका पनि) हाम्रा गाउँघरका गोठाला, खेताला र किसानहरु हुन् । त्यसो भएको हुँदा भानुभक्त जनभाषाका काव्यकार हुन् । यही कुरालाई संकेत गर्दै देवकोटाले लेखेका छन् “साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ । नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई त्यत्तिको प्रभावकारी र सर्वप्रिय रचनाहरु अरु जँच्दैन, जत्तिको भानुभक्त कविको नेपाली रामायण” ।
जब म रामायण पढ्न सक्ने भएँ र भानुभक्तका बारेमा पढें, तिनका सम्बन्धमा केही विवाद पनि खडा भएको पाएँ । विवाद–आदि कवि सम्बन्धमा (जब कि उनी भन्दा पहिला लेख्ने सुवानन्द दास,उदयनन्द, शक्तिवल्लव आर्यल,यदुनाथ पोखरेल,इन्दिरस आदि थुप्रै कविहरु छन्)
दोस्रो विवाद, उनले घाँसीको प्रेरणाले काव्य रचना गर्न आरम्भ गरेका हुन् भन्ने बारेमा रहेको छ । (जब कि त्यो समयमा पहाडहरुमा घाँस बेच्ने चलनै थिएन) ।
तेस्रो विवाद,भानुभक्तले लेखेका फुट्कर रचना मोतिराम भट्टले लेखेका हुन् भन्ने सम्बन्धमा रहेको छ ।
चौथो कुरा,यो विवाद भन्दा पनि आरोपको कुरा हो,भानुभक्तले नेपाली भाषामा रामायण आदिको रचना गरेर सामन्ती व्यावस्थाको पृष्ठपोषण गरे (जव कि उनले जनभाषामा रचना गरेर शिक्षाको उज्यालो छरे) ।
माथि उठाइएका प्रश्नको उत्तर समालोचकहरुले खोजिसकेकै छन् र पाठक वर्गले पढेकै कुरा हो । यहाँ प्रसंगवश उठाइएको मात्र हो ।
भानुभक्तले वधुशिक्षा, प्रश्नोत्तरमाला र रामगीता जस्ता कृतिहरुको रचना गरेका भए तापनि रामायण नै उनको सर्वप्रिय रचना हो । रामायण नेपाली घरहरुमा आर्दश ग्रन्थका रुपमा धेरैका हृदयमा गढेर रहेको छ । भानुभक्तले एउटा युगमा आपूmलाई अग्लो कविका रुपमा उभ्याए र अज्ञान र अशिक्षामा रुमलिएका नेपाली जनता(नेपालीभाषी)लाई प्रशस्त चेतना र उज्यालो दिए । तिनले भविष्यमा रचना गर्ने स्रष्टाहरुलाई प्रेरणा दिए, बाटो देखाए । हामीलाई नेपाली भाषाको रस चखाए र नेपाली गौरवलाई माथि उठाए ।
उनी नेपाली भाषाका आधारशीला हुन्, हामी उनीप्रति श्रद्धानत ।
१२ जुलाई २०१०,खुदुनावारी