कसले मन्सायो यो देशको धैर्यता र विवेक अहँ ?
शिवलाल दाहाल
केन्टकी, अमेरिका
हरेक दिन यो देशको रङ्गमञ्चमा उभिएर
सुनाउँछौ मृत्यु–प्रक्षेपण र सम्भावित रोगीहरूको सङ्ख्या
अनि झण्डोत्तोलन गर्छौँ एउटा वक्र रेखाको
र विजय नजिक पुगेको उद्घोष गरिदिन्छौँ
मलाई थाहा छ
हरेक दिन लाखौँ लाख मानिसहरू सङ्क्रमित भइरहेको बेला
हरेक दिन हजारौँ हजार मानिसहरू मृत्युको बलिवेदिमा चढिरहेको बेला
को हुन् ती सडकहरूमा उभिएर
स्वतन्त्रताको गीत गाउने मुर्कट्टाहरू
को हुन ती मृत्यु–पुराण सुनेर उत्सव मनाउने जल्लादहरू
के हजारौँ हजार मान्छेको जिन्दगी
एउटा वक्र रेखामा अटाउन सक्छ ?
के हजारौँ हजार मान्छेको मृत्यु
स्वतन्त्रताको नारामा सडकमा मुस्कुराउन सक्छ ?
मृत्यु–पीडाले सारा देश नै छटपटाएको बेला
किन कोही जान सक्छ डान्स्बारहरुमा
किन कोही जान सक्छ जलक्रीडाहरूमा
के यो देशको समवेदना मरे कै हो ?
के यो देशको मानवता हारे कै हो ?
प्रश्न छ यो देशका हरेक मान्छेहरूलाई
महोदय ! भन त
कसले मन्सायो यो देशको धैर्यता र विवेक अहँ ?