कस्तो भो जिन्दगी!!
प्रकाश घिमिरे
नोर्थ डकोटा, अमेरिका
दुनियाले कुल्चिएर गर्ने
रजाई भो जिन्दगी,
फगत मलामी डाक्ने
शंख बजाई भो जिन्दगी
यहाँ जिउन ज्यानै कसी लगाए पनि,
अर्थ न बर्थ गोबिंद गाई भो जिन्दगी |
जीवन सार्थक पार्न कम्मर कसेर
आकाश छुने सपना सजाई सजाई
तँ छाड म छाड गरी गरी
पराय मुलुकमा दश नंग्रा खियाउने हुँदा
थुक्क ! मुर्दा सिँगार्ने कात्रो सजाई भो जिन्दगी,
दोबाटोको अल्मले बहुला हसाई भो जिन्दगी,
बेकार ज्यान मार्ने कसाँई भो जिन्दगी ,
केवल साड़ेको जुदाई बाच्छाको मिचाई भो जिन्दगी