कहाँ
शेखर कोईराला
पेन्सिलभेनिया, अमेरिका
देउता भाकेँ मन्दिर धाएँ, शान्ति कहाँ मिल्यो र ।
मनको तृष्णा सागर बन्यो, पौडिन कहाँ मिल्यो र ।।
विक्षिप्त भई रुझेँ यसै, झरी बनेँ असारको ।
रोप्ने हिलो गुद्गुदिए, बाउसे कहाँ मिल्यो र ।।
चैत मासको सूर्य प्रकाश, चट्टान सबै फुटाउँथे ।
वैशाखमा पर्खाल लाउने, कर्मी कहाँ मिल्यो र ।।
पसिना र खुनको सागर, बग्यो झर्ना खोला बनी ।
जालमा हाली किनार लाउने, माझी कहाँ मिल्यो र ।।
भाला-छुरी, बन्दुक-गोला, तीर लाग्यो मुटु भित्र ।
सिसा सरी फुट्यो जीवन, जोड्न कहाँ मिल्यो र ।।
भाग्यसँग कर्मको फल, जोड्न कहाँ मिल्यो र ।।