कहाँ बाँच्छ मेरो कविता

के. सी .‘सान्दाइ’
बेलडाँगी झापा
 जब स्वच्छ दिमागले कविता लेख्न थाल्छु
अनि उच्च भावको प्रवाहमा बग्न खोज्छु
फेरि शब्दको खोजीमा लामो श्वास तान्छु
त्यत्तिखेरै ………!
त्यत्तिखेरै मरो कलम अचानक
विस्फोटन भई पड्कन पुग्छ!
पोखिएको मसीमा ह्वास्स बारुद गनाउँछ!
प्रत्येक शब्द टुक्रा-टुक्रा भइदिन्छन्
त्यसैले मेरो कविता लङ्गडो बन्न पुग्छ
अनि कहाँ बाँच्छ मेरो कविता?
जसो तसो लङ्गडो कवितालाई मलम पट्टी गर्छु
अनि कविता ब्युँताउन खोज्छु
पड्किएका कलमका चोइटा जम्मा गर्दै
एउटा सिङ्गो कलम बनाउन खोज्छु
त्यसै बेला………..!
त्यसै बेला आकाशवाणी झैँ एउटा आवाज आउँछ!
धनसिरी र जल ढक्कामा नेपाली रगत बग्दै छ!
हिमाल-तराई बिचमा नेपाली लासहरू कुहुँदै छन्!
सारा चेलीहरू बलात्कृत भएका छन्!
आमाको सिउँदो पुछिएको छ!
त्यो आवाजले आफैँ मुर्छित छु!
अनि कहाँ बाँच्छ मेरो कविता?
मुर्छाबाट ब्युँझिएर सजल नेत्रले यताउति हेर्छु
अनि शिर झुकाई अतीत तिर फर्कन्छु!
फेरि मानस नदीको एक अञ्जुलीपानी उठाई
वीरगति प्राप्त गरेका आफन्तको स्मरण गर्छु!
अनि हराएका, छरिएका र पोखिएका
शब्द,भाव,शैली र विषयवस्तु जम्मा गर्न थाल्छु!
तत्काल…………!
तत्काल भयावह प्रतिविम्ब सामु आइदिन्छ
तिनै वीर शहीदहरूको अमर गाथा!
अस्तित्व लुटिएकी आमाको कारुणिक आवाज!
बलात्कृत चेलीहरूको हृदय विदारक चिच्याहट
अनि कहाँ बाँच्छ मेरो कविता?
पिडाले छटपटिँदै मुर्छा परे पनि
उनै जगत् जननी माताका चरणमा प्रणाम गर्दै
श्रद्धाले दिलका अनेक फूल गुच्छाहरू चढाइ
रुँदै-रुँदै ममतामयी आमाको प्रार्थना गर्छु-
“आमा तिम्रा वीर सपूतहरूलाई
बैरी सामु लड्ने अमर शक्ति देऊ
सदैव तिम्रा शिर माथि
स्वतन्त्रताको झन्डा फहराउन सकौँ”
भन्दा भन्दै…………….!
भन्दा भन्दै मेरा सामु आमाको रुवाई थपिन्छ!
विकराल ज्वालामुखी विस्फोटन हुन्छ!
क्रान्तिको बिगुल बज्न थाल्छ!
प्रत्येक शब्दहरू पड्कन थाल्छन्!
अनि कहाँ बाँच्छ मेरो कविता?
अनि कहाँ बाँच्छ मेरो कविता?
१७ डिसेम्बर १९९३

One Reply to “कहाँ बाँच्छ मेरो कविता”

Leave a Reply

Your email address will not be published. Required fields are marked *