कहानी भूटानको….. हजुरआमाको दन्त्य कथा

कथाकार
कथाकार

माया भट्टराई
केन्टकी, अमेरिका

जनताको भलाइका निम्ति लडेर मरेको पो सहिद त
देशमा विकास ल्याउन दुख गरेर मरेको पो सहिद त

भन्ने एउटा कविता सङ्ग्रहभित्रको एउटा कविता पढ्दै थिएँ, साँझपखको बेला थियो । एक्कासि पेन्सिलभेनियामा हुनुहुने मेरो मावलको हजुरआमा सिकिस्त हुनुहुन्छ भन्ने खबर सुनियो । हजुर आमाको अस्वास्थ्यको खबर सुनेर भावविवहल हुनुभएकी मेरी आमा, “म अहिलेनै पेन्सिलभेनिया जान्छु, मलाई जसरी भए पनि पुर्याईदेवो,” भनेर सानो नादान बालक झैँ अड्डी कस्न थाल्नु भयो । मामा माइजू र आमालाई भाइले लिएर गयो ।

मैले सोचेँ सम्झेँ -भूटानबाट बाहिरिँदा म सानै थिएँ, म भूटानमा छँदा मावलमै रहन्थेँ प्राय अनि त्यो बेला मेरी हजुरआमाले मलाई भन्नुहुन्थ्यो- “मामालाई जेलमा लग्यो, तँ घरमै बस्, म मामालाई जेलमा खाना पुर्‍याएर आउँछु,” ओहो आज फेरि सम्झेँ । हजुरआमाले मलाई नेपालमा शिविरमा बस्दा धेरै कहानी सुनाउनुहुन्थ्यो जसले गर्दा मलाई साहित्य लेख्न र त्यो लेखमा भूटानको कहानी उतार्न मद्दत मिलेको छ । भोलिपल्ट मेरी हजुरआमाले यो संसार छोडेको कुरा सुनेँ, मन भक्कानियो।
कस्तो नरमाइलो लाग्यो । हजुरआमाले जस्तै अब मलाई भूटानको हरेक कहानी कसले सुनाउँछ? यो के भयो ? अब मेरा सपनाहरू, इच्छा चाहनाहरू कसरी पुरा हुन्छन् र ? यसरी दुखिएकीछु जिन्दगीमा अर्कों ठक्कर लागेर । एउटा ठक्कर त लागेकै छ पहिलैदेखि । त्यो हो म हिँड्न नसक्नु अनि भूटानबाटै लखेटिनु । यति भएर पनि मेरी हजुरआमाले सबै कहानी सुनाइदिनुहुन्थ्यो र मन बुझेकोथ्यो, तर अब त मेरी हजुरआमा पनि रहनु भएन ।

मलाई अझै स्पष्ट याद छ,  हजुरआमाले बताउनुहुन्थ्यो; नेपालको राजा महेन्द्रकी छोरी शोभा राज्यलक्ष्मीदेवी शाहलाई भूटानको पूर्व राजा जिग्मेसिंगे वांचुकले विवाह गर्न र नेपाल भूटानबीच प्रगाढ़ सम्बन्ध बनाउन नेपाल आएका थिए रे मँगनीको लागि जिग्मेसिंगे वांचुक । सोही बेला नेपालको राजा महेन्द्रले भने रे, “तिम्रो देशमा (भूटान) गोरु अथवा गाई काट्न छोड़ अनि छोरी दिन्छु”, भने रे राजा महेन्द्रले। अनि जिग्मेसिंगेले  हुन्छ भनी फर्केर आएका रे ।  फेरि पछि राजा महेन्द्र आफैँ भूटानमा गोरु गाई काट्न छोड्यो कि छोडेन भन्दै चियो गर्न थाहै नदिइ सुटुक्क भूटान गएका थिए रे हो त्यो बेला दैफाममा ज्योतिषी नेपालका घरमा बसेकाथिए रे। संयोगवश मेरी हजुरआमा पनि त्यतिखेर त्यही नेपालकै घरमा जानुभाथ्यो रे, मितेरी सम्बन्ध थियो रे नेपालकी छोरीसँग मेरी हजुरआमाको। अनि त्यों बेला मितिनी हजुरआमा र मेरी हजुरआमाले खाटमुनिबाट लुकेर हेरेको र बात सुनेको रे ।  अलिकपछि फेरि भूटानका राजा नेपाल जाँदा नेपालका राजा महेन्द्रले भूटानका राजा जिग्मेसिंगेलाई भनेका थिए रे – “तिम्रा देशमा गाई काट्न गोरु काट्न छोडेकै छैन रछौ, सो भयो अब म तिमीलाई छोरी दिन्न,” भनेका थिए रे। सो नेपाल र भूटानबीच मैत्रीपूर्ण सम्बन्धमा खिचलो आयो राजा जिग्म्सिंगे वांचुकको पालादेखि अनि हामी दक्षिण नेपाली भाषी भूटानीलाई देश निकाला गरियो भन्ने कथन मेरी हजुरआमाले बडो जोस र फुर्तीका साथ सुनाउनु हुन्थ्यो ।

अरू के कुरा गरौँ र अब मलाई भूटानको कथा कहानी सुनाइदिनुहुने मेरी हजुरआमा नै परलोक हुनुभयो। यस्तो शोकको बेला म स्वर्गीय हजुरआमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *