किन हुन्छ यस्तो आज ?
गंगा अधिकारी
एडिलेड, अष्ट्रलिया
यो दिल आफैं किन रुन्छ ?
न माया हो, न प्रेमी हो,
यो मन उसमै किन भुल्छ ?
हरपल उसकै यादमा किन
मुटु आफैं तड्पिदिन्छ ?
साथी सबै एकै भए
यो मन उसमै किन झुक्छ ?
केही संदेश फोन नभए
यो मन त्यसै अतालिन्छ
किन हुन्छ यस्तो मलाई ?
यो मुख किन चुप हुन्छ ?
उसले मलाई कस्तो सोच्छ
भनी यो मन डराइदिन्छ
उसकै सुरमा, उसकै तालमा
किन यो ज्यान आफैं झुम्छ ?
उसको यादमा बस्दा किन
ओठमा मुस्कान आफैं छाउँछ ?
दु:खमा चैं कता कता
एक्लो महसुस किन हुन्छ ?
खुसीमा नै फेरि कतै
उसको आभाष किन पाउँछु ?
एक्लो हुँदा उसकै यादमा
यी आँखा किन टोहोलाइरहन्छ ?
सपनीमा उसलाई देखें
फेरि आँखा चिम्लूं किन लाग्छ ?
एकान्तमा धेरै बेर सधैं
बात गरुँ जस्तो किन लाग्छ ?
विपनैमा फेरि पाउँदा उसलाई
धड्कन आफैं किन बढ्छ ?
सफलतामा उसको कतै
यो मन हर्षित किन हुन्छ ?
आवेशमा आई तस्बिर उसको
यो ओठले आफैं किन चुम्छ ?
बिफल भए उही फेरि
यो मन दु:खी किन हुन्छ ?
कसलाई भनूँ कसलाई कहूँ
यो मन एक्लै तड्पिरहन्छ ?
आफन्तको भीडमा पनि
एक्लो महसुस किन हुन्छ ?
न आफ्नो हो न प्रेमी हो
भित्र-भित्रै किन सताइरहन्छ ?