क्रान्तिका आवाजहरू 

नरेन बान्तवा ‘विप्लवी’
सिक्किम, भारत

तप्-तप्- तप् बलेँसीमा तरङ्ग पानीको
तप्-तप्-तप् बालुवामा आँसु आँखा रानीको
उर्लँदै छाल बन्न सक्ने तिमीले सम्झेका खहरेहरू
आन्दोलित मनबिचका आरोहहरू
आँधी बन्न सक्नेछन् निष्तब्धताभित्र
वर्षौँ निसास्सिएका पीडाहरू
ज्वाला बन्न सक्नेछन् प्रतिशोधको निम्ति
निर्धा निमुखाहरू
जब-जब असहन तत्त्व अतिक्रमण र दमनको
घर-आँगनमा आई शोषण गर्दछ
एउटै आवाजमा छाती खोली निरीह आवाजहरू
बन्न सक्नेछन् क्रान्तिका आवाजहरू ।

भ्रान्ति,विडम्बना,विकरालतामाथि
अनि तिम्रो अन्धो अभिव्यक्तिमाथि
नौला विचारको धरती बिछ्याउन जब
मानवताको एउटा सिङ्गो संसार लिएर आउनेछन्
निम्न तहका निस्स्वार्थ मनहरू
विस्फोट बन्न सक्नेछन् आन्तरिक व्यथाहरू
विद्रोह जब मुटुमा बढ्दछ
शंखनाद बन्न सक्नेछन् नौला क्रान्तिको
निर्बल हातहरू जब एक भई लड्दछ
जब-जब विषाक्त काँडा कर्मशील पाइलामा
प्रत्येक क्षण दर्द भई बिझ्दछ
एउटै नारामा छाती खोली निरीह आवाजहरू
बन्न सक्नेछन् क्रान्तिका आवाजहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *