गजल-४४८
डिल्लु चम्लागाई
ओहायो, अमेरिका
हतारमा दौडियो ऊ एक्लै प्यास मेट्न कुवा सम्झेर
मलाई कहिल्यै हतार लागेन कथाको कछुवा सम्झेर ।
मलाई चिता जलेको देख्दा गुनासो लाग्दैन आजकाल
कोही अघि कोही पछि जानैपर्छ चिताको धुवाँ सम्झेर ।
चाहँदा चाहँदै तिमीलाई घरमा अटाउन सकिनँ आमा
आउँछु कुनै दिन तिम्रै हातले पानी दिनु बटुवा सम्झेर ।
कसरी आउन सक्छु र प्रिय जब तिम्रो निम्तो नै छैन
कुकुर पनि आउँदैन नबोलाएको ठाउँमा भतुवा सम्झेर ।