गजल-३६६
झगेन धिमाल
मेल्बोर्न, अष्ट्रेलिया
काँधमा छोरो राखेर हातमा कोदाली बोकेर
गल्दिन थिइन् कहिल्यै उकाली ओराली बोकेर।
कहिलेकाहीँ बिहान बेलुका छाक नटर्दा
हात-मुख जोड्न गाउँ हिँड्थिन् थाली बोकेर।
भोक लाग्यो आमा भनी चिच्याएर छोरो रुँदा
खुवाउँथिन् पूरा पेट आफ्नो खाली बोकेर।
बढ्यो छोरो, भित्र्यायो बुहारी आफैँले रोजेको
दुई महिनामै छुटियो छोरो नाली-बाली बोकेर।
आज आमा रुँदै छिन् त्यो वृद्धाश्रम वरिपरि
यता छोरो रमाउँदै छ वाह-वाह र ताली बोकेर।