गजल – ५२०

रमेश गौतम
नर्वे  

आफ्नै लागि आफ्नो तन किन होला ? भार भयो
निःसारता झाँगिँदै छ नशा मात्रै यार भयो ।

परिचय आफ्नो छैन भूगोलका कुरा छोड
आफू हिँड्ने मार्ग सबै खुकुरीको धार भयो।

गुलाबको सुन्दरता पीडा भई फैलँदै छ
आफ्ना लागि हरेक साथ करेन्ट बाहक तार भयो।

हिजो जस्तो मात्र लाग्छ रोमान्सले मात्तिएको
एकाकीपन मात्र आज जीवनको सार भयो।

हाँसी रहू, खुसी रहू, चिरायु भई बाँची रहू
तिम्रा लागि यो शरीर मूल्यहीन झार भयो।

सपनामा बौलाएर बिपनामा मात्तिँदै छ
हजार चोटि आफ्नो हृद आफ्नै लागि मार भयो।

स्मृतिका पानाहरू आज सधैँ व्यङ्ग्य हाँस्छन्
पुरै जीवन आफ्ना लागि हीनताको खार भयो।

यता हेर्छु बिच्छीहरू उतातिर सर्पहरू
मनोक्रान्ति झाँगिएर आफ्नो मात्र हार भयो।

बिपना त आफ्नो छैन सपना नि हराए छ
आफ्ना लागि ‘रश्उ’ आफैँ किन होला ? जार भयो।

१२ डिसेम्बर २००४
विराटनगर

Don't have a Facebook account? Please, use the form below with other options!